Arts and Crafts Business and CSR Culture & Heritage Feature News Municipal news Social Tourism

नेपाल चीन एक्स्पो २०१८ समापनमा महानगरभित्र प्रदर्शनी स्थलको माग 

ने.सं. ११३८ कौलाथ्व पारु ब्ुाधवाः । २०७५ असोज २४ । अक्टोबर १०, २०१८
ललितपुर

पाटन दरवार क्षेत्र परिसरमा आयोजित नेपाल चीन एक्स्पोको समापन समारोहमा ललितपुर महानगरपालिका भित्र व्यवस्थित प्रदर्शनी स्थलको स्थापनाको माग गरिएको छ ।

व्यापार र संस्कृतिको संगम थलोका रुपमा असोज १९ देखि २४ गतेसम्म आयोजित नेपाल चीन एक्स्पो –२०१८ समापन कार्यक्रममा प्रमुख अतिथि महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसामु वक्ताहरुले उक्त कुराको माग गरेका हुन ।

“१२औं शताब्दीमा नेपाल र चीनबीच जनस्तरको युगान्तकारी सम्बन्ध स्थापना गर्न कोशेढुंगाका रुपमा रहेका महान कलाकार अरनिकोको जन्मथलो ललितपुर महानगरभित्र स्थानीय हस्तकला लगायतका व्यवसायीलाई प्रवद्र्धन गर्न व्यवस्थित प्रदर्शनी स्थल निर्माण अत्यावश्यक भइसकेको छ,” मेलाका आयोजक अरनिको साँस्कृतिक तथा व्यवसायिक प्रवद्र्धन समाजका अध्यक्ष अजरमान जोशीले भने, “पाटन संग्रहालयसँगैको भण्डारखाल बगैंचालाई समथल र थप व्यवस्थित बनाई निरन्तर मेलाको आयोजना र व्यवसायिक पर्यटनको सम्भावनालाई उजागर गराउन पनि ललितपुरको ऐतिहासिक कला, संस्कृति, सम्पदाको जीवन्त संग्रहालयको रुपमा रहेको पाटन दरबार क्षेत्रलाई मुख्य केन्द्रबिन्दु बनाएर मेलाको आयोजना गरिएको हो ।”

पोखरा, काठमाडौको भृकुटीमण्डप लगायत अन्य स्थानको निरीक्षण पश्चात सहआयोजक चिनियाँ साँस्कृतिक आदानप्रदान केन्द्रका पदाधिकारीहरुले पनि पाटन दरवार क्षेत्रलाई रुचाउनाले पनि महानगरको सम्पदा क्षेत्रभित्र प्रदर्शनी स्थलको आवश्यकतालाई पुष्टी गरेको आयोजक संस्थाका महासचिव सुरेषमान महर्जनले बताए । समाजले अरनिकोको नाममा यातायात, संग्रहालय अन्य स्थानमा बन्न सक्छ भने नेपाली प्रस्तरकला, हस्तकला लगायतका विषयको अध्यापनलाई विज्ञान, समाजशास्त्र जस्तै शैक्षिक तहमा स्थापित गराई परम्परागत शीपलाई नवपुस्तामा हस्तान्तरण गराउने तर्फ पनि मेयरको ध्यानाकर्षण गराए ।

मेलाको आयोजनामा संस्थागत सहयोगका रुपमा स्टल राखेका ललितपुर हस्तकला संघ, धातुमूर्तीकला व्यवसायी समूह लगायतका संस्थाहरुले पनि नेपालका राष्ट्रिय विभूती अरनिकोबारे थप चर्चासंगै नेपाल र चीनबीच रहेको जनस्तरको सम्बन्ध विस्तारमा महत्वपूर्ण अर्थ रहेको बताउँदै यस प्रकारका मेलाको आयोजना दुबै देशमा हुनुपर्ने बताए । “पाटन दरवार क्षेत्र जस्तो ऐतिहासिक स्थानमा संस्थागत तहमै सहभागी गराएर चिनियाँ व्यवसायसँगै स्थानीय हस्तकला व्यवसायीहरुलाई थप प्रवद्र्धन गराउन यो मेला सफल भएको छ,” ललितपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष किरणभाई बज्राचार्यले भने, “अन्य विकल्प नभएसम्मकालागि कमसेकम भण्डारखाल बगैंचालाई व्यवस्थित गरेर निरन्तर राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका व्यवसायिक मेला आयोजना गर्ने वातावरण बनाउन महानगरपालिकाको ध्यानाकर्षण गराउन चाहन्छौं ।”

सो अवसरमा ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनले विगतदेखि नै संघले अन्तर्राष्ट्रिय मेला, ललितपुर महोत्सव लगायतका मेलाहरुको आयोजना गर्दै आएको स्मरण गर्दै पर्यटकीय गन्तव्यका रुपमा ललितपुरलाई स्थापित गर्न स्थानीय तहले पनि यस प्रकारका मेलाको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

आर्थिक कारोवारभन्दा माथि चीनले अघि सारेको बेल्ट एण्ड रोड ईनिसिएटिभकासाथै साझेदारी अर्थतन्त्र र कनेक्टीभिटीको अवधारणा नेपाली जनस्तरमा पुगोस भन्ने धारणा राख्ने मेलाका सह आयोजक चीन नेपाल साँस्कृतिक आदानप्रदान केन्द्र अध्यक्ष ली प्वोले भने, “ मेलाको आयोजनामार्फत हामीले नेपाली उत्पादनको विशेषता, बजारको माग र चिनियाँ उत्पादनहरुबीचको भिन्नतालाई बुझ्ने अवसर पाएका छौं । यस प्रकारको गतिविधिलाई आगामी दिनमा पनि निरन्तरता दिंदै एकअर्काबीच सम्बन्ध विस्तार गर्न हामी तत्पर रहेका छौं ।”

कार्यक्रममा ललितपुर महानगरपालिकाका उपमेयर गीता सत्याल, सहभागी स्टलका तर्फबाट एभरेष्ट क्राफ्टका प्रबन्धक, ललितपुर हस्तकला संघका अध्यक्ष श्याम तण्डुकार लगायतले आफ्ना धारणा व्यक्त गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि मेयर चिरिबाबु महर्जनले सबैको अनुरोध अनुरुप आगामी दिनमा यस प्रकारका मेलामा ललितपुर महानगरपालिकाको प्रत्यक्ष संलग्नता रहने प्रतिवद्धता जनाए । उनले विश्व क्राफ्ट काउन्सिलले ललितपुरलाई क्राफ्ट भिलेजका रुपमा घोषणा गर्ने सुनिश्चित भएको बताउँदै ललितपुर महानगरलाई पर्यटकीय गन्तव्यका रुपमा परिणत गर्ने कार्यमा सबैले सहकार्य गर्न आह्वान गरे ।

समापन कार्यक्रमका अवसरमा मेलाका सहभागी चिनियाँ र नेपाली व्यवसायी लगायत सहयोगी संघसंस्थाहरुलाई कदर पत्र र मायाको चिनो महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले प्रदान गरेका थिए । मेलामा सहभागीहरुको रुचीलाई ध्यानमा राख्दै मेलाको चिनियाँ स्टलहरुका लागि एक दिन थपिएको सो मेलाको अन्तिम दिन बिहिवार साँझ पनि उत्तिकै अवलोकनकर्ताहरुको भीड रहेको थियो ।

फोटो ः राजेश बज्राचार्य, कृतन मंगल जोशी

Leave a Reply

Your email address will not be published. Required fields are marked *