Arts and Crafts Business and CSR Culture & Heritage International Social Tourism

अरनिको समाजसँग सहकार्यमा थपियो साँस्कृतिक तथा व्यवसायिक समाज

ने.सं. अनलाथ्व अष्टमी । जेठ ८, २०७५ । मे २२, २०१८
ललितपुर

चीन र नेपालबीचको साँस्कृतिक र व्यवसायिक सम्बन्ध विकासको उद्धेश्यसहित अरनिको समाज र ललितपुरस्थित अरनिको साँस्कृतिक तथा व्यवसायिक समाजबीच बुधवार एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

ललितपुरमा आयोजित एक कार्यक्रमबीच अरनिको समाजका अध्यक्ष र साँस्कृतिक तथा व्यवसायिक समाजका अध्यक्ष अजरमान जोशीले सो समझदारी पत्रमा हस्ताक्षर गरेका थिए भने साक्षीका रुपमा दुबै संस्थाका उपाध्यक्ष क्रमशः डा. मनोज मान श्रेष्ठ र संजय नारायण श्रेष्ठले हस्ताक्षर गरेका थिए ।

चीनिया भाषा, सँस्कृति नेपालमा परिचित गराउनेसँगै दुइ देशबीच शिक्षा, विज्ञान, प्रविधि र आवश्यक प्राविधिक ज्ञान आदानप्रदान गर्ने कार्यमा महत्वपूर्ण पूलको भूमिका निर्वाह गर्दै आएको अरनिको समाजसँग साँस्कृतिक र व्यवसायिक क्षेत्रको विकासका सम्भावित क्षेत्रहरुमा सहकार्य गर्न औपचारिक समझदारी पत्र आदानप्रदान गरिएको अरनिको साँस्कृतिक तथा व्यवसाय समाजका अध्यक्ष अजरमान जोशीले बताए । व्यवसायिक क्षेत्रसँगै ललितपुरको साँस्कृतिक र सामाजिक सेवामा प्रतिबद्ध व्यवसायीहरु मिलेर गत वर्ष संस्था स्थापना गरिएको बताउँदै ं उनले भने, ‘ललितपुरमा जन्मिएका प्रख्यात कलाकार अरनिको र उनले चीनमा परिचित गराएको नेपालको संस्कृतिसँगै यहाँका प्रस्तरकला लगायत विविध व्यवसायिक क्षेत्रको विकासमा सम्भावित सहकार्य बढाउन आपसी समझदारीलाई औपचारिकता दिएका हौं ।’

‘अरनिको समाजले गर्दै आएको सामाजिक कार्यहरुमा विशेषतः ललितपुरलाई चिनाउने कार्यमा यस संस्थाले सहयोग गर्दै आएको छ,’ अरनिको समाजका अध्यक्ष डा. सर्वोत्तम श्रेष्ठले भने, ‘हामीले गर्दै आएका स्वास्थ्य र भाषा लगायतका कार्यहरुमा नेपाली साँस्कृतिक पक्ष र व्यवसायिक विकासका थप कार्यक्रमहरुको आयोजना गर्न औपचारिक समझदारीले सहयोग पुग्नेछ ।’

दुई संस्थाबीच भएको समझदारी अनुसार दुइ देशका नागरिकबीचको आपसी अध्ययन तथा शीप आदानप्रदान, पर्यटन र व्यवसायिक कार्यक्रमहरुमा सहकार्यमा बृद्धि हुने भएको छ । समझदारी पत्रमा उल्लेखित बुँदाहरुले संस्थागत उद्धेश्य अनुरुप सूचनाको आदानप्रदान गर्ने, गोष्ठी सेमिनार लगायत विविध कार्यक्रमहरुको आयोजनाकासाथै व्यवसायिक मेला, महोत्सव जस्ता गतिविधीहरुको सञ्चालन मार्फत दुइ देशका नागरिकबीच जनस्तरिय सम्बन्धन बढाउने दुबै संस्थाले सहमति जनाएका हुन ।

सो हस्ताक्षर कार्यक्रममा सहभागी हुनुभएका नवनियुक्त प्रहरी नायव महानिरीक्षक पिताम्बर अधिकारी, रामप्रसाद श्रेष्ठ र नेपाली सेनाका बिग्रेडियर जेनरल मीनध्वज खड्कालाई पनि बधाई तथा शुभकामना प्रदान गरिएको थियो । कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ठूले राई, समाजका महासचिव डा. सुशील प्रजापति, ललितपुर महानगरपालिकाका सल्लाहकार दिलेन्द्रराज श्रेष्ठ, वडा १२ र १६का वडाध्यक्ष नारायण अवाले र निर्मलरत्न शाक्य, ललितपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जन लगायतका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *