पाटन संग्रहालयको रजत वर्ष प्रवेश – पूरा होला त शताब्दी पुरुषको पुरातात्विक बगैंचाको सपना ?


ने. सं. ११४२ कछलाथ्व एकादशी, सोमवाः । २०७८ कार्तिक २९ । नोभेम्वर १५, २०२१
ललितपुर

पाटन संग्रहालय ब्यवस्थापन समितिको २४औं बार्षिकोत्सवमा प्रमुख अतिथी वांगमय शताब्दी पुरुष एवं संस्कृतिविद डा. सत्यमोहन जोशीले संग्रहालय मातहतको भण्डा क्यबःलाई “Archeological Garden” (पुरातात्विक बगैंचा)का रुपमा स्थापित गर्ने आफ्नो सपना अझै अधुरो रहेको बताएका छन ।

यस अगाडि २१औं वार्षिकोत्सवको अवसरमा बताएका कुरा पुन:स्मरण गर्दै आफू पुरातत्व विभागको निर्देशक रहँदा यत्रतत्र क्षयीकरण हुँदै गएका र विभिन्न उत्खननबाट उपलब्ध प्राचीन मूर्ति, शिलालेख जस्ता सामग्रीहरुको संग्रहित हुने स्थानका रुपमा पाटन दरबार क्षेत्रभित्रको भण्डाः क्यबः (भण्डारखालको बगैंचा)को कल्पना गरेको दोहोर्याएका हुन ।

“तत्कालिन अवस्थामा बृगेडिएर जनरलको अधीनमा रहेको तरकारी खेती हुने क्षेत्र लगायत पाटन दरवार क्षेत्रमा थालिएको त्यो पहल अहिले स्थानिय सरकारको प्राप्तिपछी पूरा गरिने आश्वासन पाएको थिएँ, अहिले बिर्सिएको भान हुन्छ । अझै ढीला भएको छैन,” उनले भने, “विश्व एम्पिथिएटरमा बिलाउन थालेको बियोगान्त नाटकमा देशकै नाम उच्च राख्न सक्ने ३८० वर्ष पुरानो बियोगान्त ब्यालेट “कार्तिक नाच” जस्तो अमूर्त कलाको अध्ययनसँगै ऐतिहासिक अभिलेख, प्रस्तर मूर्ती आदिको संरक्षण समेत हुने गरि पुरातात्विक बगैंचालाई मूर्त रूप दिन सकोस । पाटन संग्राहलय ब्यवस्थापन समितिलाई शुभकामना छ ।”

संस्कृती, पर्यटन तथा नागरिक उद्द्ययन मन्त्रालयका सचिव एवं पाटन संग्रहालय बिकास समितिका अध्यक्ष यादव प्रसाद कोइरालाको सभापतित्वमा सम्पन्न २४औं बार्षिकोत्सवका अवसरमा पाटन संग्राहलयले प्रस्तर मूर्तीहरुको अस्थायी प्रदर्शनीको उदघाटनसँगै संग्रहालयको महत्व र समुदायको सम्बन्धका आयामबारे लेख संग्रहसहितको चौंथौं जर्नल लोकार्पण गरेका छन ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सचिव यादवज्युले शताब्दी पुरुषका प्रस्ताव कार्यान्वयनतर्फ प्रतिवद्ध रहेको जनाउनुभयो । संग्रहालयलाई दिगो तथा थप आत्मनिर्भर बनाउन संविधानमा ब्यवस्था भए अनुरूप स्थानिय तहमा संग्रहालयको अनिवार्यतालाई ब्यवहारिक बनाउंदै महानगरमा यसको अपनत्व र ब्यवस्थापन बढाउन पनि आफुले गृहकार्य थालेको उनको भनाई थियो ।

पाटन संग्रहालय विकास समितिका सदस्य सचिव सुरेशमान लाखेले श्री मणि केशवनारायणको मन्दिरको विधिवत् पूजापाठ गरिनुका साथै सातौं शताब्दीका महत्वपूर्ण प्रस्तरका मूर्तिहरुलाई खुल्ला रुपमा प्रदर्शनीको शुरुवात भएको जानकारी दिनुभयो । “वार्षिकोत्सवकै अवसर पारेर करीव ४ दशक देखि बन्द रहेको मणिकेशव नारायण चोकको मूल मन्दिरमा अर्को ब्यवस्था नभएसम्म संग्रहालयकै ब्यवस्थापनमा दैनिक नित्य पूजाको पनि थालनी गरेका छौं ।” उनले भने ।

पाटन संग्रहालयभित्र रहेको सो मन्दिरमा ‘मणि छेँ ब्राम्हण समूह’को सहयोगमा हरिबोधिनी एकादशीको दिन क्षमा पूजा र विष्णु रुदीपाठसहित दैनिक नित्य पूजाको प्रारम्भ भएको हो । पुजारी माधवश्याम शर्माका अनुसार मन्दिरको आयस्ता घट्दै गएपछि हरेक दिन पूजा चलाउन खर्च नभएकाले रोकिएको सुनिन्छ । सो एकतले गुम्बज शैलीमा निर्माण भएको मन्दिर पूजा गरिनाका साथै सर्वसाधारका लागि सङ्ग्रहालय खुल्ने समय खुला भएको छ ।
 ७औं शताब्दीको नरेन्द्रदेवको अभिलेख समेत रहेको सो चोकमा १०औं शताब्दीको मानिने केशव नारायणको मूर्ती अवस्थित भएकाले यसलाई मणिकेशव पनि भनिन्छ । सो मल्लकालीन मन्दिर विसं १९९० को भूकम्पले भत्किएपछि मर्मत र सम्भार गरी राखिएको हाे । यस मन्दिरमा १५ औं शताब्दीको नारायणको मूर्ति छ । सो नारायणको दायाँ लक्ष्मी र गरुडलाई समेत दर्शन गर्न पाइनेछ ।    

सदस्य सचिव सुरेशमान लाखेका अनुसार प्रस्तर र ढुंगाका मूर्तीहरुको अस्थायी प्रदर्शनीमा अमेरिकाबाट फिर्ता पाएका मूर्ति पनि राखिएको छ भने आउँदो मंसीर १८ गते उक्त मूर्तीको मूलस्थान पटकोस्थित मन्दिरमा सामुदायिक सहभागिता र नित्यपूजा थालनी हुनेगरि पुनर्स्थापित गर्ने योजना पनि रहेको छ ।

फोटो सौजन्य: प्रशान्त श्रेष्ठ, राजेश बज्राचार्य, सुरेषमान लाखे ४ वर्ष अगाडि के भनेका थिए शताब्दीपुरुष जोशीले? यो लिंक्मा हेनुस:
https://www.facebook.com/942890305824464/posts/1962178523895632/
https://www.facebook.com/RTIRajesh/videos/10161014584995501/UzpfSTYwNTQ5NTUwMDpWSzoyMjUwNTk5NjYxNjU5MjQz/?multi_permalinks=2250599661659243&notif_id=1542103773133069&notif_t=feedback_reaction_generic

Spread the love

Related posts

Leave a Comment