Culture & Heritage Feature News Municipal news Social

जिल्लाकै साँस्कृतिक पर्यटन गन्तव्य — गोदावरी नगरपालिकाको आगामी लक्ष्य

ने.सं. ११३८ तछलाथ्व एकादशी । २०७५ असार १० । जुन २४, २०१८
राजेश बज्राचार्य, ललितपुर

साँस्कृतिक पर्यटन गन्तव्य बनाउने लक्ष्य सहित गोदावरी नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

आईतबार सम्पन्न नगरपालिकाको दोस्रो नगरसभामा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७५÷०७६ को लागि ७८ करोड २२ लाख १५ हजार रुपैया“को बजेट सार्वजनिक गरेको हो ।
आगामी वर्ष सुशासन र गुणस्तरीय सेवाप्रवाह मार्फत आन्तरिक साधन श्रोत, अवसर र क्षमताको उच्चतम उपयोग गरी आर्थिक विकास गर्नुकासाथै नगरवासीको आधारभूत स्वास्थ्य र शिक्षाको प्रत्याभूति गर्ने, आधारभूत शहरी पूर्वाधारहरू विकास गरी सम्मुन्नत नगर विकास गर्ने तथा भू–कम्पबाट क्षतिग्रस्त संरचनाहरूको सुरक्षित पुननिर्माण गर्ने प्रमुख उद्धेश्य नगरपालिकाले लिएको प्रमुख गजेन्द्र महर्जनले बताएका छन ।

नगरक्षेत्रमा भएका धार्मिक सम्पदाहरूको संरक्षण र सम्वद्र्धन गर्दै धार्मिक पर्यटनलाई विकास गरिने बताउँदै प्रमुख गजेन्द्र महर्जनले भने, ‘साँस्कृतिक निधीले सम्पन्न नगरपालिकालाई साँस्कृतिक पर्यटनको गन्तव्य बनाउन आफ्नो क्षेत्रमा प्रचलनमा रहेका साँस्कृतिक बाजाहरूको संरक्षण तथा बाजा प्रतियोगिता आयोजना, तीज पर्वलाई ‘बृहत तीज प्रतियोगिता’का रूपमा निरन्तरता र स्थानीय भाषा, साहित्य कला, संस्कृति र मातृभाषाहरूको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनमा विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।’

नगरक्षेत्रका बज्रवाराही, श्वेतवाराही, सन्तानेश्वर महादेव, लेले मनकामना, टीकाभैरव, बिशंखुनारायण, नवदुर्गा लगायत मुख्य धार्मिक मठ मन्दिरको संरक्षण तथा विकासलाई निरन्तरता दिनुकासाथै पर्यटनको सम्भावनालाई अध्ययन गरी ‘देवीचौर भ्यू टावर’ निर्माणलाई निरन्तरता दिने तथा थप पर्यटकीय स्थलहरूको पहिचान सहित पर्यटन विकासका योजना तथा कार्यक्रमहरू सञ्चालन गरिने उनले बताएका छन ।

साँस्कृतिक पर्यटन गन्तव्य ब्यवहारिक बनाउन मेयर महर्जनले ‘टोल विकासमा जनताको हात त्यसमा नगरको साथ’ नारासहित उत्कृष्ट उपभोक्ता समितिलाई पुरस्कृत गरिने र साविकको पुरानो चापागाउँ शहरलाई साँस्कृतिक, पुरातात्विक शहरका रूपमा विकास गर्न आवश्यक पूर्वाधार सहितको योजना बनाउन अध्ययन कार्यदल गठन गर्ने पनि प्रमुख महर्जनले घोषणा गरेका छन ।

पुरातात्विक शैलीमा घर निर्माणकालागि विशेष सहुलियत दिइने उल्लेख गर्दै मेयर महर्जनले गोदावरी नगरपालिका क्षेत्रभित्रका सम्पूर्ण सहकारी तथा वित्तिय संस्थाहरूलाई सामाजिक उत्तरदायित्व अन्तर्गत मठ मन्दिर, सडक चोक, पोखरी संरक्षण र सम्वद्र्धन गर्न नगरपालिकाको तर्पmबाट आह्वान गर्ने बताएका छन । त्यसैगरि नगरपालिकाले पर्यटकीय आकर्षणकालागि गोदावरीदेखि फुल्चोकीसम्म केवलकार सञ्चालनबारे सम्भाव्यता अध्ययन र नगरपालिका क्षेत्रभित्र चिडियाखाना स्थापना र शारिरीक स्वास्थ्य प्रवद्र्धनकालागि योग नगरपालिका रुपमा नगरलाई विकसित गर्ने लक्ष्य पनि लिएको छ ।

आगामी वर्षको कार्यक्रम तथा नीति अनुरुप ४९.२९% कृषि योग्य र ३९.०८% वनक्षेत्रले ओगटेको गोदावरी नगरपालिकाको कृषि विकासकालागि ‘जमिनको आम्दानी जमिनमा नै लगानी’ भन्ने मान्यता अघि सार्दै मालपोत (भूमिकर) बाट प्राप्त आम्दानीलाई कृषि क्षेत्रमा लगानी गर्ने बताएको छ ।

कृषि क्षेत्रको लगानीलाई नतिजामूलक बनाउन तरकारी खेतीका लागि लेले, पुष्प खेतीका लागि गोदावरी, च्याउ खेतीका लागि चापागाउँ र गोलभेँडाका डुकुछाप लगायत क्षेत्रलाई कृषि पकेट क्षेत्रका रूपमा विकास गर्न आवश्यक बजेट व्यवस्था गर्नुकासाथै सामुदायिक वनहरुबाट स्थानीयको आय–आर्जन बढाउन एग्रो फरेष्ट नीति अपनाइने नगरपालिकाले घोषणा गरेको छ ।

प्रतिनिधिसभाका सदस्य पम्फा भुसालले उदघाटन गर्नुभएको उक्त दोश्रो नगरसभामा नगरपालिकालाई “हाम्रो गोदावरी, राम्रो गोदावरी” भन्ने मूल नाराका साथ आगामी आर्थिक वर्षको वार्षिक नगर विकास योजना तथा कार्यक्रमहरूलाई अगाडि बढाउने लक्ष्य राखिएको छ । यस नगरपालिकालाई समृद्ध नगरपालिका बनाउने दीर्घकालीन उद्देश्य अनुरूप नगरपालिकाको आर्थिक, सामाजिक विकासलाई तीव्र गतिमा अगाडि बढाउन आन्तरिक श्रोत परिचालन, नगरवासीको प्रतिव्यक्ति आयमा वृद्धि, आधारभूत स्वास्थ्य–शिक्षाको प्रत्याभूति स्वच्छ खानेपानी र सुरक्षित आवास कार्यक्रमलाई प्रस्थान बिन्दु मानिएको छ ।

सांसद नवराज सिल्वाल, लाल कुमारी पुन (शुशिला), राजकाजी महर्जन लगायतका विशेष अतिथिहरु, भूतपुर्व अर्थ राज्यमन्त्री उदय सम्शेर ज.ब.रा., नेकपा ललितपुरका सभापति हरिकृष्ण ब्यञ्जनकार लगायतको समुपस्थितिमा सम्पन्न सो कार्यक्रममा प्रथम महिला पत्रकारका रुपमा सगरमाथाका सफल आरोही कल्पना महर्जनलाई पनि प्रमुख अतिथी पम्फा भुसालका हातबाट सम्मानित गरिएको थियो ।

बजेट खर्च अनुमान, कति कुन शिर्षकमा?
संघीय संरकारबाट ५८ करोड ८७ लाख १५ हजार रुपैया“, प्रदेश सरकारबाट ३ करोड रुपैया, जिल्ला समन्वय समितिबाट ५ करोड रुपैया, आन्तरिक आयबाट ११ करोड रुपैया र सडक बोर्ड नेपालबाट ३५ लाख रुपैया आम्दानी हुने अनुमान गरिएको दोश्रो नगरसभाले नगरस्तरीय बजेट, योजना तथा कार्यक्रममा २३ करोड ७३ लाख रुपैया, लक्षित समूह सम्बन्धी बजेट, योजना र कार्यक्रममा २ करोड ५० लाख रुपैया, न्यायिक समिति सम्बन्धी बजेट, योजना तथा कार्यक्रममा २५ लाख रुपैया विनियोजिन गर्ने घोषणा गरेको छ ।

त्यसैगरी गोदावरी प्राविधिक शिक्षालय स्थापना गर्न १ करोड रुपैया, ८ मिटर सडक मर्मत एवं स्तरोन्नति गर्न ३ करोड, वडा नं १०मा बहुउद्देश्यीय रंगशाला निर्माण योजना सञ्चालन गर्न १ करोड, वडा नं ७ मा देवीचौर भ्यू टावर सञ्चालन गर्न १ करोड रुपैया, ऐतिहासिक धार्मिक, मठ मन्दिर संरक्षण प्रत्येक १० लाखका दरले दिने गरी १ करोड रुपैया विनियोजित गरिएको छ ।
त्यसैगरी लक्षित समूह बजेटमा बालमैत्री कार्यक्रम घोषणा, नगरस्तरीय बाल सञ्जाल तथा बाल क्लब सञ्चालन, महिला जनप्रतिनिधिहरुको क्षमता विकास कार्यक्रम गर्न १० लाख रुपैया, नगरस्तरीय मातृभाषा, लिपि प्रशिक्षण गर्न १० लाख, नगरस्तरीय भेषभूषा तथा संस्कृति) संग्रहालय निर्माण गर्न २५ लाख र दलित अपांगमैत्री कार्यक्रमको लागि २५ लाख विनियोजित गरिएको छ ।
आगामी आर्थिक वर्षमा सडकतर्फ ५ किलोमिटर सडक कालोपत्र गरिनेछ र न्यूनत्तम १५ किलोमिटर सडक स्तरोन्नति गर्ने नगरपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *