Arts and Crafts Business and CSR Culture & Heritage Feature News Municipal news National Social

पाटनको भिमसेन मन्दिर २ वर्षभित्र पुननिर्माण हुने

ने.सं. ११३८ यँलाथ्व तृतीया । बुधवार, २०७५ भाद्र २७ । सेप्टेम्वर १२, २०१८
राजेश बज्राचार्य, ललितपुर

भूकम्पपछि टेकोका भरमा ठडिरहेको व्यापारीहरुको आराध्य देवताका रुपमा चर्चित पाटनको भिमसेन मन्दिर अबको २ वर्षभित्र पुननिर्माण हुने भएको छ ।

विश्वसम्पदा सूचीकृत सो मन्दिरको पुनःनिर्माण सरकारीस्तरबाट अझै सम्म पनि नभएपछि स्थानीयहरुले पुननिर्माण थाल्न समिति गठन गर्दै गत सोमवार पत्रकार सम्मेलन र मंगलवार क्षमा पूजाको आयोजना गरेका छन । समितिले मन्दिर जुनसुकै बेला भत्किने सक्ने खतरा रहेकोले हालै सो मन्दिर वरपरका बाटो फलामको बार राखेर बन्द गरिसकेका छन ।

समितिमा विगतदेखि पुननिर्माणमा चासो लिंदै आएको ललितपुर उद्योग बाणिज्य संघको संयोजकत्वमा स्थानीय टोल सुधार, विभिन्न जातिय संघसंस्था तथा व्यवसायिक संगठनहरुसमेत समेटिएको छ ।

समितिमा ललितपुर बाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जन संयोजक, संघका महासचिव मनोज बहादुर न्याछ्यों सदस्य सचिव, मंगल टोल सुधार समितिका अध्यक्ष किरणमान प्रधान उपाध्यक्ष, ललितपुर महानगरपालिका वडा – १२ र १६ का वडाअध्यक्षहरु नारायणलाल अवाले, निर्मलरत्न शाक्य, ज्यापू समाजका अध्यक्ष प्रेम महर्जन, ताम्रकार समाजका अध्यक्ष रविन्द्रराज ताम्रकारकासाथै बौद्ध विहार संघ, स्यःस्यः समाज, बाराही समाज र तण्डुकार समाजका प्रतिनिधिहरु, ललितपुरका व्यवसायिक संगठनका तर्फबाट सुनचाँदी व्यवसायी संघ, हस्तकला संघ, खाद्य व्यापार संघ र ललितपुरका विकासकालागि समाज पनि सदस्यका रुपमा रहेका छन । त्यसैगरि सल्लाहकारहरुमा महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, केपिभिटीका कार्यकारी निर्देशक रोहित रञ्जित, दिलेन्द्र राज श्रेष्ठ र संघका पूर्व अध्यक्ष अजरमान जोशी र निवर्तमान अध्यक्ष सविन श्रेष्ठ रहनुभएको छ ।

भूकम्पले क्षतिग्रस्त पाटनका अन्य पाँच सम्पदा कृष्णमन्दिर, विश्वनाथ मन्दिर र चारनारायण मन्दिर पुनःनिर्माणमा सक्रिय काठमाडौं उपत्यका संरक्षण कोष “केभिपिटी”का डा रोहित रञ्जितकारको प्राविधिक डिजाईनमा नै भिमसेन मन्दिरको पुनः निर्माण हुने बताइएको छ । उनैले प्रस्तावित गरेको प्रारम्भिक चार करोड ८० लाख रुपैयाँ प्रारम्भिक आकंलनको लागतको आधार बनाई समितिले मन्दिर पुनःनिर्माणमा लाग्ने खर्चको विवरण पुरात्तत्व विभागमा पठाइसकेको बुझिएको छ ।

“पुननिर्माण थालनी गर्न बीउ पुँजीका रुपमा संघले १० लाख रुपैया राखिसकेका छौं,” समितिका संयोजक अध्यक्ष कृष्णलाल महर्जनले बताए, “मन्दिर पुनःनिर्माणमा लाग्ने सम्पूर्ण खर्च ललितपुर महानगरपालिका, स्थानीय व्यवसायी र दाताहरुको सहयोगमा उद्योग वाणिज्य संघले गर्ने निर्णय गरेर समितिले पुनःनिर्माणका लागि धार्मिक विधिपूर्वक क्षमापुजा पनि गरिसकेका छौं । साइत निकालेर केही दिनमै मन्दिर भत्काउन शुरु गर्ने छौं ।’

भारत सरकारको सहयोगमा ढीलाई हुने
यस अघि ललितपुर विकासकालागि समाजको पहलमा पुरातत्व विभागले भिमसेन मन्दिरको पुननिर्माणमा भारतीय राजदूतावासको सहयोग प्राप्त हुने चर्चा रहेको थियो । चर्चा चलेपनि काम अघि बढ्न नसक्नुको कारणबारे प्रमुख महर्जनले भन्नुभयो, “विभागले एउटा लागत इष्टिमेटसहित डिपीआर पठाएपनि पुनःनिर्माणको विषयमा नेपाल सरकार र भारत सरकारबीच गम्भीर रुपमा कुराकानी भइरहेको देखिएन ।”

विभागले परराष्ट्र मन्त्रालय हँुदै भारतीय दुतावासमा पठाएको पुनःनिर्माणको डिपीआर भारतका पुरात्तत्वविद्हरुले नपत्याएको पनि प्रमुख महर्जनको भनाई रहेको छ । डिपीआरमा लेखिएका कयौं विषयहरु सुधार गर्नुपर्ने धारणा राखेको भारतीय पुरात्तत्वविद्हरुको भनाईलाई उधृत गर्दै उहाँले भन्नुभयो ।

भारतीय राजदूतावासमा भारतीय अधिकारीहरुले भनेको कुरोलाई उल्लेख गर्दै प्रमुख महर्जनले भारतीय सहयोगमै पुनःनिर्माण हुने भएमा पनि सबै प्रक्रिया पु¥याउँदासम्म डेढ वर्ष वर्ष अघि पुनःनिर्माण शुरु हुने अवस्था नभएको बताए । यथासक्य चाँडो पुननिर्माणको आवश्यकतालाई बुझेर स्थानीयलाई जिम्मा दिनु उचित देखिएको उनको धारणा थियो ।

भूकम्प गएको डेढ वर्षपछि नै पुनःनिर्माणको जिम्मा ललितपुर उद्योग वाणिज्य संघलाई दिनकालागि पुरात्तत्व विभागलाई घचघच्याउँदै आएको संघका निवर्तमान अध्यक्ष सविन श्रेष्ठले बताए । आफ्नो कार्यकालमै संघको अग्रसरतामा पुरात्तत्व विभागसंग पनि अनौपचारिक रुपमा पटक पटक छलफल गरिएको बताउँदे उनले सो विषयमा स्थानीयवासिन्दा, टोल सुधार समिति र जातीय समाज लगायत सरोकारवालाहरुसंग पटक पटक भेला आयोजना गरेको स्मरण गरे ।

“अनौपचारिक छलफलमा पुनःनिर्माण जिम्मा संघलाई दिन विभाग सकारात्मक भएलगतै संघले पुनःनिर्माणको जिम्मा दिन औपचारिक पत्र विभागमा बुझाएको थियो । तर औपचारिक प्रक्रिया पुरा गर्दासम्म भने विभागले मन्दिरको पुनःनिर्माणको जिम्मा भारतीय दूतावासलाई दिने निर्णय गरिसकेको रहेछ ।’ विभाग, दुतावास हुँदै पुनःनिर्माणको चर्चा चलेपनि काम अघि बढ्न नसक्नुको कारण बारे संघका निर्वतमान अध्यक्ष श्रेष्ठले भने ।

“सो विषयमा संघले महानगरपालिका, सांसद्हरुसंग पनि कुरो राखेका थियौं, सबैतिरबाट सकारात्मक जवाफ पाएपछि महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनसहित संघले भारतीय दुतावासका पदाधिकारीहरुलाई भेटेर पुनःनिर्माणको जिम्मा स्थानीयले लिन तयार रहेको कुरो राखेका थियौं ।” समितिका संयोजक अध्यक्ष महर्जनले बताए । स्थानीयले पुनःनिर्माण गरेमा भारतीय सरकारलाई कुनै आपत्ति नहुने जवाफ दुतावासले दिएपछि महानगरपालिकाले मन्दिरको पुनःनिर्माण स्थानीयले गर्ने आशय पत्र भारतीय दुतावासमा बुझाएको थियो ।

सोमबार पत्रकार भेटघाटको आयोजना गरी समितिले मन्दिर पुनःनिर्माण शुरु गर्ने जानकारी दिएको भएपनि हालसम्म विभागले पुनःनिर्माणका लागि औपचारिक रुपमा स्वीकृति नदिएको जानकारी गराइएको छ । समितिले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलाई भेटेर पनि पुनःनिर्माणको जिम्मा दिन आग्रह गरिसकेको छ । पुनःनिर्माण गर्ने कुराप्रति भारतीय दुतावासदेखि सरकारी निकाय पनि सकारात्मक जवाफ पाएपछि समितिले पुनःनिर्माण शुरु गर्न लागेको हो ।

पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालका अनुसार भने स्थानीयलाई पुनःनिर्माणको जिम्मा लगाउने विषयमा परराष्ट्र मन्त्रालय मार्फत भारतीय दुतावासलाई विभागले पत्र पठाइसकेको तर दुतावासले अहिलेसम्म औपचारिक जवाफ पठाएको छैन ।

मन्दिर पुनःनिर्माणमा सार्वजनिक खरिद ऐन बाधक हुनसक्ने
भूकम्पले क्षतिग्रस्त मन्दिर पुनःनिर्माणमा सार्वजनिक खरिद ऐने आकर्षित हुन नहुने विषयमा लबिङ गर्दै आउनुभएका महानगरपालिका प्रमुख महर्जनले मन्दिर पुनःनिर्माणको जिम्मा स्थानीयलाई नै दिनुपर्नेमा जोड दिएका छन ।

“ऐन अनुसार कुनै पनि सरकारी कार्य बोलपत्र आहवान गरेर ठेकदार मार्फत गराउनुपर्दछ । तर सडक, पुल, भवन निर्माण गर्नेले सम्पदाका मन्दिर बनाउने ठेक्का लिएर राम्ररी काम गर्न सक्ला त ?” प्रमुख महर्जनले औल्याए – “मन्दिर पुनःनिर्माणमा प्रयोग हुने परम्परागत मां अप्पा, दाची अप्पा, काठ लगायतका निर्माण सामाग्रीबारे ज्ञान सडक बनाउने ठेकदारसँग होला त? यस्तो विज्ञता चाहिने कार्यमा व्यवसायिक ठेकेदारलाई बोलपत्रका आधारमा न्यूनतम मूल्यमा मन्दिर बनाउन दिंदा ठिक होला त ?”

बोलपत्र आह्वान गरी भइरहेको पुनःनिर्माण कार्य सुस्त भएको तथ्यका उदाहरणका रुपमा बुगंमतिस्थित मच्छिन्द्रनाथको मन्दिरको पुनःनिर्माण कार्य गुणस्तर बारे श्रीलंका सरकारले समेत प्रश्न उठाइरहेको र सम्बन्धित दाताहरुको आलोचना खप्नुपर्ने अवस्थालाई ईंगित गर्दै प्रमुख महर्जनले स्थानीयहरुको जिम्मामा विज्ञहरुको प्रत्यक्ष निगरानीमा सम्पदाहरुको पुननिर्माणमा सार्वजनिक खरिद ऐन बाधक हुन दिन नहुनेमा जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *