Business and CSR Feature News Health National Social

क्यान्सरमा राज्यको भूमिका झकझकाउँदै सुदिप्त अभियान

ने.सं. ११३८ गुँलाथ्व षष्ठी । भाद्र १, २०७५ । अगष्ट १७, २०१८
ललितपुर

नेपालमा बढ्दो अर्वुद रोग (क्यान्सर) र गुणस्तरीय उपचारको सम्भावनालाई सामाजिक र राज्यस्तरमा बोध गराउन नयाँ अभियानको थालनी गरिएको छ ।

“सुदिप्त ः जीवनको नयाँ बिहानी” नाम दिइएको सो अभियानमार्फत क्यान्सर रोगको गुणस्तरीय उपचार नेपालमा सम्भव भएको र समयमै उपचार तथा सामाजिक जागरणले यसलाई रोकथाम गर्न सकिने सकारात्मक सन्देश प्रवाह गर्न चाहेको नेपाल क्यान्सर सपोर्ट गु्रपका अभियन्ताहरुले बताएका छन ।

सोमवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्य राज्य मन्त्री डा. शुरेन्द्र कुमार यादवको प्रमुख आतिथ्यतामा उनैको हातबाट समुदघाटन गराई उक्त अभियानको उदघोष गरिएको हो ।

कार्यक्रम संयोजक स्वरुपा श्रेष्ठले क्यान्सरलाई जित्दै सामान्य जीवनयापन गर्दै आएका अभियन्ताहरुलाई संगठित बनाई उपचाररत विरामीहरुको उपस्थितिमा हौसला बढाउन “क्यान्सर सर्भाइभरशिप ईभेन्ट” आयोजना गरिएको बताए । क्यान्सर प्रति डरको ठाउँमा रोगप्रति सजगता र नेपालमै उपचार सम्भव छ भन्ने जनचेतना अभिबृद्धिकालागि मासिक रुपमा क्यान्सर बिजेता भेलाको निरन्तरता रहने उनले जानकारी दिए ।

नेपाल क्यान्सर हस्पिटल तथा नेपाल क्यान्सर सपोर्ट ग्रुपको संयुक्त आयोजनामा थालनी गरिएको “क्यान्सर सर्भाइभरशिप ईभेन्ट” कार्यक्रमलाई सम्बोधन गर्दै राज्य मन्त्री यादवले राज्यले दायित्वबोध गरेर पनि अपेक्षा अनुरुप स्वास्थ्य क्षेत्रमा धेरै लगानी गर्न नसक्ने अवस्था रहेको बताए ।

हालको अवस्थामा राज्य र नीजि क्षेत्रको सहकार्य अपरिहार्य रहेको बताउँदै उनले भने, “स्वास्थ्य क्षेत्रमा कूल ५६ अर्ब ४१ करोड बजेटबाट कुल जनसंख्याको अनुपातमा अस्पतालको संख्या र बेड बढाउने कुरा कठिन छ, त्यसमा पनि क्यान्सर लगायतका गम्भिर रोगको उपचारका लागि राज्यले दिने अनुदान रकम भन्दा समाज र राज्यको दायित्व अनूभुत गराउन नेपाल क्यान्सर अस्पताल जस्ता नीजि क्षेत्रबाट आयोजित यस प्रकारका कार्यक्रमको निरन्तरतामा सक्दो सहकार्य गर्ने तर्फ पहलकदमी गर्नेछु ।”

कार्यक्रममा नेपाल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा. बिजेश राज घिमिरेले अस्पतालको स्थापनाको तीन वर्षमा भएका उपलब्धिहरुबारे बताउँदै क्यान्सर पहिचान, गुणस्तरीय उपचारसँगै रोकथामकालागि चिकित्सकसँगै सामूहिक रुपमा उपचार गरिसकेका विरामी पनि लाग्न अनुरोध गरे ।

नेपाल क्यान्सर सपोर्ट ग्रुपका अध्यक्ष एवं अस्पतालका कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठले क्यान्सरको उपचारमा विशेषज्ञहरुको ठूलो समूह र सामूहिकता आवश्यक रहेको बताउँदै अन्तर्राष्ट्रियस्तरकै मापदण्डमा उपचार सेवा नेपालमा स्थापित भएको जिकिर गरे । नेपालमा गुणस्तरीय उपचारसँगै विरामीको दीर्घकालीन स्वास्थ्यस्तर बृद्धि गर्न परिवार र समाजको भूमिकामा जोड दिंदै उनले क्यान्सर सर्भाइभरशिपको अवधारणामा प्रस्तुति दिएका थिए ।

के हो सर्भाइभरशिपको अवधारणा?
क्यान्सर उपचारपछि जीवनको उत्तरार्धसम्म विरामीहरुले समूहमा बसेर स्वास्थ्यको चर्चा गर्ने विश्वमै प्रचलन रहेको छ । तर नेपालमा जुनसुकै रोगको उपचारपछि विरामीले प्रायः नियमित फलोअप जाँच गर्ने चलन छैन । विशेषतः क्यान्सर रोगका सवालमा रोगको पहिचान, उपचारकालागि जागरुकता र रोग बल्झिन नदिन तथा क्यान्सर उपचार लिइसकेकका विरामीलाई निरन्तर स्वास्थ्यलाभ गराउन पूर्व विरामी र उपचाररत विरामीहरुबीच भेलाका मार्फत विभिन्न विशेषज्ञहरुको परामर्श उपलब्धता नै क्यान्सर सर्भाइभरशिपको अवधारणा हो ।

डा. सुदिप श्रेष्ठका अनुसार यसलाई सुदिप्त नामाकरण गराई क्यान्सर सपोर्ट ग्रुपले नेपालमा रोग पहिचान भएपछि वा उपचारपछि अस्पताल र विरामीबीचको नियमित फलोअपमा सहभागिता बढाउन अभिप्रेरित गर्नेछ । “क्यान्सर पहिचान भएपछि डराएर सम्पर्कविहिन हुने देखि समाजमा व्याप्त गलत बुझाइका कारण उपचारपछि समेत विरामीले आफ्नो रोगबारे खुलेर कुरा गर्ने गर्दैनन,” उनले भने, “हाम्रो सर्भाइभरशिप भेलामार्फत पुराना विरामीले क्यान्सरबारे खुलेर कुरा गर्ने माहौल दिनेछ जसले गर्दा भर्खर पहिचान गरिएका र उपचाररत विरामीहरुमा मनमा डरको साटो मनोबल विकास गर्न उहाँहरुको योगदानलाई स्थापित गर्नेछ ।”

मनोचिकित्सक देखि डाइटिसियनहरुको विशेषज्ञ टोली पनि सम्मिलित हुने यस्तो भेलाको छलफलले पुराना विरामीहरुमा पनि रोग बल्झिन नदिने र उहाँहरुको स्वस्थ्यकर जीवनशैलीले अन्य विरामीलाई अभिप्रेरित गर्नुकासाथै नेपालीहरुकालागि क्यान्सर रोगको उपचार नेपालमै सम्भव छ भन्ने सन्देश फैलिने आशा रहेको डा. श्रेष्ठले बताए ।

उपचार सकेर सामान्य जीवन बिताएकाहरुले उपचाररत विरामीलाई आवश्यक परामर्श दिने अभियानको यो शुरुवातले वर्षेनी १८ हजार हाराहारीमा बढदो क्यान्सरको प्रारम्भिक अवस्थामै पहिचान गर्न पनि सघाउने विश्वास लिइएको छ ।

विरामीहरुलाई परामर्श दिन स्वयंसेवाको भावना सहित तयार भएका अस्पतालका पूर्व विरामीहरुको ३ समूह सक्रिय भइसकेको नेपाल क्यान्सर सपोर्ट ग्रुपका महासचिव शसांक शर्माले बताएका छन । आफै पनि रगतको क्यान्सरको उपचार पार गरेका महासचिव शर्माका अनुसार कल्याणी समूहमा स्तन क्यान्सर, आरोग्य समूहमा रगत सम्बन्धित क्यान्सर र निरामय समूहमा टाउको र घाँटी सम्बन्धित क्यान्सरका विरामीलाई पुराना विरामीले अस्पतालमै आएर उपचाररत विरामीलाई परामर्श गर्न थालेका छन ।

विभिन्न प्रकारका क्यान्सर रोगको उपचाररत विरामीहरु उपस्थित रहेको सो कार्यक्रममा विशेष अतिथी स्तन क्यान्सरलाई जितेका तारा पोखरेल र आन्द्राको क्यान्सरलाई जितेर सामान्य जीवन बिताइरहेकी डली गुरुंगको अनुभव आदानप्रदान गरेका थिए । त्यसैगरि अन्तर्राष्ट्रिय क्षेत्रमा यस प्रकारका भेलाले जनचेतना तथा नीति निर्माणमा गरेको योगदानबारे बोल्दै नेपालमा पैरवीको अवस्थाबारे नेपाल क्यान्सर सपोर्ट ग्रुपका उपाध्यक्ष दिलिप भट्टराईले प्रकाश पारेका थिए ।

कार्यक्रममा अस्पतालका रेडियोलोजिष्ट, अन्कोलोजिष्ट, फिजियोथेरापी लगायतका विशेषज्ञसँगको अन्तरक्रियाबाट सहभागीहरुले नियमित फलोअपको महत्व र मनमा रहेको डर तथा आफ्नो समस्याबारे खुलेर बोल्न हौसला मिलेको बताएका छन ।

पछिल्लो समयमा महँगो क्यान्सर उपचारमा सबै नेपालीहरुको समान पहुँचको अधिकारलाई स्थापना गराउने तर्फ पनि नेपाल क्यान्सर सपोर्ट ग्रुपले कार्य गर्दै आएको छ । नेपालमा राष्ट्रियस्तरको क्यान्सर रेजिष्ट्री व्यवस्थित गर्न र राहत अनुदान भन्दा स्वास्थ्य विमाको नीति अवलम्बन गर्नुपर्ने डा. श्रेष्ठले माग गर्दै आएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *