Crime News & Prevention Feature News National

चर्चित सर्वेन्द्र खनालको सफलताका कडीहरु

ने.सं.११३८ चौलागा एकादशी । चैत्र २८, २०७४ । अप्रिल ११, २०१८

मंगलबार साँझ बसेको मन्त्रीपरिषद बैठकबाट प्रहरी सेवामा रहेर उत्कृष्ट काम गरी लोकप्रियता कमाइसकेका प्रहरी नायव महानिरीक्षक सर्वेन्द्र खनाललाई बिहिवार २९ गते देखि लागू हुने गरि प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रहरी सेवामा रहेर काम गर्दा हालसम्म बसेको स्थानहरुमा उत्कृष्ट काम गरी लोकप्रियता कमाइसकेका खनालले एक व्यवसायीक अधिकृतको छवि बनाएका थिए । प्रहरीको व्यवसायिक छवि एवं संगठनको प्रतिष्ठा सर्बदा उंचो राख्न खनालका दर्जनौं कामका श्रृंखलाहरु छन्, जसले उनलाई सफलताको उचाइतर्फ दोहोर्याएको छ ।

नेपाल प्रहरीमा कुनै पनि ठाउँमा अराजकता फैलिएपछि त्यहाँको वस्तुस्थिति नियन्त्रण गर्नका लागि पटक–पटक खनाललाई पठाउने गरेको थियो। मधेस अन्दोलनका क्रममा धनुषामा आन्दोलनकारीले सबै सकारी कार्यालयलाई नियन्त्रणमा लिएपछि सरकारले स्थितिलाई नियन्त्रणमा लिन खनाललाई नै खटाएको थियो।

जनआन्दोलनमा काठमाडौंको प्रमुख हुँदा निभाएको भूमिकाले पनि उनको प्रहरी नेतृत्व सम्हाल्ने क्षमता प्रमाणित गरिसकेका थिए । खनालका चर्चित रहेका सफल कार्यहरुले पनि उनलाई उचाइमा पुर्याएको देखिन्छ । अपराध महाशाखामा आएपछि मोस्टवान्टेड सूचीका गुन्डा नाइके कुमार श्रेष्ठ घैंटेको इन्काउन्टर उनको ठूलो सफलता थियो जसले गर्दा काठमाण्डौंमा शान्ति सुरक्षा एवं अमन चयन कायम गर्न उल्लेखनीय भूमिका खेलेको थियो ।

खनाल महाशाखामा हुँदा लागु औषध र अपहरण काण्डका अभियुक्त जेलबाट भागेका रावणजीत तामाङलाई गोली हानेर पक्राउ गरेका थिए । त्यसैगरि काम गरेपछि परिणाम देखाउने खुबी भएका उनको दोस्रो ठूलो सफलता थियो, पैसामा खेल बेचेर सबै देशको इज्जत फाल्ने फुटबल खेलाडीमाथिको ठूलो र जोखिमयुक्त अप्रेसन ।

म्याच फिक्सिङ गर्नेहरुको धन्दालाई धुजाधुजा पारेको केही समयमा नेपाली फुटबलको ईतिहासमा २३ वर्षपछि नेपालले अन्तराष्ट्रिय खेल जितेको थियो । खेलको सौदाबाजी गर्ने राष्ट्रिय फुटबल टिमका कप्तान सागर विकास क्षेत्री, सन्दीप राई, रितेश थापा र अन्जन क्षेत्रीलाई खनालको टिमले कानुनको कठघरामा उभ्यायो ।

महाभुकम्पको समयमा नाकाबन्दीको फाईदा उठाउँदै कालोबजारी र ठगी गर्नेहरुको संरक्षक बनेका सरकारका सहसचिव रामआधार साह पनि खनालले कानूनी दायरामा ल्याएका थिए । त्यस्तै लामो समयदेखि पेट्रोलियम पदार्थ बेच्ने पम्प सञ्चालकहरुले तेलको मात्रा कम गरि बच्ने उपकरणहरु रिमोट, रिसिभर, डिभाईस, गियर, स्विच, कोड र सेफ्टी पिन जडान गरी उपभोक्ता ठग्नेलाई पनि खोजिखोजि हत्कडी लगाएका थिए ।

खनाल महाशाखामा आएको केही समयमा संचार उद्यमी जमिम साहको हत्याका मुख्य आरोपीलाई पक्राउ परे । २०६६ सालमा हत्या भएको जमिम साह हत्याकाण्डका आरोपित जगदिश चन्दलाई नियन्त्रणमा लिएका थिए । त्यस्तै अर्को निर्मम हत्याकाण्डको पर्दाफास पनि भयो । ललितपुरको बडिखेलमा १२ वर्ष पहिला एउटै परिवारका ५ जनाको विभत्स ढंगबाट भएको हत्याकाण्डको पर्दा पनि उनै खनालले खोले । २०६० सालमा एउटै परिवारका पाँच जनाको ज्यान लिने चन्द्र बहादुर पहरीलाई खनालकै टोलीले पक्राउ गरेर देखाएको थियो ।

अवैध कन्सल्टेन्सी खोलेर अवैध रुपमा विदेश पठाउने दलालहरुको अखडामा उनको टोलीले धावा बोल्यो । निहित स्वार्थका लागि शैक्षिक परामर्शको नाममा गलत सूचना दिएर हाम्रै छोरो छोरी तथा भाइ बहिनीको भविश्वमाथि खेलवाड गर्ने जो कोहिलाई कानुनले छाड्दैन भन्दै उनले कारवाही अगाडी बढाएका थिए । छापा हान्न थालेपछि अतालिएका दलालहरुले त्यसबेला कन्सलटेन्सी दर्ता गराउन दौडधुप गर्न थालेका थिए ।

विभिन्न प्रलोभन देखाएर सर्वसाधारण जनताको करोडौं रुपैयाँ ठगी गरेर फरार भएका युनिटी लाईफ इन्टरनेशनल लिमिटेडका सञ्चालनक विष्णु बहादुर क्षेत्र र कृष्ण बहादुर क्षेत्री पनि खनालको फन्दामा परे । अनेकन प्रलोभन देखाएर यी दुई दाजुभाईले ठगीको सन्जाल नै चलाएका थिए । खनालले संबेदनशिल एवं चुनौतिपूर्ण जिल्लाहरुको सफलतापुर्वक कमाण्ड गरेका थिए । जनकपुर, पर्सा लगायतका तराइमा बस्दा खनालले गुण्डागर्दी, तस्करी नियन्त्रण गर्दा धेरै पटक उनले आफ्नो ज्यानसंग खेल्नु परेको थियो ।

उनले आफ्नो जिम्मेवारीबाट भाग्ने प्रहरी संगठनका डिएसपीको घटुवा समेत गरेका थिए । कुख्यात भारतीय अन्डर वल्र्ड नाइके बब्लु दुबेलाई पक्राउ गरेपछी त उनले भारतको समेत पुरस्कार पाए । तराई जनतान्त्रिक मुक्तिमोर्चा धनुषा महोत्तरी प्रमुख सुधिर पाण्डे, राजन मुक्ति प्लटुन कमाण्डर, ज्वाला समूहका धनुषा, महोत्तरी, सर्लाही इन्चार्ज मरिक यादव, बीरगन्जमा उत्पाद मच्चाउने गुण्डानाइके अग्नी भनिने सुनिल जैसवाललाई पनि खनालले कारवाहीको दायरामा ल्याएका थिए ।

पछिल्लो समयमा ट्राफिक प्रहरी महाशाखामा कार्यरत खनालले पशुपति, ठमेल र असन क्षेत्रमा चारपांग्रे सवारी निषेध गराएर ब्यबस्थित बनाएका थिए । सडकका खाल्डाखुल्डी पुर्ने अभियान, चक्रपथ सुधार र सरसफाइ अभियान तथा राजधानीका १० स्थानमा लाइन बसेर सवारी चढ्ने नियमको सुरुवात गरे ।

सार्वजनिक माइक्रो चालक र सहचालकलाई पोशाक लगाउने नियम बसालेका खनालकै पहलमा १० बर्ष देखी बिग्रेका ट्राफिक बत्तीको मर्मत गरी बल्न थालेका छन । राष्ट्र र जनताको पक्षमा काम गर्ने कुशल र बहादुर योद्धाका रुपमा स्थापित भएका उनको कामप्रति सामाजिक सञ्जालमा देखिएका बधाई तथा शुभकामना सन्देशको आइरोले उनको कार्यशैलीप्रति आशा र भरोषा गर्न सकिनेमा जनबिश्वास बढेको पाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *