बोल्न सुन्न समस्या भएकालाई पनि आँखा शिविरको माग

बैशाख २४, ललितपुर

२५६६औं बुद्ध जयन्तीका अवसरमा पाटनको सुरश्चन्द्र महाबिहार न्हायेकंबही महापालमा आयोजित निशुल्क आँखा शिविरमा सुस्त श्रवण समस्या (बहिरापन) भएकाहरु पनि लाभान्वित भएका छन । सो शिविरमा उनिहरुले आफू जस्तै देश भित्रका अरु बहिरा मित्रहरुको पनि हितकालागि यस्तै शिविरहरु आयोजनाकालागि माग गरेका छन ।

सुस्त श्रवण समस्या भएका २० जना संगै चाडपर्व र चुनावी दौडधूपबीच पनि २४८ जना शिविरबाट लाभान्वित भएको, पहिचान भएका ६ जनाको निशुल्क मोतियाबिन्दुको शल्यकृया आँखा अस्पताल त्रिपुरेश्वरमा गरिने शिविरका संयोजक समाजसेवी मोतिशान्ति शाक्यले जानकारी गराउनुभयो ।

आँखादान जनचेतनासँगै उपत्यकाभरी विभिन्न स्थानमा निशुल्क आँखा शिविर संचालनमा संयोजनकारी भूमिका निर्वाह गर्दै आएकी संयोजक शाक्यले भनिन, “यसपटकको ५० औं आँखा शिविरमा सुस्त श्रवण समस्या भएकाहरुको सकृय सहभागिताले मेरो आँखा खोलिदिएको छ । सुन्न बोल्न नसक्ने उहाँहरुको जीवनमा आँखाको पनि समस्या थपिंदा कस्तो होला उहाँहरुको पीडा?
नेपाल बहिरा महासंघकी दोभाषे सहजकर्ता पविता सिंहज्युको सहयोगमा शिविर स्थलमै लाभान्वित २० जनासँग उनीहरुको समस्याबारे छलफल गरिएको बताउँदै संयोजक शाक्यले सक्दो चाँडो यसबारे आँखा अस्पतालका बिज्ञ टोली र सम्बन्धित सँग सहकार्य गरेर विशेष आँखा शिविर संचालन गर्ने अठोट लिइसकेको जानकारी गराइन ।

पाटनको करुणामय जात्रा र चुनावी प्रचारको माहौलबीच सम्पन्न निशुल्क परीक्षण, औषधि बितरण र निशुल्क मोतियाबिन्दु ब्यवस्था सहित ईनरव्हील क्लब अफ पाटन र लायन्स क्लब अफ काठमाडौं हारतीमाता ३२५ A2 र २५६६औं बुद्ध जयन्ती मूल समारोह समितीले आयोजना गरेको हो ।

जेठ २ गते बृहत् नगर परिक्रमा

आउँदो जेठ २ गते हुने बृहत् नगर परिक्रमाको प्रचारार्थ आजकै दिन बिहान पाटनका प्राचीन ४ स्तुपाहरु घुम्न साईकल र्‍यालीमा १३० जनाको सहभागिता र महापाल चोकमा रक्तदान कार्यक्रम पनि संचालन गरिएको २५६६औं बुद्ध जयन्ती मूल समारोह समितिका उपाध्यक्ष एवं महापाल टोल सुधार समितिका अध्यक्ष सुनिल (हान्ताई) शाक्यले जानकारी गराएका छन ।

ललितपुरमा प्रत्येक वर्ष विभिन्न टोलहरुको आलो पालो आयोजनामा मनाईने बुद्ध जयन्तीको यस वर्ष सुरश्चन्द्र महाबिहारको पालो रहेको छ । संयोगवश न्हायकंबही, महापालमा अवस्थित उक्त महाबिहारले लिदैं आएको पालो पनि यसपालि ५०औं पटक रहेकाले स्वर्णजयन्तीका रूपमा पनि मनाउँदैछन ।

Spread the love

Related posts