अमूर्त सम्पदाका जात्राहरु पुन:संचालनमा योगदान दिनेहरु सम्मानित

पाटन दरवार क्षेत्र केन्द्रीत पाया: जात्रा बिशेष पुस्तक लोकार्पित

पाटन दरवार क्षेत्र केन्द्रीत अमूर्त सम्पदाहरुको महत्व तथा बिभिन्न कारण बन्द हुन पुगेका पायः (खड्ग) जात्रा र नव दुर्गा (गःथुँ प्यांख) नाच सञ्चालनका लागि उल्लेखनीय भूमिका निर्वाह गर्ने तीन जना पत्रकारलाई सम्मान गरिएको छ ।

यल सांस्कृतिक पर्व संरक्षण समितिले आईतबार एक समारोहको आयोजना गरी सो सम्मान गरेको हो । सम्मानित हुने पत्रकारहरूमा क्रमशः सुनील महर्जन, प्रशान्त माली र राजेश बज्राचार्य रहेका छन । महर्जन नेवाःपत्रकार राष्ट्रिय दबूका केन्द्रीय महासचिव, माली पत्रकार राष्ट्रिय दबू ललितपुर शाखाका उपाध्यक्ष र बज्राचार्य शाखाका पूर्व सचिव हुन ।

पाटन दरबार क्षेत्रस्थित पाटन संग्रहालयमा आयोजना गरिएको सो कार्यक्रममा ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहनुभएका समितिका संयोजक कृष्णलाल महर्जनले खादा ओढाएका थिए भने बागमती प्रदेशका सासंद् शोभा शाक्य र ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले पत्रकारहरूलाई सम्मान पत्र प्रदान गरे।

दशैँको अवसरमा पाटन दरबार क्षेत्रमा सञ्चालन हुने पायः जात्रा र गथु प्याँख पुनः सञ्चालनका लागि सञ्चार क्षेत्रबाट उल्लेखनीय भूमिका निर्वाह गरेकोलाई कदर गर्दै सो सम्मान गरिएको समितिका संयोजक कृष्णलाल महर्जनले बताए । सो अवसरमा संस्थागत रूपमा नेवाः पत्रकार राष्ट्रिय दबूलाई पनि सम्मान गरिएको थियो । सो अवसरमा विभिन्न गुठीका गुठीयार, बाजंखलः जातीय समाजका प्रतिनिधि र संघका पूर्व अध्यक्ष एवं व्यवसायी अजरमान जोशी लगायतलाई पनि सम्मान गरिएको थियो ।

लिच्छिविकालीन संस्कृति, धार्मिक र एैतिहासिक महत्वको पायः जात्रा २३ वर्षदेखि रोकिएको थियो । त्यसैगरी ठेचोको नवदुर्गा नाच विजया दशमीको दिन पट्कोमा ४० वर्षदेखि र पाटन दरबार क्षेत्रमा पाँच वर्षदेखि रोकिएको थियो ।

नाच पुनः सञ्चालन गर्न सञ्चार क्षेत्र मार्फत निरन्तर पैरवीसँगै तीन पत्रकारले शुरूमा संयोजनकारी भूमिका निर्वाह गरेका थिए । तीन पत्रकारको अगुवाई र नेवाःपत्रकार राष्ट्रिय दबू ललितपुर शाखाको अनयोजनामा २०७३ असोज १३ गते पहिलो पटक जिल्लाका प्रशासन, स्थानीय निकाय, गुठी संस्थान, गुठीयारहरूको बृहत् गोष्ठी आयोजना गरेको थियो ।

नाच पुनः सञ्चालनका क्रममा गोष्ठीमा उठाईएको माग, समस्या समाधान, सरोकारवाला र गुठीयारबीच समन्वय, स्थानीय निकायमा निरन्तर पैरवीका लागि तत्कालीन वाणिज्य संघको अध्यक्ष सविन श्रेष्ठ संयोजन रहने गरी यल सांस्कृतिक पर्व संरक्षण समिति गठन गरेको थियो । समितिले २०७३ चैत्र महिनामा जिल्ला विकास समितिको सहयोगमा बृहत सरोकार भेला आयोजना गरी नाच संञ्चालनको लागि सरोकारवालासंग संवाद गर्ने भेला, डेलिगेशन र ज्ञापनपत्र बुझाउने निष्कर्ष निकालेको थियो ।

यहीं क्रममा गुठीयार, सञ्चार क्षेत्र, नेवाःपत्रकार राष्ट्रिय दबू, उद्दमी व्यवसायी र महानगरपालिका लगायत सबैको पहलको परिणति २०७४ मा पाटन दरबार क्षेत्रमा नवदुर्गा नाच पुन संञ्चालन गरेको संघका महासचिव मनोजबहादुर न्याछ्योले बताए ।

त्यसैगरी संघका निवर्तमान अध्यक्ष सविन श्रेष्ठको कार्यकालमा क्षमापूजा आयोजना भै नवनिर्वाचित अध्यक्षमा कृष्णलाल महर्जनको उदय पछि २०७५ सालको दशैताकादेखि पायः जात्रा संञ्चालन भएको थियो ।

सो अवसरमा पत्रकार प्रशान्त मालीको लेखनमा प्रकशित (खड्ग पायः जात्रा) नामक पुस्तक लोकार्पण गरिएको थियो । सो पुस्तक नाचको धार्मिक, सांस्कृतिक, एेतिहासिक पक्ष र नाच संञ्चालनका लागि भएका योजनाबद्ध भूमिका र प्रयासको दस्तावेज रहेको लेखक मालीले बताए ।

समारोहमा सो अवसरमा ललितपुर क्षेत्र नं २ का सांसद् कृष्णलाल महर्जनले संस्कृति पर्व संरक्षणका लागि सबै एकजुट भएर अघि बढेको हुनाले बन्द भएको अमूर्त संस्कृति सञ्चालन सम्भव भएको बताए । महानगरपालिका प्रमुख महर्जन, संघका वरिष्ठ उपाध्यक्ष भरतलाल जोशीले संस्कृति संरक्षणका लागि सबैको सामूहिक प्रयास प्रभावकारी रहने नाच पुनः संञ्चालनले प्रमाणित गरेको धारणा राखे ।

Spread the love

Related posts

Leave a Comment