न्हुदँ पूर्वसन्ध्यामा १६ वडाब्यापी गायन र नृत्य प्रतिभा पुरस्कारबीच ललितरत्न सम्मान

ने.स.११४१ कौलागा आमाई, कार्तिक १५

ललितपुर महानगरपालिका १६ वडा कार्यक्षेत्र अन्तर्गत समेत पर्ने पाटन दरवार क्षेत्रको कार्तिक डबली नेपाल सम्वत ११४२ आगमनको पूर्वसन्ध्यामा संगीतमय भएर सजिएको थियो ।

जनकवि दुर्गालाल श्रेष्ठको “न्हुदँ म्हिग थें थौं न वैच्वन (नववर्ष हिजोझैँ आगमन….)” बोलको गीतमा वरिष्ठ संगीतकार गायकहरु अमरराज शर्मा, बदनराज शर्मा लगायतका सल्लहकार र वडा कलाकार समिति, १६ वडा गायन तथा नृत्य प्रतियोगितामा सहभागी नवकलाकारहरुसमेतको सामुहिक गानले लक्ष्मीपूजाको झिलमिल साँझ अनि नेपाल सम्बत ११४२को पूर्वसन्ध्या थप रमणीय बन्दै थियो । सोही कार्यक्रमबीच लोकप्रिय संगीत प्रवीण मोहनप्रसाद जोशीलाई “ललितरत्न” उपाधिले बिभुषित सम्मान प्रदान गरिएको हो ।

“ऐतिहासिक कला, सम्पदाको संरक्षण जति महत्वपूर्ण छ राज्यका गहनाका रूपमा लिइने कलाकार तथा कलासाधकसँगै वर्तमान कलाकारहरुको विकास तथा योगदान पनि त्यतिकै आवश्यक रहेको यथार्थलाई ब्यवहारिक रूपमा भविष्यका कलाकार उत्थान समेत ध्यानमा राखी ललितपुर महानगरपालिका १६ वडाको कलाकार समितिले आयोजना गरेको कार्यक्रमबाट आफू निकै प्रभावित भएको छु ।” सम्मानित जोशीले हर्षपूर्ण मन्तव्यमा बताए ।

गत असोज ३ गते येँयाः पर्वको अवसरमा वडा १६ ले पुनःनिर्माण गरेको नागबहाल स्थित गगन बाटिका उद्घाटन तथा कलाकार समितिका पदाधिकारीहरुको परिचययात्मक कार्यक्रममा घोषणा गरिए अनुरूप १६ वडाब्यापी गायन तथा नृत्य प्रतियोगिताको समापन तथा प्रतिभा पुरस्कार कार्यक्रम आयोजना गरिएको वडाध्यक्ष निर्मलरत्न शाक्यले जानकारी गराए ।
“वडामार्फत गर्दै आएको ऐतिहासिक कला, सम्पदाको संरक्षण जति महत्वपूर्ण छ वर्तमानका कलाकारहरुको विकास तथा योगदान पनि त्यतिकै आवश्यक रहेको महसूस गरेर वडास्तरमै भएपनि भविष्यले गौरव गर्ने आशासहित कलाकारिता उत्थानमा कलाकार समितिमार्फत यो कार्यक्रम सम्पन्न गरेका छौं ।” वडाध्यक्ष शाक्यले भने, “स्थानीय तहले गर्न सक्ने कार्यमा आफ्नो तर्फबाट कुनै कसर नरहने प्रतिबद्धता सहित लागिपरेको छु, वडा कलाकार समितिको साथ सहयोगले अझै बिकसित हुनेमा बिश्वस्त छु।”

कार्यक्रमका प्रमुख अतिथि ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले कलाकारहरुका लागि ललितपुर महानगरपालिका १६ वडाले गरेको कार्य अनुसरणयोग्य रहेको उल्लेख गर्दै महानगरपालिकाले यसलाई अझ ब्यापक गर्ने बताउनु भयो ।

पुरस्कार बितरण कार्यक्रममा ललितपुर महानगरपालिका १६ वडा ब्यापी गायन प्रतियोगिता स्वनिम्हका सक्षम शर्माले जितेका छन् भने नृत्य प्रतियोगिता न्याधलकी श्रुयति शाक्यले जित हासिल गरिन् । गायनतर्फ द्वितीय स्थान महापालकी राधिका श्रेष्ठ तथा तृतीय स्थान जोमबहालकी यजु शिल्पकारले जितिन् भने नृत्यतर्फ तःजाःफःकी विशाखा शाक्यले द्वितीय तथा झतापोलकी एन्जेला शाक्यले तृतीय स्थान प्राप्त गरिन् । प्रतिस्पर्धीहरुले प्रथम पुरस्कार २५/२५ हजार नगद, द्वितीय १५/१५ हजार नगद, तृतीय १०/१० हजार नगदसहित ट्रफी, प्रमाणपत्र तथा ट्रेनिङ प्याकेज जित्नुकासाथै उत्कृष्ट १०का लागि पनि ट्रेनिङ प्याकेज ब्यवस्था गरिएको थियो।

उत्कृष्ट १० मा पर्न सफल गायनका प्रतिस्पर्धीहरु पट्कोका बबिन राजोपाध्याय, चल्खुकी सिम्रन शाक्य, न्याखाचुकका शैलेश बज्राचार्य, बुबहालका राजेश बज्राचार्य, नकबहिलका जेनिश ज्योति शाक्य, गाःबहालका सुनिल बज्र्राचार्य तथा झतापोलका अमिर शाक्य रहेका छन् भने नृत्यतर्फ हाल कुमारीपाटीमा बसोबास गरिरहेकी श्रेशा श्रेष्ठ, धौगलकी विभूषणा बज्राचार्य, न्याखाचुककी उत्पला बज्राचार्य, धपगालकी श्रृया बज्राचार्य, बुबहालकी नैरात्मा बज्राचार्य, न्याखाचुककी सुयंका बज्राचार्य तथा कायगुननिकी लक्की महर्जन रहेका छन् ।

वडाका कलाकारहरुलाई प्रोत्साहित गर्ने तथा तालिम मार्फत अझ परिष्कृत गर्ने उद्देश्यसाथ आयोजित यस प्रतियोगितामा सहभागी १२ बर्षमुनिका कलाकारहरुलाई भने “भिंतुना (शुभकामना) पुरस्कार” प्रदान गरिएको थियो । यो पुरस्कार गायनर्फ ९ बर्षका बुबहाल निवासी रिभनमुनि बज्राचार्य तथा कुलिम्हकी १० बर्षीय सजेना महर्जनले प्राप्त गरिन् भने नृत्यतर्फ बुबहालकी १३ बर्षीया निष्ठा बज्राचार्य, महापालकी १० बर्षीया श्रीजु श्रेष्ठ र न्याधलकी ८ बर्षीया स्मृति शाक्यले प्राप्त गरिन् ।
प्रतियोगितामा अनलाईनमार्फत दर्ता भएको भिडियोको फेसबुक तथा युट्युबमा सबैभन्दा बढी भ्यूज प्राप्त गरी “टप भ्यूज”को पुरस्कार गायनर्फ चल्खुकी सिम्रन शाक्य तथा नृत्यतर्फ दौबहालकी श्रीजु शाक्यले प्राप्त गरिन् ।

कार्यक्रममा संयोजक सुरजवीर बज्राचार्यले धन्यवाद दिँदै सबै स्थानीय तहले यसरी नै कला क्षेत्र एवं कलाकारलाई ध्यान दिने, प्रोत्साहित गर्ने हो भने समाज नै खुशी हुने बताउनु हुँदै आफ्नो नेतृत्वमा रहेको समितिले निरन्तर विभिन्न कार्यक्रममार्फत कलाकारहरुका लागि क्रियाशील रहिरहने बताउनु भयो ।

पाटन दरवार क्षेत्रको कार्तिक डबलीमा आयोजित कार्यक्रममा १६ वडाका लोकप्रिय कलाकारहरु सुरजवीर, भूपेन्द्र बज्राचार्य, नील शाक्य, मोहिद्दिन खान, अमोघवीर बज्राचार्य, अमर चित्रकारले गीत प्रस्तुत गरेका थिए भने लोकप्रिय कोरियोग्राफर निसिला शाक्यले नृत्य प्रस्तुत गर्नुभएको हो भने १६ वडाका संचार क्षेत्रमा स्थापित अनुप शाक्य, मञ्जु बज्राचार्य, सलोना बज्राचार्य, प्रलिशा शाक्यका साथै सुरजवीर र अमोघवीरले कार्यक्रम संचालन गनुभएको हो ।

Spread the love

Related posts

Leave a Comment