बहस ठिक बिद्वेष बेठिक

राजेश बज्राचार्य (नुग: स:)

संस्किति सम्पदाको संरक्षणका सवालमा बिहिबार जुन अप्रिय घटना घट्न गयो, त्यसबारे सर्वत्र चर्चा चलेकै छ । यसमा उत्पन्न अराजकता र निषेधाज्ञा तोडिएको भनि राज्यको प्रशासन कानूनी प्रकृयाकालागि केही ब्यक्तिहरु हिरासतमा छन । सो बिहान जात्रा ब्यवस्थापनको निर्णायक कदमकालागि दबाब समुह भनेर आह्वान गरेका स्थानीय संस्कृतिप्रेमीसंगै उपत्यकाका संस्कृति संचारकर्मी लगायत अभियन्ताहरु पनि गिराफ्तार भएका छन ।

यसबारे थुप्रै प्रकारका बहसहरु चलेका छन तर मूलत रथ निर्माण तथा रथारोहण सम्पन्न भैसकेको र मलमास पछि दशैको समय हुने हुंदाको अवस्थामा कोभिड महामारीबीच पनि सांकेतिक वा सुरक्षित रूपमा रथयात्रा गर्नुपर्ने जनचाहना थियो भन्ने कुरा स्पष्ट हुंदै आएको छ ।

जात्रा संचालनको सवालमा राज्यका सम्बन्धित निकायहरुबाट स्पष्ट निर्णय नहुंदा निम्तिएको भिडन्तको अवस्थापछि सांकेतिक रूपमा जात्रा संचालन गर्ने कार्यक्रम सार्वजनिक हुंदा जनता चित्त बुझाउन ढीलो भैसकेको देखिन्छ जुन सामजिक संजालमा अझै पनि पोखिंदै छन । तर चुरो कुरा भने उक्त घटनाको जिम्मेवार देखिएको आरोपमा हिरासतमा रहेका संस्कृतिप्रेमीहरुलाई “हाम्रा मान्छे होइनन” भनि एक्लाईएको खण्डमा भने हालको बहस दिर्घकालिन बिद्वेषको रूपमा परिणत हुन सक्नेमा सबैको ध्यान जान आवश्यक छ । सामाजिक संजालमा जुन गतिमा बहस चलेको छ सो अनुरूप तत्काल सम्बन्धित स्थानिय निकाय, प्रशासन र जात्रा सरोकारवालाको समितिले परिस्थिति प्रतिकूल हुन गएको कारणहरुप्रति संवेदनशील भइ पक्राउ परेका ब्यक्तिहरु सबै जात्रा र संस्कृतिप्रेमी नै हुन भनि आत्मसात गर्नसक्नुपर्छ । इतिहासमा हामी नेपाली कहिल्यै पराजित भएनौं तर बिभिन्न तहका राज्य संचालन गर्नेहरुमा आएको बिचलन, दुर्ब्यवहार र आफै मात्र सर्वस्व हुन खोज्दाको इतिहासले भने आन्तरिक रूपमा बिद्वेष उत्पन्न भै सबैले स्वर्णयुगका उपलब्धि गुमाउनु नै परेको छ ।

ललितपुरकै कुरा गर्दा जनताको संस्कृति, आस्था र राज्यबीचको सम्बन्ध परस्पर हुँदा पाटनका जनताले सिद्धिनरसिंह मल्ललाई देवताझै मानेका छन भने आफैले शासन गर्न निम्त्याएका राजाहरुको दुर्ब्यवहार र असमर्थताका कारण पदच्युत पनि गराएका छन । त्यसैगरि राज्यसत्ता कम्युनिस्टको हातमा वा धर्म संस्कृतिबिरोधि भएकाले यो अवस्था आएको पनि भन्न थालेका छन । यसमा सिमित सत्यसापेक्षता होला तर यो बेला कुन धर्म सम्प्रदाय ठुलो वा शाषण, दल राम्रो भन्ने बुद्धिबिलासिता र अनुमानित तर्क गर्ने भनेको बिद्वेष फैलाउनु मात्र सहायक हुनसक्छ ।

माथि उल्लेखित कुरालाई पाटनमै जन्मेर नेपाल कम्युनिस्ट पार्टीमा एतिहासिक योगदान दिएका क. तुल्सिलालज्युले “स्मृतिका पानाहरु” पुस्तकमा नेपाली इतिहास खणडमा स्पष्ट भाषामा उल्लेख गरेका केहि अंश सन्दर्भ अध्ययन यसैसंग राखेको छु । जीवन र समाज द्वन्द्वरहित नहोला, गतिशीलताकालागि बहस पनि स्वभाविक रूपमा अनिवार्य नै हुन तर आजको समयमा बहसको नाममा आपसी बिद्वेषलाई मलजल नहोस, हुन नदिऔं ।

Spread the love

Related posts

Leave a Comment