नयाँ मुकुट्ले सुसज्जित बराह कार्तिक नाच शुरु, शनिवार नृसिंह अवतार

ललितपुर

बि.सं . १६९७ देखि चल्दै आएको ललितपुरको ऎतिहासिक कार्तिक नाच यस वर्ष कोरोना नियन्त्रणको दृष्टिकोणलाई समेत ध्यानमा राखेर आजबाट शुरु भएको छ । भीड्भाड नियन्त्रण गर्ने गरि पाटन दरवार क्षेत्र कलाकार र सञ्चारकर्मीहरु मात्र राखेर शुक्रवार र शनिवार गरि क्रमश: बराह र नृसिंह अवतारको प्रमुख नाचले यस वर्ष पनि निरन्तरता पाएको छ ।

शुक्रवार बराह अवतारको प्रस्तुतिको शुभारम्भको अवसरमा ललितपुर महानगरपालिका वडा १६ का तर्फबाट नाचको दिर्घकालिन निरन्तरताको कामना गर्दै वडाध्यक्ष निर्मल रत्न शाक्यले नवनिर्मित चाँदीको मुकुट हस्तान्तरण गरेका छन । यस सँगै वडाध्यक्ष्य शाक्यले गत वर्ष आफुले ब्यक्त गरेको प्रतिबद्धता अनुरुप संस्कृति जगेर्नाकालागि अक्षय कोष स्थापनामा सहयोग स्वरूप रु. १० लाखको चेक पनि कार्तिक नाच संरक्षण समितिलाई हस्तान्तरण गरेका छन । १६ वडाकै सहयोगमा गत वर्ष नरसिंहले लगाउने मुकुट फेरिएको थियो ।

यस अघि प्रयोग गरिंदै आएको मुकुट करीव सय वर्ष पुरानो भइसकेको अनुमान गर्न सकिने बताउदै ललितपुर महानगरपालिका– १६ वडाले नयाँ मुकुटको लागि लाग्ने सम्पूर्ण खर्च व्यहोरेको जानकारी कार्तिक नाच संरक्षण समितिका कार्यकारिणी सदस्य एवं प्रचार संयोजक सञ्जयराज शर्माले जानकारी गराएका छन । नेपालभाषा संगीत र नेपाली कलाक्षेत्रमा समेत चर्चित रहेका वडाध्यक्ष शाक्यको संस्कृतिप्रेमको चर्चा गर्दै संयोजक शर्माले भने, ” उनैका बाजे स्वयं पनि कार्तिक बिगतमा नाचका कलाकार रहेका थिए भने हालको नाचमा पनि उनका भतिजा कलाकारकै रूपमा संलग्न रहनु भएका छन ।” कोरोना संक्रमणका कारण यस वर्ष वराह र नरसिंह नाच मात्र देखाउन लागिएको हो । नाच संचालनले इतिहास निरन्तरताकासाथै हालको कोरोना संक्रमणबाट जनसाधारण र कलाकारहरु पनि सुरक्षित रहुन भन्ने उदेश्यले सञ्चारकर्मीहरुको साथ सहयोगमा घरघरमा टेलिभिजन, अनलाईन मिडिया मार्फत प्रत्येक्ष प्रसारण गर्ने रणनिती सहित मात्र नाच ब्यवस्थापन गरिएको समितिले जनाएको छ ।

३८० वर्ष अगाडी राजा सिद्धिनरसिह मल्लले शिक्षा गुरु हरिवंश राजोपाध्याय र तन्त्र गुरु विश्वनाथ उपाध्याय लगायतका सहयोगमा ५ दिनको प्रदर्शनबाट शुरु गरिएको मानिन्छ । पछि उनका उत्तराधिकारी श्रीनिवास मल्लले “यलय बाथ:” लगयातका लोकनाटकहरु थपेर १५ दिन पुर्याएका थिए भने राजा योगनरेन्द्र मल्लका पालामा उषाहरण लगायतका लीलाहरु थप भै महिनाभरि सम्म प्रदर्शन गर्ने गरिएको इतिहास रहेको पाटनवासीहरु बताउँछन ।

सम्भवत: बिश्वकै सबभन्दा लामो कथानक लोकनाचका रूपमा रहेको कार्तिक नाच २ दिनमा छोट्ट्याइएको यो पहिलोपटक भने होइन । संयोजक शर्माका अनुसार ललितपुरका बिभिन्न समुदाय र जातजातिका प्रतिनिधित्व रहने गरि करीव १०० जना कलाकारहरुको भुमिका आवश्यक पर्ने र महिना दिन प्रदर्शित हुने गरेको कार्तिक नाच बिगतमा २००७ सालदेखि झण्डै ३० वर्षसम्म पनि समयकाल परिस्थिति, आर्थिक लगायतका ब्यवस्थापन कठिनाइले गर्दा २ मात्र प्रदर्शित हुने गरेको इतिहास पाइन्छ । विधिपूर्वक नासद्यः (नाट्यश्वरी) साधना गरि १७ बिधाका कथा र नृत्य प्रस्तुतिसम्म रहने गरेको कार्तिक नाचको स्वरूप संदेशमूलक जीवन दर्शन सहितको सुखान्त कथामा आधारित बिश्व रंगमंच जगतमा ओपेन थिएटर अनि सोप अपेराको तुुुलनामा अद्वितीय रहेको शताब्दी पुरुष सत्यमोहन जोशीले पनि चर्चा गर्ने गरेका छन ।

यसपटकको नाच नचाउन गत बिहिबार धार्मिक विधि अनुसार नाट्येश्वरकाे पूजा पनि सम्पन्न गरिएकाे थियाे । समितिका अध्यक्ष किरण चित्रकारका अनुसार शुक्रवार बराह अवतार जसमा हिरण्याक्ष दैत्यकाे संहार दृश्य नचाइने छ भने शनिवार नृसिंह अवतार जसमा हिरण्यकश्यपुकाे वध दृश्य देखाउने छ । यी दुई दिनकाे नाच पछि याे वर्षकाे कार्तिक नाच समापन गरिने छ । आयोजकले जनस्वास्थ्य र राज्यको सुरक्षा मापदण्ड अनुरूप मात्र संचालन गर्ने लक्ष्य लिएर ६० वर्ष माथिका अग्रजहरु वाद्यवादक कलाकारहरुको स्थानमा दिक्षित युवाहरु परिचालन गरिएको जनाउदैं जनहितकालागि घरघरमै बसी प्रत्यक्ष प्रसारण हेर्न पनि अनुरोध गरेका छन ।

फोटो साभार: बिकासया किपा: र कृतन जोशी

भिडियो लाइभ : श्याम था – हाम्रो जात्राhttps://www.facebook.com/HamroJatra/videos/141692707327101/

Spread the love

Related posts

Leave a Comment