कृषि प्रवर्द्धनमा सौर्य सिँचाइको उपयोगिता

  • उषा मास्के मानन्धर, जीवन बैद्य

नेपालमा सौर्य उर्जाको प्रयोग लामो समयदेखि हुँदै आइरहेको छ । विगतमा ग्रामीण विद्युतीकरणको लागि सौर्य घरेलु प्रणालीमा मात्र सिमित थियो यो प्रविधि । हाल आएर विद्युतीकरण भई नसकेका ग्रामीण भेगमा सोलार मिनिग्रिडको रुपमा पनि सौर्य ऊर्जा प्रयोग भैरहेको छ । यससँगै पछिल्लो समय सिँचाइ तथा खानेपानीका लागि अत्यावश्यक सौर्य पम्पिङका लागि पनि सौर्य ऊर्जाको उपयोग गर्न थालिएको छ । यद्यपि विश्वका अन्य देशहरुमा सौर्य सिँचाइ गर्ने क्रम धेरै वर्षअघिदेखि भएको पाइन्छ । नेपालमा पनि शुरुको अवस्थामा खानेपानी प्रयोजनका लागि विभिन्न योजनाहरु सञ्चालन भएपनि सिँचाइमा भने पछिल्लो दशकबाट नै विस्तार भएको पाइन्छ । खासगरी पछिल्लो समय सरकारी तथा दातृ निकायबाट कृषिमा सौर्य सिँचाइलाई प्रोत्साहन गर्ने निति बन्न थालेको छ । यसले सोलार पम्पिङ प्रविधिको प्रयोगमा उल्लेखनीय रुपमा बृद्धि भएको छ ।

सामाजिक, प्राविधिक तथा नीतिगत नवीनता नखोजिंदा उपलब्ध ऊर्जाबाट लिन सकिने अधिकतम् फाइदाहरूबाट साना किसानहरू वञ्चित भैरहेका छन् । नेपालका सौर्य ऊर्जाका प्रवर्द्धकहरूले पारम्परिक प्रविधि केन्द्रित कुरालाई मात्र प्राथमिकीकरण गर्नु भन्दा ऊर्जाको सामाजिक महत्वमा पनि ध्यान दिनुपर्छ । नेपालको हालसालैको यस तथ्याङ्कले माथि प्रस्तावित ऊर्जा प्रयोगको नयाँ प्रविधिहरूमार्फत साना किसानहरूको जीविकोपार्जनमा आमूल परिवर्तन गर्न सकिने तथ्य देखाएको छ ।

प्रविधिको विकाससँगै उच्च प्रतिफल आउने बाली लगाएर साना किसानको जीविकोपार्जनमा स्तरोन्नति गर्नु आजको आवश्यकता हो । खाद्यान्न, ऊर्जा, जल र मौसमको अन्तरसम्बन्धबाट दिगो विकासको लक्ष्यलाई आत्मसाथ गर्दै सरकारी निकायमार्फत नीति नियम नै बनाएर सौर्य सिँचाई प्रविधिलाई प्रोत्साहन गर्ने काम भइरहेको छ । अन्तर्राष्ट्रिय पानी व्यवस्थापन संस्था २०१९ का अनुसार आर्थिक वर्ष २०७६।७७ को अन्त्यसम्म नेपालमा करिब १६ सय सौर्य सिँचाई प्रणालीहरू जडान भैसकेका छन् । यसमध्ये अधिकांश प्रणालीहरू नेपाल सरकार मातहतको बैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको व्यक्तिगत सौर्य सिँचाई कार्यक्रम अन्तर्गत जडान भएका हुन् । यी प्रणालीहरू जडान गर्न करिब रु ८० करोड खर्च भैसकेको छ । यी प्रणालीले करिब ५५० हेक्टर कृषियोग्य जमिन सिँचाइ गर्ने क्षमता राख्छन् र यसबाट दैनिक करिब २.५ मेगावाट ऊर्जा उत्पादन हुने गरेको छ ।

