खड्गी सेवा समितिको ऐतिहासिक प्रवज्या संवर कार्य सम्पन्न

शनिवार, चौलाथ्व अष्टमी ११४२, चैत्र २६, २०७८, काठ्माडौं

नेपाल खड्गी सेवा समितिको आयोजनामा परम्परागत बज्रयानी बौद्ध धर्मकै सम्भवत: पहिलो इतिहासमा नेवा: समुदायका पिछडिएको वर्गका रूपमा बिगतमा सिमान्तिकृत गरिएका नाय्, खड्गी, सिंह र शाही समुदायको १० जनालाई बिधिवत रूपमा भिक्षु लुयेगु (प्रवज्या संवर प्रदान) गरिएको छ ।

समितिको आयोजनामा शनिवार चैत्र २६ गते वडा नं १९ स्थित चिबाख्य:मा लुम्बिनी बिकास कोषका समेत सल्लाहकार एवं परम्परागत बौद्ध धर्म संघका संस्थापक तथा नेपाल बज्रयान महाबिहारका चक्रेश्वर गुरु प्रा.डा. नरेशमान बज्राचार्यया नेतृत्वमा उक्त प्रवज्या संवर प्रदान गरिएको हो ।

“नाय: , सिंह – शाही एवं खड्गी समाजको निम्ति जन्म देखि मृत्युपर्यन्त ( सिके – बुके / सुख: दुख: ) अत्यावश्यक नेवा: संस्कार एवं धार्मिक / संस्कृति संरक्षणार्थ नेपाल खड्गी सेवा समितिद्वारा इतिहासमा प्रथम पटक आयोजना भएको यस कार्यकालागि धर्मानुशासकका रूपमा प्रा. डा. नरेश मान बज्राचार्यज्युले प्रवज्या संबर प्रदान गर्नुभएको छ ।” नेपाल खड्गी सेवा समितिका संस्थापक/ संरक्षक मनोज नेवा: खड्गीले भन्नुभयो, “परम्परागत बज्रयानी बौद्ध संस्कार अनुरूप आवश्यक प्रशिक्षण पश्चात् चैत्र २५ गते अध्येषणा र केशाधिवासन कार्य सम्पन्न गरिसकेका छौं ।” आजको प्रवज्या र दानप्रदान कार्य सकेर भोलि २७ गते बिधिवत भिक्षाटन, २८ गते नेवा: धर्म गुरु प्रशिक्षण (प्रवज्या संवर प्रदान) बारे सार्वजनिक समारोह पश्चात् २९ गते समापन गर्दै औपचारिक गृहप्रवेशको योजना रहेको उहाँले बताउनुभयो ।

यस अगाडी गत फागुन २६ गते लुम्बिनीमा पनि प्रा.डा. नरेशमान बज्राचार्यको नेतृत्वमा १६ जना बौद्ध धर्मावलम्बी महिलाहरुलाई पनि समानताको अभ्यास स्वरूप पुरुष सरहकै बिधिवत रूपमा गृहपति बोधिसत्व भिक्षुणीका रूपमा प्रवज्या प्रदान गरिएको थियो । परम्परागत बज्रयानी अर्थात गृहस्थ बौद्ध धर्म अभ्यास मार्फत समाजमा बुद्धको दर्शन प्रवाह र बहा : बहि: जस्ता सम्पदाको पुनरूत्थान तथा निर्माण कार्यमा गतिशील प्रा. डा. बज्राचार्य आधुनिक समाजको निम्ति जन्म देखि मृत्युपर्यन्त अत्यावश्यक नेवा: संस्कार एवं धार्मिक / संस्कृति संरक्षण संगै वास्तविक सुख: दु:खको पहिचान गरेका बुद्धको ब्यवहारिक बिज्ञानसम्मत दर्शनको मध्यमार्ग प्रशस्तित गर्दै जानुपर्नेमा बिश्वस्त हुनुहुन्छ ।

Spread the love

Related posts