पुस ७, ललितपुर
राजेश बज्राचार्य
पाटनको मंगलबजारस्थित भीमसेन मन्दिर अगाडी लिच्छवीकालिन ऐतिहासिक शिलापत्र भेटिएको छ । महानगरपालिकाले दरवार क्षेत्रको मूल बाटोमुनी चरणबद्ध रूपम ढल निकासको कार्य गर्नेक्रममा भिमसेन मन्दिर अगाडीको क्षेत्रमा पौष ५ गते करिब १० फिट मुनि उक्त शिलापत्र फेला पारिएको हो ।
फोटो श्रोत: शिवेश शर्मा, पाटन
यस अघि २०७८ भाद्र २९ गते पनि मध्यकालिन शिलालेख भेट्टिएको पाईएको छ । दोश्रोपटक फेला परेको यस शिलालेख सो उत्खखन टोलीमा रहेका पुरातत्त्वविद प्रकाश दर्नालबाट प्राप्त सूचनाको आधार र अनुरोधमा लिपिबिज्ञ तथा विभागका पूर्व उपसचिव श्यामसुन्दर राजवंशीले प्रारम्भिक अध्ययन गरेका हुन ।
पाटन दरवार क्षेत्रको हालको स्वरूप निर्माणमा मल्लकालिन राजाहरुको योगदान छ । शिलापत्र भेट्टिएको उक्त स्थान अगाडीको भिमसेन मन्दिर राजा सिद्धिनरसिं मल्लको पालामा बनेको हो । सो ही मन्दिर अघिल्तिर लिच्छवी राजा बृषदेवले निर्माण गरेको स्वकातिरक बिहारसमेतको उल्लेख रहेको छैंठौं शताब्दी (बि.सं. ६०५-६२१) अंशुवर्माकालिन समयको अभिलेख प्राप्तिले पाटन दरवार क्षेत्रको प्राचिनता थप पुष्टी हुनेमा बिश्वास गर्न सकिन्छ ।
हाल पुरातत्व विभागको संरक्षणमा रहेको उक्त शिलालेखको प्रारम्भिक अध्ययनमा १५ पङ्क्तिको अभिलेखमा संवत् ५३६ जेष्ठ उल्लेख पाइएको लिपिविज्ञ राजवंशीले बताउनुभएको छ । उनका अनुसार शिलालेखमा अंकित उक्त संवत् शक संवत रहेको आधारमा यसमा १३५ वर्ष जोडेर हुने बिक्रम सम्बत ६७१ मा त्यसलाई स्थापित गरेको बुझिन्छ ।
“लिच्छवि लिपि र प्रौढ संस्कृत भाषामा कुँदिएको करीव ६ फीटको शिलालेखको शिरोभागमा दायाँबायाँ श्रावक मृग र बीचमा गुडेको धर्मचक्र चिह्न अंकित छ भने अभिलेख कुँदिएको भाग ५२ सेमी चौडाइ र ८५ सेमी लम्बाई रहेको छ ।” उहाँले भन्नुभयो, ” शिलापत्रमा सिमेन्टको मसलाका कारण नराम्रो धब्बा रहेकाले अभिलेखलाई अझै राम्रोसँग सफा गरि थप गहन अध्ययन र अनुसन्धानको आवश्यकता छ । नेपालको प्राचीन इतिहासका धेरै विषय आएकै छैनन्। यस शिलालेखले नयाँ तथ्य थप्न सक्छ।”
फोटो श्रोत: शिवेश शर्मा, पाटन
३२ वर्षअघि गोकर्णको बालुवा गाउँमा पनि संवत् ५३६ द्वितीय पुसको अभिलेख भेटिएको थियो। यस शिलालेखमा भने संवत् ५३६ जेष्ठ उल्लेख छ। यी दुई शिलालेखलाई दाँजेर त्यस वेलाका धेरै ऐतिहासिक कुरा पत्ता लगाउन सकिने लिपिविज्ञ राजवंशीको धारणा रहेको छ।
यस शिलालेखलाई राम्रोसँग सफा गरी थप अनुसन्धान गर्ने बताउँदै पुरातत्त्व विभागका निर्देशक दामोदर गौतम भन्छन्, “हामी थप सुरक्षाको लागि सङ्ग्रहालयमा राखेर शिलालेखले भनेका तत्कालीन समयको सामाजिक, आर्थिक, धार्मिक, सांस्कृतिक, वास्तुकला लगायत विषयमा अवगत गराउँछौं।”
शिलालेख र इतिहासको संरक्षण
समयको विभिन्न कालखण्डमा बाटो बनाउँदै जाँदा बाटो माथि आउँदै गर्दा यसप्रकारका महत्वपूर्ण शिलापत्र पुरिएको हुनसक्ने अनुमान कतिपयले गर्दछन । त्यस्तै नेपालमा हुने भुकम्प जस्ता विभिन्न प्राकृतिक बिपत्तिका कारण पनि इतिहासका साक्षीका रूपमा रहने यस्ता शिला, ताम्रपत्र लगायत थुप्रै अभिलेख ओझेलमा रहेको पाईन्छ भने कतिपय अवस्थामा आधुनिकताका नाममा सामाजिक ब्यस्तता र राज्यबाटै पनि महत्वबोधको अभावले अभिलेखहरु मासिंदै गएको उदाहरण पाईन्छन ।
आजसम्म २५० भन्दा बढी लिच्छिविकालीन अभिलेख सङ्कलित भइसकेका छन् । पुस ५ गते प्राप्त यस शिलालेखले अर्को एउटा इतिहास थपिनेमा विश्वस्त हुन सक्ने देखिएको छ। सो अभिलेखमा महासामन्त अंशुवर्मा (बि.सं. ६६२-६७८ को कार्यकाल) को नाम, राजा वृषदेव(ले) कारितक (बनाएको) विहारको उल्लेख तथा दूतक कुमारामात्य चन्द्रजीवको नाम समेत प्रष्ट हुनु अहिलेसम्म पाइएको रोचक तथ्य हो ।
केही इतिहासविदका अनुसार नेपालको इतिहासमा सोमवंशी राज्यकालको अन्त्यतिर (इस्वी तेश्रो शताब्दी प्रारम्भतिर) निसन्तान राजाले अंगालेका लिच्छवी कुलका राजकुमार कालान्तरमा राजा भए । यीनै प्रारम्भिक लिच्छवी राजाहरुमध्ये मानदेव भन्दा अगाडि बिक्रम सम्बत ४५७ आसपास बौद्ध धर्ममा बिशेष श्रद्धा रहेका मानिने लिच्छवी राजा हुन बृषदेव । उनका पालामा बौद्ध धर्मावलम्बीहरु र बिहारहरुको बिकास भएको अनुमानसँग मिल्दो तथ्यलाई पुष्टि गर्न पनि सम्भवत: पाटनमा प्राप्त यस शिलालेखले टेवा मिल्न सक्छ ।
पाटनका सन्दर्भमा पनि मानदेवका नातिनीको कृति मंग:हिटीको अभिलेखमा उनकाबारे अभिब्यक्त दार्शनिक पाटो, पाटनको मानमानेश्वरी र खडग: जात्राको जीवन्तता, पाटनमै मानदेव संस्कारित चक्रबिहार रहनु, अंशुवर्माको कैलाशकुट भवन अनि उनैको कम्मरमा बुद्ध अंकित पेटी रहेको चर्चा, हालको दरवार क्षेत्र आसपाका बिहारहरुका रोचक इतिहास र मल्लकालिन दरवार स्थापना समयमा स्थानान्तरण गरिएको हटको बिहार (रत्नाकर महाबिहार – ह:बहा)को ईतिहास स्मरणमा बार्षिक रूपमा गुँला महिनामा प्रदर्शन गरिने बुद्ध मूर्तीले पनि ललितपुरमा बौद्ध दर्शन र धर्मावलम्वीहरुको ईतिहास पनि उजागर हुने पर्खाईमा रहेको देखिन्छ ।
जे होस, यस खालका खोजहरुमा जनचासोले नेपालको स्वर्णयुगका गौरवमय सम्बृद्धि इतिहासका पानाहरु खुल्दै जाने अनि यस्ता अभिलेखहरुलाई चीरकालसम्म अजय बनाउन आजको युगमा सामाजिक संजालको प्रभावसँगै बढ्दो युवा साँस्कृतिक जागरणले थप टेवा हुने बिश्वास गर्न सकिन्छ ।
मंग:हिटी र अभिलेख रहेको स्थानको फोटो – शिवेश शर्मा (माथी), अभिलेख व्याख्या : धनबज्र बज्राचार्य, लिच्छवीकालिन अभिलेख संग्रह पृष्ठ २०९-२१० को फोटो र मल्लकालिन समयमा स्थानान्तरण गरिएको हालको रत्नाकर महाबिहारको फोटो ।