देशको कूल ३५ लाख हेक्टर सिंचित जमिनमध्ये करिब एक चौथाईमा मात्र सिँचाइ सुविधा भएको अवस्था छ । यस परिपेक्षमा सिँचित क्षेत्र बृद्धि गर्नमा सौर्य सिँचाई प्रणालीको महत्वपूर्ण भूमिका रहेको छ । शुरुवातमा डिजेल पम्पको बढ्दो प्रयोगलाई न्यूनीकरण गर्न सौर्य सिँचाइ प्रयोगमा ल्याइएको थियो । हाल यसले साना किसानहरूको कृषि उत्पादन बृद्धि गरी आम्दानी बढाएर खाद्य सुरक्षामा टेवा पुर्याउन सघाइरहेको छ । यससँगै गरिबी निवारण तथा इन्धन खपत न्यूनीकरणमा पनि उल्लेख्य सहयोग गरेको छ । संयुक्त राष्ट्र सङ्घको दिगो विकास लक्ष्य हासिल गर्नाको लागि पनि सौर्य सिँचाइले उत्तिकै योगदान गरिरहेका छन् । यसको साथै यस्ता सिँचाइले जलवायु परिवर्तनको असरलाई कम गर्दै हाल देखिएको कोभिड—१९ जस्ता महामारीको बेलामा पनि खाद्य उत्पादन तथा व्यवस्थापन गर्न महत्वपूर्ण सहयोग पुर्याउने देखिन्छ ।

सौर्य सिँचाई प्रणालीमार्फत उत्पादन भएको ऊर्जालाई कसरी अधिकतम सदुपयोग गर्न सकिन्छ भन्नेमा सम्बन्धित निकायहरूको ध्यान अझै पुगेको देखिदैन । फलस्वरुप यो कार्यका लागि कुनै विशेष अध्ययन, शोध तथा लगानी बिरलै भेटिन्छन् ।

सौर्य सिँचाइले उत्पादन गरेको २२.४ किलोवाट ऊर्जामध्ये करिब ३० प्रतिशत मात्र सिँचाइमा प्रयोग भई बाँकी ऊर्जा त्यसै खेर गैरहेको थियो ।

सौर्य सिँचाइ प्रविधिको क्षेत्रमा हालसम्म गरिएका प्रयासहरूले प्रविधि तथा बजार भाउमा मात्र नवीनता खोज्ने गरेको देखिन्छ । सौर्य सिँचाई प्रणालीमार्फत उत्पादन भएको ऊर्जालाई कसरी अधिकतम सदुपयोग गर्न सकिन्छ भन्नेमा सम्बन्धित निकायहरूको ध्यान अझै पुगेको देखिदैन । फलस्वरुप यो कार्यका लागि कुनै विशेष अध्ययन, शोध तथा लगानी बिरलै भेटिन्छन् । सौर्य सिँचाइको बहुआयामिक महत्व प्रमाणित भैसकेको परिस्थिति छ । यसबेला सिँचाइ बाहेक अन्य क्षेत्रहरूमा पनि उपयोग गरी लाभान्वित हुन सकिन्छ भन्ने जानकारी कमैलाई मात्र रहेको छ । यस्ता सूचना तथा जानकारी अन्य क्षेत्रका सरोकारवालाहरूलाई पनि दिन सके थप फाइदाजनक हुने निश्चित देखिन्छ ।

नवलपुर जिल्लाको देवचूली नगरपालिका–१९ मा हालसालै गरिएको प्रारम्भिक अध्ययनमा सौर्य सिँचाइ प्रणालीबाट आएको परिवर्तन एउटा उदाहरण बन्न सक्दछ । यहाँ जडान गरिएको सौर्य सिँचाइले उत्पादन गरेको २२.४ किलोवाट ऊर्जामध्ये करिब ३० प्रतिशत मात्र सिँचाइमा प्रयोग भई बाँकी ऊर्जा त्यसै खेर गैरहेको थियो । यस हिसाबले नेपाल भरि आव २०७६।७७ मा मात्र दुई करोड रुपैया बराबरको ऊर्जा खेर गइरहेको अनुमान गर्न सकिन्छ । खेर गैरहेका यस्ता उर्जालाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गरि साना किसानको आर्थिक अवस्था उकास्ने कुनै पनि रणनीति हालसम्म संस्थागत तथा सामाजिक तबरबाट अवलम्बन गरिएका छैनन् । सौर्य सिँचाइ प्रणालीले खेर गइरहेका ऊर्जालाई निम्न तीन तरिकाबाट उपयोगमा ल्याउन सकिन्छ ।

फिड–इन ट्यारिफ (Feed-in Tariff) मार्फत राष्ट्रिय प्रसारण प्रणालीलाई बिक्री गर्ने :
झट्ट हेर्दा यो तरिका आकर्षक सुनिन्छ । तैपनि विद्युत् महशुल हालसम्म निर्धारण हुन नसक्नु, संस्थागत रुपमा नीति नियम निर्देशिका बनिनसक्नु तथा यससँग सम्बन्धित लगानी तथा आम्दानीका विषयहरूमा निति नियम मौन रहनुले तत्काल यो प्रविधि लागू गर्न चुनौतीपूर्ण नै देखिन्छ ।

सिँचाइका लागि पानी बिक्री गर्ने :
सौर्य प्रणालीबाट पम्प गरिएको पानी आफूलाई आवश्यक नभएको बेलामा अरु किसानलाई प्रयोगको हिसाबमा बेच्न सकिन्छ । यसो गर्न अन्य किसानहरूको आवश्यकता, इच्छा तथा खरिद गर्ने क्षमता, खेतहरूको दूरीमा भर पर्छ । यससँगै अन्य प्रयोगमा रहेका प्रविधिहरू (उदाहरण : डिजेलबाट चल्ने टयूवबेल) सँग प्रतिस्पर्धा गर्नुपर्ने चुनौती पनि देखिन्छ ।

उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्ने :
यस अन्तर्गत खेर गैरहेको उर्जा कृषिसँग सम्बन्धित उत्पादनमूलक क्षेत्रहरू जस्तै : कुटानी–पिसानी, सोलार ड्रायर, सोलार चिस्यान केन्द्र जस्ता प्रविधिहरूमा प्रयोग गरी ऊर्जाको बृहतम सदुपयोग गर्न सकिन्छ ।

सामाजिक, प्राविधिक तथा नीतिगत नवीनता नखोजिंदा उपलब्ध ऊर्जाबाट लिन सकिने अधिकतम् फाइदाहरूबाट साना किसानहरू वञ्चित भैरहेका छन् । नेपालका सौर्य ऊर्जाका प्रवर्द्धकहरूले पारम्परिक प्रविधि केन्द्रित कुरालाई मात्र प्राथमिकीकरण गर्नु भन्दा ऊर्जाको सामाजिक महत्वमा पनि ध्यान दिनुपर्छ । नेपालको हालसालैको यस तथ्याङ्कले माथि प्रस्तावित ऊर्जा प्रयोगको नयाँ प्रविधिहरूमार्फत साना किसानहरूको जीविकोपार्जनमा आमूल परिवर्तन गर्न सकिने तथ्य देखाएको छ । यसर्थ सौर्य सिँचाइ प्रणालीहरूमा प्रविधि तथा नीति नियम तहबाट नै बृहत रुपमा उपयोगमा ल्याउनका लागि सम्पूर्ण सरोकारवालाहरूको ध्यान जान जरूरी छ ।

लेखकद्वय उषा मास्के मानन्धर मिनर्जी र जीवन बैद्य सनब्रिज प्रा.लि.सँग आवद्ध बैकल्पिक उर्जा बिज्ञ हुनुहुन्छ ।

Spread the love

Related posts

Leave a Comment