Arts and Crafts Culture & Heritage Entertainment National

आदिवासी पहिचान उकास्दै ईन्डिजिनस टेलिभिजनको दोश्रो वार्षिकोत्सव

ने.सं. ११३८ दिल्लागा एकादशी । श्रावण २२, २०७५। अगष्ट ८, २०१८
काठमाडौं

भव्य सजावट र अतिथीहरुको मन्तव्य र प्रशंसा पत्र वितरणको लाम लाग्ने परम्परालाई तोड्दै ईन्डिजिनस टेलिभिजनले दोश्रो वार्षिकोत्सव मनाएको छ ।

प्रमुख अतिथिसँगै सांसद, आदिवासी जनजातिका अगुवा तथा अभियन्ता, पत्रकार, जातीय संगठनका प्रतिनिधिहरु लगायतको बाक्लो उपस्थिति रहेतापनि औपचारिक मन्तव्य प्रमुख अतिथि वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीमै सिमित गर्न सफल सो दोश्रो वार्षिकोत्सवले आदिवासी पहिचानलाई भने विशेष जोड दिएको पाइयो ।

मञ्चमा न त प्रमुख अतिथि देखिए न त भाषण । नौलो शैलीले कार्यक्रमको समुउद्घाटन प्रमुख अतिथि तथा विशिष्ट पाहुनाहरुले परम्परागत १०८ दियो सामूहिक रुपमा बालेर गरेका थिए भने टेलिभिजनका अध्यक्ष देवकुमार सुनुवारले औपचारिक स्वागत मन्तव्य दिएका थिए ।

नयाँपनकालागि प्रत्यक्ष प्रशारण सहित चलाइएका तीनवटा विषयको मिडिया मञ्च कार्यक्रम भने सन्देशमूलक रह्यो भने अभिनन्दित प्रमुख अतिथिको शुभकामना मन्तव्यले करीव ४ घण्टाको कार्यक्रम पनि क्षणभरमै सकिएको अनुभूत गराउन सफल रहेको थियो । कार्यक्रमबीचमा प्रस्तुत गरिएका नेवाः, तामाङ, लिम्बु, थारु लगायतका आदिवासी जनजातिहरुको सांस्कृतिक नाच तथा झाँकीले पहिचानलाई ईन्द्रेणीको रमणीय दृष्य र स्वादिलो खानाबीच चटपटा अचारको स्वाद झैं मिठास दिइरहेको सहभागीहरुले बताए ।

मिडिया मञ्चका रुपमा प्रस्तुत गरिएको “विकास र मिडिया” विषयमा पत्रकार कुमार यात्रुले, “मिडिया र महिला” विषयमा संचारकर्मी डोमा शेर्पा अनि “मिडिया र आदिवासी जनजातिका सवाल” विषयमा पत्रकार श्रीकृष्ण महर्जनले डबलि बहस चलाएका थिए । टेलिभिजन कार्यक्रमकै शैलीमा चलाईएको सो बहस कार्यक्रम मिडिया क्षेत्रको वार्षिकोत्सव मनाउने नितान्तै नयाँ र रोचक रहेको कार्यक्रममा सहभागी पत्रकार नृपेन्द्रलाल श्रेष्ठले प्रतिक्रिया दिएका छन ।

इन्डिजिनियस टेलिभिजनले तेश्रो वर्ष प्रवेश गरेपनि सार्वजनिक रुपमा यसरी वार्षिकोत्सव मनाएको भने पहिलो पटक नै हो । नयाँ नेपालका सन्दर्भमा इन्डिजिनियस टेलिभिजनले नेवाः, तामाङ, शेर्पा, राई, लिम्बु, मगर, थारु लगायतका १३ भाषामा ४० भन्दा बढी कार्यक्रमहरुको निर्माण तथा प्रसारण गर्दै आएको छ । यसरी विविधतासँगै गुणस्तरीय प्राविधिक पक्ष सहित प्रशारणमा क्रियाशील इन्डिजिनस टेलिभिजनले लोकप्रिय समावेशी टेलिभिजनका रुपमा आफ्नो पहिचान बनाउँदै आएको छ भने दोश्रो वार्षिकोत्सवको नयाँ शैलीले यसलाई अझ लोकप्रिय बनाएको प्रतिक्रियाको आईरो लागेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *