गणेश बहादुर शाक्यको दुर्लभ दिव्य रथारोहण

२०७८ असोज २४

नेवा: संस्कृतिमा बुढाबुढी भएपछि जंको गर्ने चलन छ। आफ्नो परिवार, समाज र देशको लागि धेरै काम र अनुभव बटुलेका बृद्धबृद्धाहरुको उच्च मूल्यांकन स्वरूप सम्मान गर्ने र तीनको सुस्वास्थ्यको कामना गर्दै उनीहरूबाट आशिर्वाद थाप्ने चलनको रूप जंको अथवा ज्याजंको रहेको प्रतीत हुन्छ। साँस्कृतिक मान्यता अनुसार मनुष्य यति लामो आयु बाँचेपछि देवता सरह भएको मानिन्छ र त्यसै अवसरमा यो कार्यक्रम गरिन्छ। त्यसैले जंको गरिसकेका बुढाबुढीहरूले भनेको मान्ने कोसिस गरिन्छ। उनीहरूलाई चित्त दुख्ने काम गरिंदैन। बुढा भएसम्म बुढाको उमेर अनुसार साइत हेरेर दुबैको जंको गर्ने गरिन्छ ।

औसत जीवनकालभन्दा बढी आयुबृद्धी भएका कारण मनाईने थरीथरीको बुढाजंको मध्ये चौंथओ तहमा मनाईने दिव्य रथारोहण (चौथो जंको )- उमेर: ९९ साल, ९ महिना, ९ दिन, ९ घडी, ९ पलामा मनाईन्छ ।उ

सोही परम्परा अनुसार १९७८ सालमा जन्मनुभएका पाटन न्याखाचुकका गणेश बहादुर शाक्यको २०७८ असोज २४ गते शनिवार चौंथो ज्याजंको अर्थात दिव्य रथारोहण सम्पन्न गरिएको थियो । नयाँ घ्याम्पोमा राखेर घ्याम्पो पूजा सम्पन्न भएपछी शाक्यको फेरि बच्चाका रूपमा पुनर्जन्म भएको भावले गर्भधारणरूपी घ्याम्पोबाट उनलाई निकालिएको थियो । यो उमेरसम्म पनि तन्दुरुस्त रहेका शाक्यको दुर्लभ मानिने यो जीवनकालमा आयोजित दिव्य रथारोहण हेर्न र आशिषकालागि आफन्तजन लगायत स्थानियहरुको उत्साहजनक सहभागिता रहेको थियो । सो शुभ उपलक्ष्यको घडीलाई सुभसाईतका रूपमा संचारकर्मी सन्नी शाक्यको छोरी लगायत स्थानियहरुले आफ्ना बालिकाहरुको इही (बेलबिबाह) पनि सम्पन्न गरिएको थियो ।

नेवा: सभ्यतामा जेष्ठ नागरिकहरूको अभिनन्दन यसरी गर्ने परम्परा रहि आएको देखिन्छ:

क) भीम रथारोहण (पहिलो जंको )- उमेर: ७७ साल, ७ महिना, ७ दिन, ७ घडी, ७ पला।
ख) चन्द्र रथारोहण (दोश्रो जंको )- जन्म भएर एक हजार पटक चन्द्रमा दर्शन हुने बेलाको साइतमा ८२ वर्षको उमेरमा लाख बत्ती बालेर गरिन्छ।
ग) देव रथारोहण (तेश्रो जंको )- उमेर: ८८ साल, ८ महिना, ८ दिन, ८ घडी, ८ पला। यस बेला जंको गरिएको बुढा वा बुढीलाई रथयात्रापछि झ्यालबाट भित्र्याइन्छ।
घ) दिव्य रथारोहण (चौथो जंको )- उमेर: ९९ साल, ९ महिना, ९ दिन, ९ घडी, ९ पला। यस बेला सम्म बाँचिरहने बुढाबुढीलाई नयाँ घ्याम्पोमा राखेर घ्याम्पो पूजा गरिन्छ। त्यसपछि फेरि बच्चा जन्मेको भावले घ्याम्पो फुटालेर निकाल्ने गरिन्छ । यसबेला पांग्रा भएको रथमा राखेर घुमाउन लैजान्छन् । नाति पतातिहरूले रथ तान्ने र छोरा छोरी ज्वाँईहरूले लावा अबिर छर्कने गर्छ । यस बेलाको रथलाई दिव्यरथ भन्दछन्।
ङ) महादिव्य रथारोहण (पाँचौं जंको )- उमेर: १०८ वर्ष, ८ महिना, ८ दिन, ८ घडी, ८ पला । अष्टमा टेकेको बेला केही अनिष्ट नहोस् भन्ने कामना गरेर यसबेलाको रथलाई महादिव्य रथ राखिएको छ।

Spread the love

Related posts

Leave a Comment