Arts and Crafts Culture & Heritage Education Feature News HIstory Literature Municipal news Nepalbhaasha section Provincial News Social

नेवाः एकेडेमीलाई जीवन्त बनाउन आवश्यक

ने.सं.११३८ अनलाथ्व द्वादशी । जेठ १२, २०७५ । मे २६, २०१८
राजेश बज्राचार्य, ललितपुर

किर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले नेवाः सभ्यता र प्राज्ञिक अध्ययनको विकासमा नेपालभाषा एकेडेमी केन्द्रका रुपमा रहेको जिकिर गर्दै सो एकेडेमीलाई जीवन्त बनाउन आवश्यक रहेको बताएका छन ।

शनिवार नेपालभाषा एकेडेमीद्वारा आयोजित डा. साफल्य अमात्यको बागमती सभ्यता, उद्भव र विकास नामक अनुसन्धनात्मक पुस्तक र एकेडेमीको मुखपत्र नेवाः प्रज्ञाको बिमोचन कार्यक्रममा उनले सो कुरामा जोड दिनुभएको हो । एकेडेमी स्थापनार्थ जग्गा मिलाउने समयदेखि आफू शुभचिन्तक रहेको बताउँदै किर्तिपुरका कलाकारहरुको पनि एकेडेमीमा आवद्धता बढाउनुपर्ने उनले धारणा राखेका हुन ।

‘एकेडेमी नजिकै रहेको चोकमा मासिक साँस्कृतिक कार्यक्रमको आयोजनामार्फत नेवाः दाफा भजन लगायत यहाँका सम्पदा र संस्कृतिप्रेमीहरुमा थप जागरुकता ल्याउन सकिन्छ, सहयोग गर्न म तयार छु ।’ उनले भने । प्राज्ञिक केन्द्रका रुपमा स्थापित एकेडेमीमा चहलपहल नपुगेको गुनासो गर्दै उनले सो स्थानको व्यवस्थापनमा कर्मचारी दरबन्दीसहित नगरपालिकाको साँस्कृतिक शाखालाई समायोजन गर्न सकिने बताए ।

‘हामीमा प्रतिपक्षको धारणालाई हटाउन आवश्यक छ, नेवाः जनप्रतिनिधिका रुपमा सबैलाई सफल बनाउनु नै नेवाः पहिचानलाई स्थापित गर्नु हो भन्ने भावनाकासाथ अघि बढ्यौं भने धेरै उपलब्धीको सम्भावना रहन्छ ।’ उनले भने ।

नेपालभाषा एकेडेमीका प्राज्ञ डा. प्रेमशान्ति तुलाधरले प्रकाशित पुस्तकमाथि समिक्षा प्रस्तुत गर्नुभएको सो कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यले नेवाः समुदाय सदैव प्रतिरक्षात्मक धारणाले कार्य गर्दै आएको बताए ।

मेयर शाक्यले नेपाल सम्वतले राष्ट्रिय सम्वतको मान्यता पाइसकेको अवस्था र स्थायी सरकारका रुपमा स्थानीय सरकार पनि रहेको अवस्थालाई सदुपयोग गर्न आह्वान गरे । नेवाः सभ्यता, सम्पदा संरक्षण र प्रवद्र्धनका कार्यलाई अब आर्थिक विकासमा रुपान्तरित गर्नुपर्ने बेला आएको भन्दै उनले कार्यक्रम भन्दा नीतिगत अवधारणा विकासमा हस्तक्षेपकारी भूमिकासहित स्थानीय तहलाई साथ दिन अनुरोध गरे । ‘दीगो सम्पदा संरक्षणकालागि समय सुहाउँदो परिमार्जन आवश्यक रहेको आजको अवस्थालाई बुझेर हरेक टोलटोलमा रहेका अनुसन्धानत्मक आधारका हराउँदो मूर्त अमूर्त सम्पदा जोगाउन स्थानीय सरकार तयार छ ।’ उनले भने ।

कार्यक्रममा नेपालभाषा एकेडेमीका भाइस चान्सलर यज्ञरत्न धाख्वाले नेवाः समुदायलाई भाषिक रुपमै सबलीकरण गर्न माध्यमिक तहसम्म मातृभाषा शिक्षालाई स्थापित गर्नुपर्नेमा जोड दिए । संघीयता र समावेशीताको अभ्यास गर्ने समय रहेको जनाउँदै उनले मातृभाषा पाठ्यक्रम तयारीमा एकेडेमीको भूमिका रहन सक्ने औंल्याए । यसकालागि राज्य, प्रादेशिक र कमसेकम स्थानीय तहबाट नीतिगत रुपमा यसलाई सम्बोधित गराइ शिक्षाविद, भाषा साहित्य लगायत विज्ञहरुलाई व्यवसायिक रुपमा संलग्न गराउने तर्फ सबैको ध्यान जान आवश्यक रहेको बताए । एकेडेमीको मुखपत्रका सम्पादक उलने अनुसन्धनात्मक लेखहरु संकलनमा अझै आवश्यक सक्रियता कम रहेको जिकिर गरे ।

कार्यक्रममा वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीले विश्वभरका सभ्यता नदी वरपरबाट शुरु भएको सन्दर्भ जोड्दै नेवाः सभ्यता बागमती नदीसँग जोडिएको उल्लेख गर्दै सो इतिहासलाई अनुसन्धानात्मक पुस्तकको रुप दिने डा. साफल्य अमात्यको प्रशंसा गर्नुभयो ।

नेवाः भाषिक जागरण इतिहासमा अतुलनीय योगदान रहेका महाकवि सिद्धिदासका सन्तति रहनु भएका डा. अमात्यले नेपालको पहिलो साँस्कृतिक नीति युनेस्कोकालागि तयार गरिदिएको स्मरण गराए । उक्त नीति व्यवहारमा उतार्न उनले सबैको ध्यानाकर्षण गर्नुभयो ।


संस्कृति र सम्पदाको जगेर्नामा सरकारलाई मात्र दोष दिएर बस्न नमिल्ने बताउँदै शताब्दी पुरुषले आफूमा रहेको भावनालाई जुझारुपनमा ढाल्दै लग्ने संस्कार आवश्यक रहेकोमा जोड दिंदै नेवाः पुस्तकहरु संग्रह गर्न आह्वान गर्नुभयो ।

‘डा. अमात्यका भाई योगेश्वर अमात्यले सबै आफ्नै खर्च हालेर बुबाका नाममा ईन्द्र मालीबाट सम्पादित महत्वपूर्ण ‘नेवाः शब्दकोष’ तयार गरिदिएका छन, त्यसलाई संग्रहित गरिदिनुस ।’ उनले  भने, ‘ज्यापू एकेडेमीको उदाहरण हेर्नुस, त्यहाँ भवन भन्दा हाम्रा अमूर्त सम्पदा र बागमती सभ्यतालाई झल्काउने गरी संग्रहालय बनाउन अनुरोधलाई साकार पारेर सञ्चालन पछि राज्य आफैंले आएर मन्त्रालयका तर्फबाट ३० लाख सहयोग गर्न बाध्य भए ।’

एकेडेमीका शशिकला मानन्धरले सञ्चालन, सचिव मल्ल के. सुन्दरले स्वागत मन्तव्य र चान्सलर चित्त रञ्जन नेपालीले धन्यवाद ज्ञापन गनुभएको सो कार्यक्रममा नेवाः समुदायका भाषिक अभियन्ता, साहित्यकार, अनुसन्धानकर्ता लगायत बिद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *