Business and CSR Education Feature News Health National Social Sports Youth & Sports

क्यान्सर उपचार कोष सहयोगार्थ दौडको आयोजना

ने.सं. ११३८ यँलाथ्व एकादशी विहिवाः । २०७५ असोज ४ । सेप्टेम्बर २०, २०१८
ललितपुर

क्यान्सर लागेका विरामीहरुको उपचारकालागि नेपाल क्यान्सर सपोर्ट ग्रुपले खडा गरेको उपचार कोषको सहयोगकालागि असोज १३ गते जनचेतनामूलक दौडको आयोजना गरिने भएको छ ।

“क्यान्सरको उपचार नेपालमै” नारा सहित गुणस्तरीय उपचारमा सक्रिय नेपाल क्यान्सर हस्पिटल, यससँग आवद्ध सामाजिक संस्था नेपाल क्यान्सर सपोर्ट ग्रुपको संयोजन र सहयोगी संस्थाहरुको संयुक्त आयोजनामा सो दौड आउँदो असोज १३ गतेका दिन हुने बताइएको छ ।

“नेपालमा बढ्दो क्यान्सर रोकथामकालागि विशेषतः शहरी क्षेत्रका युवाबीच सहभागितात्मक जनचेतना कार्यक्रमका रुपमा यो दौडको आयोजना गरेका हौं,” नेपाल क्यान्सर सपोेर्ट ग्रुपका कोषाध्यक्ष गणेशभक्त श्रेष्ठले बताए, “दौडमा रोट्राक्ट क्लब अफ यलका युवाहरु र “पांग्रो” संस्थाको व्यवस्थापन सहकार्यले उल्लेख्य सहभागिताको अपेक्षा राखेका छौं ।”

उचित जीवनशैली, खानपान र व्यायामले शरीरलाई रोग प्रतिरोधात्मक शक्ति विकास हुने तथ्य स्थापित गर्दै नेपालमा बढ्दो क्यान्सर विरुद्ध जनचेतना फैलाउन कार्यक्रम फलदायी हुने नेपाल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. सुदिप श्रेष्ठको विश्वास रहेको छ । “विशेषत युवापुस्तामा स्वास्थ्यप्रति सजगता र क्यान्सरबारे जनचेतना अभिबृद्धि भए क्यान्सर उपचारकालागि सहयोगी हातहरु पनि बढ्ने विश्वास सहित कार्यक्रम तयार गरिएको छ,” उनले भने, “क्यान्सर सपोर्ट ग्रुपमार्फत न्यून आय भएका विरामीहरुकालागि स्थापित उपचार कोषकालागि अन्य संस्थाहरुको सहकार्यमा सहयोग जुटाउने समेत लक्ष्य लिएको छ ।”

कार्यक्रममा सहकार्य गर्न डा. सुदिप आफै संलग्न रहेको रोटरी क्लब अफ यलका रोट्राक्ट क्लबका युवाहरु र स्वास्थ्यवर्द्धक साईक्लिंग, हाइकिंग लगायतका कार्यक्रमहरु आयोजना गर्दै आएका खेलकूदप्रेमी संस्था “पांग्रो” संस्था अग्रसर भएका हुन ।

“अस्पतालमा बढ्दो विरामीहरुको संख्या र न्यून आय भएकालाई आर्थिक सहयोग बृद्धि गर्ने उद्धेश्यसहित रोट्राक्ट युवाहरुले सहकार्य गर्ने अठोट गरेको हो ।” रोट्राक्ट क्लब अफ यलका संस्थापक अध्यक्ष रविन्द्र लाल श्रेष्ठ बताउँछन ।
“हामीले दौडमा सहभागिता बढाउने उद्धेश्यसहित पहिलो २ सय ५० सहभागीहरुलाई टिसर्ट बाँड्ने तय गरेका छौं भने उपचार कोषमा सहयोग जुटाउन दौडमा सहभागिता दर्ता ५ सय रुपैया तोकेका छौं ।” स्तन क्यान्सरलाई जितेर अन्य विरामीहरुकालागि मनोपरामर्श र स्वास्थ्य शिविरमा सक्रिय स्वयंसेविका रेजिना मुल्मीले जानकारी दिइन ।

हरिसिद्धिस्थित अस्पतालबाट विहान ७ बजे शुरु गरिने ५ किलोमिटरको दौडमा हजारौंको जनसहभागिता अपेक्षासहित कम्तीमा ३ लाख रुपैया उपचार सहयोग कोषमा जम्मा गर्ने लक्ष्य लिएको आयोजकले बताएका छन ।

स्तन क्यान्सरलाई जित्न सफल श्रीमतीहरुमा समर्पित उपाध्यक्ष दिलिप भट्टराई, कोषाध्यक्ष गणेशभक्त श्रेष्ठ जस्ता प्रत्यक्ष क्यान्सरलाई भोगेका परिवारजनहरुको बाहुल्यता र विज्ञ चिकितसकहरु मिलेर गैर सरकारी संस्थाका रुपमा नेपाल क्यान्सर सपोर्ट ग्रुपको स्थापना गरिएको हो । सपोर्ट ग्रुपले न्यून आयका विरामीहरुको उपचारार्थ आर्थिक सहयोग, क्यान्सर रोकथामकालागि विज्ञ चिकित्सकहरुको संलग्नतामा देशव्यापी स्वास्थ्य शिविर, “सुदिप्त” क्यान्सर सर्भाइभरशिप भेला लगायत विभिन्न जनचेतनात्मक कार्यक्रमहरु आयोजना गर्दै आएको छ । त्यस्तै नेपालमा बैज्ञानिक स्वास्थ्य नीतिकालागि क्यान्सर रेजिष्ट्रि र स्वास्थ्य विमा लगायतका सवालमा सरकारसँग पैरवी पनि गर्दै आएको छ ।

फोटोक्याप्सन ः
१) सपोर्ट ग्रुपमार्फत विगतमा भएका जनचेतनामूलक कार्यक्रम
२) विगतमा विरामीलाई अस्पतालमा उपचार सहयोग प्रदान गरिंदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *