Arts and Crafts Business and CSR Culture & Heritage Health Provincial News Social Women

तेस्रो गोल्डेन डायमण्ड दशैं तिहार मेला २०७५ शुरु – विशिष्ट व्यवसायी सम्मान २०७५ प्रदान

ने.सं. ११३८ यँलागा चौथी बिहिवाः । २०७५ असोज १८ । अक्टोबर ४, २०१८
ललितपुर

३ जना जेष्ठ नागरिकहरुलाई विशिष्ट व्यवसायी सम्मान २०७५ प्रदान गर्दै तेस्रो गोल्डेन डायमण्ड दशैं तिहार मेला २०७५ शुरु गरिएको छ ।

गोल्डेन डायमण्ड एण्ड ज्वेलरीले विहीबार आयोजना गरेको उक्त मेलाको उद्घाटन समारोहमा नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य, विगत ७० वर्षदेखि सुनचाँदी व्यवसायीमा संलग्न भाई बज्राचार्य र पृथ्वीमान शाक्यलाई सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं ३ का सांसद् शोभा शाक्यले सम्मानपत्र र मेलाका आयोजक गोल्डेन डायमण्ड ज्वेलरीका अध्यक्ष ज्ञानुराजा शाक्यले दोसल्ला ओढाई उक्त विशिष्ट सम्मान प्रदान गरिएको हो ।

सो अवसरमा सांसद् शाक्यले नेपालको परम्परागत र मौलिक हस्तकलामा आधारित सुनचाँदी व्यवसायलाई नवपुस्तामा हस्तान्तरण गर्न सफल सम्मानित व्यवसायीहरुको प्रशंसा गर्दै यस क्षेत्रको उचित संरक्षण, प्रर्वद्धनका लागि सरकार पनि गम्भीर भएर लाग्नुपर्ने आफ्नो धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल सरकारका पूर्वमुख्य सचिव तीर्थमान शाक्य, ललितपुर महानगरपालिकाका उपप्रमुख गीता सत्याल, ललितपुर महानगरपालिका वडा नं १६ का अध्यक्ष निर्मलरत्न शाक्य, ललितपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष किरणभाई बज्राचार्य लगायतले सामाजिक उत्तरदायित्व बहन गर्दै नियमित मेला आयोजना गर्दै आएकोमा प्रशंसा र शुभकामना व्यक्त गरेका थिए ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको उपाध्यक्ष समेत रहनुभएका शाक्यले परिवर्तित समय, आम उपभोक्ताको चाहना, बढ्दो माग अनुरुप सुनसंगै हिरामोतीका गरगहनाहरुको माग बढीरहेकोले सो मेला गरिएको जानकारी दिनुभयो । बिहिवारदेखि पाँच दिनसम्म मंगलवजारको हखाःटोल (बुद्ध प्रतिमास्थल अगाडि) सञ्चालन हुने बताउँदै मेलामार्फत ग्राहकहरुलाई नयाँ नयाँ डिजाइनका गरगहना सुपथ मूल्यमा उपलब्ध गराउनु मेलाको उद्धेश्य रहेको बताए । गत वष पनि व्यवसायिक सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै विविध क्षेत्रका महिलाहरुलाई सम्मानित गरेका शाक्यले यसपटक सुनचाँदी व्यवसायका क्षेत्रमा क्रियाशील जेष्ठ नागरिकहरुको महत्व र स्वास्थ्य सजगतालाई उजागर गर्ने प्रयत्न गरेको कम्पनीका अध्यक्ष ज्ञानुराजा शाक्यले बताए ।

प्रदर्शनीमा नयाँ तथा आकर्षक सुन र हिराका गहनाहरुको प्रदर्शनीमा राखिएको छ । मेलाका अवसरमा सुन तथा हिराका गरगहना खरिद गर्ने ग्राहकहरुलाई निशुल्क स्वास्थ्य बिमाको प्याकेज पनि उपलब्ध गरिने बताइएको छ । मेला अवधिमा १ लाख २५ हजार रुपैयाँसम्मका गहना खरिद गर्ने ग्राहकका लागि २ लाख रुपैयाँसम्म बिमा गरिने, २ लाख ५० हजार रुपैयाँ सम्मका गहना खरिद कर्तालाई ३ लाख रुपैयाँ बिमा गरिने छ । त्यसैगरी ३ देखि ५ लाख रुपैयाँ सम्मको गरगहना खरिद गर्नेलाई पाँच लाख र ५ देखि १० लाख सम्मको खरीदकर्तालाई १० लाख रुपैयाँकै बिमा प्याकेज प्रदान गरिने अध्यक्ष शाक्यले जनाएका छन । मेला अवधिभित्रका ग्राहकमध्ये एक जनालाई अन्तिम दिन लक्की ड्र मार्फत विदेशमा विशेष होलिडे प्याकेज प्रदान गरिने आयोजकले बताएका छन ।

Photo: Sandip Shakya, Annapurna Photos

Leave a Reply

Your email address will not be published. Required fields are marked *