Business and CSR Education Feature News National

उपभोक्ता संरक्षण कानून कार्यान्वयनमा उपभोक्ताकर्मीको भूमिका बढ्ने

ने.सं.११३८ यँलाथ्व चौथी । विहिवार, २०७५ भाद्र २८ । सेप्टेम्वर १३, २०१८
काठमाडौं

संशोधन प्रस्तावमा रहेको उपभोक्ता संरक्षण विधेयक, २०७५  कार्यान्वयन पक्षमा अन्तर मन्त्रालय समन्वय र सम्बन्धित विभाग तथा निकायसँगै राष्ट्रिय उपभोक्ता मञ्च र उपभोक्ताकर्मीको भूमिका महत्वपूर्ण हुन जाने कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनाल लगायतका वक्ताहरुले जनाएका छन ।

राष्ट्रिय उपभोक्ता मञ्चको १३औं स्थापना दिवसको अवसरमा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री खनालले विश्वको तेश्रो मूलूकहरुमा नै खाद्यसामाग्रीको प्रशोधन र बजारीकरण प्रक्रिया अराजक देखिएकोे कुरा उल्लेख गर्नुहुँदै भने, “नेपालमा देखिएका खाद्यवस्तु उत्पादनको गुणस्तर र बजारीकरण प्रक्रिया चिन्ताजनक अवस्थामा देखिन्छ । संविधानत मौलिक अधिकारका रुपमा रहेको खाद्य सम्बन्धि हकलाई स्थापित गर्न सरकार गम्भीर रहेको छ ।”

पाउडर दुधको अनियन्त्रित आयातमा नियन्त्रण, ४ अरव भन्दा बढी मूल्यको स्वदेशी घिउको उत्पादन स्टकमा रहने तर भन्सारमूल्य भन्दा अस्वावाभिक दरमा बजारमा रहेको घिउको मूल्य नियन्त्रण जस्ता कार्य मन्त्रालयले थालेको बताउँदै मन्त्री खनालले जनस्वास्थ्यमा असर पार्ने विभिन्न गुणस्तरहीन खाद्यवस्तु उत्पादक तथा विक्रेतालाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरे । नेपालको संविधान २०७२ को भाग ३ धारा ३६ मा खाद्य सम्वन्धि हकको ब्यवस्था, लक्षित वर्गका लागि विशेष सुविधा र चौधौ योजनामा खाद्य तथा पोषण सुरक्षाको सुनिश्चितताका लागि विभिन्न ब्यवस्था गरिएको उल्लेख गर्नुहुँदै मन्त्री खनालले विधेयक कार्यान्वयनकालागि सम्बन्धित निकायसँगै उपभोक्ताकर्मीहरु नागरिकको स्वास्थ्यमा खेलवाड गर्न नदिन खबरदारीको भूमिकामा बलियो र ईमानदार हुन आवश्यक रहेको बताए ।

कार्यक्रमको स्वागत मन्तव्यका क्रममा राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रिय अध्यक्ष प्रेमलाल महर्जनले ७२ जिल्ला सम्म शाखा फैलिइसकेको अवगत गराउदै संगठन सुरु गर्दा ‘तीन महिना टिक्दैन’ भनी व्यक्त भएका धारणाविपरीत १३औं वार्षिकोत्सवसम्मका उपलब्धिलाई थप संस्थागत र मर्यादित बनाउन लागिपरेको बताए । २०४६ सालको संविधानमा स्थान नपाएको उपभोक्ता अधिकारकालागि जेलनेल सम्मको संघर्षदेखि उपभोक्ता संरक्षण ऐन २०५४ को उपलब्धि र हालको विधेयक संशोधनकालागि गरिएको पैरवीको पृष्ठभूमीमा प्रकाश पार्नुहुँदै उपभोक्ताकर्मीहरुलाई अनैतिक व्यवसायिक स्वार्थमा लाग्न नदिन राज्यले विधेयकमार्फत नियमन गर्न पनि अनुरोध गरे ।

बाणिज्य, आपुर्ति ब्यबस्थापन तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनलेसरकार, उपभोक्ता र ब्यवसायी सबैलाई झकझकाउने कार्य गर्दै आएकोमा राष्ट्रिय उपभोक्ता मञ्चले आउने विधेयकको संघ, प्रदेश र स्थानीय तहमा कार्यान्वयन पक्षमा थप भूमिका निर्वाह गर्नुपर्ने निश्चित रहेको जिकिर गरे । वाणिज्य सम्बन्धित ऐन कानूनले व्यवसायिक हकहित तर्फ र आपूर्ति तर्फ उपभोक्ता हितमा विशेष ध्यान दिनुपर्ने अवस्था रहेको बताउँदै उनले आगामी दिनमा खाद्य वस्तु मात्र नभै ईन्टरनेट, विज्ञापन लगायतका सेवा पक्षमा पनि उपभोक्ताको हितका कुरा उत्थान गर्न अनुरोध गरे ।

कार्यक्रममा संघिय संसदका सांसद रामवीर मानन्धरले राष्ट्रिय उपभोक्ता मञ्चले उपभोक्ता अधिकार आन्दोलनको नेतृत्व गर्दै आएको उल्लेख गर्नुहुँदै अब बन्ने कानूनहरुका सवालमा उपभोक्ता आफैं सचेत हुनुपर्ने  उल्लेख गरे ।

नेपाल चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष राजेन्द्र मल्लले राज्यको नीतिले राष्ट्रिय उत्पादन र खपत प्रवद्र्धन गर्न “पहिला थुन्ने, पछि सुन्ने”खालको ऐनको बदलामा भन्सार नाकामै व्यवस्थित  क्वारान्टाइन व्यवस्थालार्ई कडाइकासाथ स्थापित गर्नुपर्ने खाँचो औल्याए । उक्त कार्यले हालको म्याद सकिएको वस्तुको बजार नियमन कार्य स्वतः व्यवस्थापन हुने उल्लेख गर्दैै उनले चेम्बरले उपभोक्ता अधिकार र सचेतना कार्यक्रमहरुको सवालमा राष्ट्रिय उपभोक्ता मन्चसँग सहकार्य गर्न आतुर रहेको बताए । बजार अनुगमन विभिन्न निकायले अलग अलग गर्ने अवस्थालाई व्यापारीका दृष्टिकोणले व्यवस्थित गर्न एकिकृत अनुगमनको व्यवस्था गर्न उनले विशेष माग गरे ।

उपभोक्ता हितमा कार्य गर्नेहरु सम्मानित

वार्षिकोत्सव कार्यक्रमका अवसरमा कार्यक्रमका प्रमुख अतिथि मन्त्री खनालले उपभोक्ता हितमा काम गर्ने सरकारी कार्यालय, राष्ट्रिय उपभोक्ता मन्चका जिल्ला समिति, स्वास्थ्य् सेवा प्रदायक अस्पताल, संचारकर्मी एबम् संचार संस्था र पूर्व प्रशासकहरुलाई सम्मानित गरेका थिए ।

सम्मानित हुने हरुमा सरकारी कार्यालय तर्फ जिल्ला प्रशासन कार्यालय भक्त्तपुर , राष्ट्रिय उपभोक्ता मन्चका जिल्ला शाखा मध्येबाट झापा र लम्जुङ शाखा , स्वास्थ्य् सेवा प्रदायकतर्फ नर्भिक इन्टरन्यासनल हस्पिटल, संचार संस्था तर्फ कृषि टेलिभिजन र पूर्वप्रशासकद्वय भरत बहादुर थापा र लक्ष्मी राज पाण्डे र बर्दियाका प्रमुख जिल्ला अधिकारी रहेका छन् ।

समारोहमा नेपाल सरकारका पूर्व सचिब भरतबहादुर थापा, साल्ट ट्रेडिङ् कर्पोरेशन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी एबम् नेपाल सरकारका अधिकारीहरु, ललितपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जन, उद्योग व्यवसायी संगठनका प्रतिनिधिहरु लगायत विभिन्न जिल्लाका उपभोक्ता अधिकारकर्मीको बाक्लो उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *