Arts and Crafts Education Feature News Health International Municipal news Photo Feature Provincial News Trainers Talk Youth & Sports

बिपद व्यवस्थापनमा अनुभव नै सबैभन्दा ठूलो शिक्षक

ने.सं. ११३८ बछलागा एकादशी । बैशाख २८, २०७५ । मे १२, २०१८
काठमाडौं

विपद व्यवस्थापनकालागि अनुभव सबैभन्दा ठूलो शिक्षक रहेको बताउँदै तालिमको अनुभवलाई व्यवहारमा उतार्न तत्पर रहन राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान मातातीर्थका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले आह्वान गरेका छन ।

ललितपुर महानगरपालिकाको आयोजना र अमेरिकाको फायरफाइटर्स फर क्रिस्ट अन्तर्राष्ट्रियकोे सहआयोजनामा सञ्चालिते ५ दिने विपद व्यवस्थापन तालिमको समापन कार्यक्रमका प्रमुख अतिथीका रुपमा सहभागीहरुलाई उहाँले सो कुरा बताउनुभएको हो ।

‘बिपदमा के गर्नुपर्छ भन्ने सिकाई जीवनको भोगाई बाहेक यस्तै तालिमबाट प्राप्त हुने हो, त्यसैले सही तरीकाले बुझेर ब्यवहारमा उतार्न तत्पर रहनुपर्ने हुन्छ,’ उनले भने, ‘बिगतमा दिइएको तालिममा भूकम्पको जोखिममा टेबुलमुनी बस्नुपर्छ भनेर जोड दिएकै कारण कतिपय मान्छे खुल्ला स्थानबाट घरको टेबुलमुनी बस्न गएको पाइयो । अर्कोतर्फ समय हुँदापनि बिश्वासकै भरमा एकै कोठामा प्रार्थनामात्र गरेकाले पनि कतिले ज्यानै गुमाए ।’ त्यस्तो हुन नदिन विपद व्यवस्थापन तयारीकालागि दक्ष मानव सशाधनको विकासको महत्वपूर्ण भूमिका रहेकोमा उनले जोड दिनुभयो । दक्ष जनशक्ति बढाउन पनि तालिममा प्रदान गरिने प्राविधिक र व्यवहारिक कक्षाको ज्ञानलाई गहिरिएर बुझिदिन अनुरोध गर्दै समुदायस्तरमा सशस्त्र प्रहरीको सहायक बन्न महानगरका सहभागीहरुलाई उनले आह्वान गरे ।

कार्यक्रममा उपस्थित विशेष अतिथी उप प्रमुख गीता सत्यालले सिकेको ज्ञान परिवार, समुदायमा बाँड्नु भनेकै विपद व्यवस्थापनको तयारीको प्रभावकारी संकेतका रुपमा मनन गर्न सहभागीहरुलाई अनुरोध गरे । त्यस्तै, कार्यक्रमका आयोजक एवं सभापति ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सहआयोजकका रुपमा रहेका फायरफाइटर्स फर क्रिष्ट संस्थासँगको सम्बन्धको राम्रो शुरुवातका रुपमा प्रशिक्षकहरुको योगदानलाई प्रशंसा गरे । ‘अमेरीकामा दक्ष अग्निनियन्त्रकको पेशाबाट अवकास पाएका दक्ष प्रशिक्षकहरुले नेपाल आएर दिनुभएको अन्तर्राष्ट्रियस्तरको तालिमको ज्ञानलाई सहभागीहरुले नगर प्रहरीमा बढाइने दरबन्दी र वडास्तरीय विपद व्यवस्थापन समितिमा कार्यान्वयन गर्ने बिश्वास लिएको छु ।’ उनले भने ।

अन्तर्राष्ट्रियस्तरमा विश्वका विभिन्न स्थानमा अग्नी नियन्त्रण लगायतको विपद व्यवस्थापन तालिम दिंदै आएको संगठनले दिएको तालिमको महत्व हेरेर करीव १५ जना सशस्त्र प्रहरीहरुले पनि तालिम लिएको तालिमका संयोजक एवं विपद व्यवस्थापन शाखाका वरिष्ठ अधिकृत हरिश्चन्द्र लामिछानेले जानकारी दिए । ‘वडास्तरमा स्थापित बिपद व्यवस्थापन समितिमा संलग्न युवाहरुको क्षमता अभिबृद्धिकालागि महानगरपालिकाले गर्दै आएको कार्यक्रमको निरन्तरताका रुपमा यसलाई लिन सकिन्छ,’ लामिछानेले भने, ‘यसपटक विदेशबाट आएका विज्ञहरुसँग समेत सम्पर्क भएको हुँदा महानगरका जुद्ध बारुण यन्त्रका कर्मचारी र महानगरीय प्रहरी बलसमेतलाई लाभकारी रहोस भनेर सहभागिता बढाएका हौं ।’

तालिमका ल्याइएका विपद उद्धार सामाग्री हस्तान्तरण

फायरफाइटर्स फर क्रिस्ट अन्तर्राष्ट्रियका प्रशिक्षकहरुले तालिमकालागि नेपाल ल्याइएका विपद उद्धारका विभिन्न सामाग्रीहरु ललितपुर महानगरपालिका र प्रतिष्ठानलाई हस्तान्तरण गरेका छन । प्रशिक्षकहरुले अग्नि नियन्त्रण, सडक दुर्घटना उद्धार र पानीमा उद्धारका विभिन्न तरीकाको तालिममा प्रयोग गर्न ल्याइएका ती सहयोग सामाग्रीहरुमध्ये जीवनपयोगी डोरी, पञ्जा १ जोड र क्यारिबियन लक एक थान प्रत्येक सहभागीहरुलाई पनि प्रदान गरेका छन । 

‘विपद व्यवस्थापनबारे ज्ञान प्राप्त गरेपछि जीउ धनको सुरक्षा समयमै गर्न हौसला मिल्छ, विपदमा कसैलाई बचाउन हामीले प्रदान गरेको कोसेलीले सहभागीहरुले पनि योगदान दिन अभिप्रेरित गरिरहोस ।’ प्रशिक्षकमध्येका जो लिन्डम्यानले ईन्डेफ्टनेपाललाई जानकार गराए ।

सहआयोजक संस्थाको तर्फबाट पनि प्रमाणपत्र बितरण गरिएको उक्त समापन कार्यक्रममा सहभागीहरुका तर्फबाट नेपाली टोपी र खादासहित प्रशिक्षकहरुलाई पनि सम्मानित गराईएको थियो भने महानगरपालिकाका तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो । सहभागीका तर्फबाट ऋघध्वज विष्ट र महिलाका तर्फबाट बुद्धलक्ष्मी महर्जनले मन्तव्य राखेका थिए भने सोही दिन पानीमा गरिने उद्धारकार्य, जंगलको अग्नि नियन्त्रण र सडक दुर्घटनाको व्यवस्थापनबारे व्यवहारिक अभ्यासको महानगरपालिकाका मेयर र उपमेयर लगायतले अवलोकन गरेका थिए ।

संस्थाका टोली नेता जोन ह्वाईटले नेपालमा तालिम निकै प्रभावकारी रहेको बताउँदै तालिमकालागि ललितपुर महानगरपालिका र राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठानबाट प्राप्त स्थान र सहयोगकालागि बिशेष धन्यवाद व्यक्त गरे । ‘तपाईहरु कसैको जीवनको उद्धारकालागि तत्पर रहनुस, विश्वका करोडौै साथीहरुले यहाँको जीवनको रक्षाकालागि प्रार्थना गरिरहेका हुनेछन ।’ उनले भने । संस्थाले दिएको तालिम प्राप्त गरेपछि आफ्ना प्रशिक्षार्थीहरुले इनारमा खसेको बालकको युगाण्डामा उद्धार गरिएको र सिकागोमा सडक दुघर्टनाबाट बचाएको कुरा सुनाउँदै सहभागीहरुले प्राप्त ज्ञानलाई व्यवहारिक अनुभवमा ढाल्न अभिप्रेरित गरे ।

क्रिष्टियन धर्ममा आस्था रहेका भूतपूर्व अग्नि नियन्त्रकहरु मिलेर बनेको उक्त अन्तर्राष्ट्रिय संस्थाले फिलिपिन्स, युगाण्डा लगायतका विभिन्न विकासशील मुलुकहरुमा विपद व्यवस्थापन तालिमहरु दिंदै आएका छन । ५ दिने तालिममा महानगरपालिकाका २९ वडा मध्ये २४ वडाका ७५ जना, नगर प्रहरी बलबाट १० जना, जुद्ध बारुण यन्त्र ललितपुरका ३ र सशस्त्र प्रहरी बलका १५ जना गरी १ सय ३ जनाको सहभागिता रहेको थियो ।

 हेर्नुहोस PHOTO FEATURE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *