Culture & Heritage Feature News Literature National Social

‘भारतको बुद्धधर्ममा समेत योगदान दिएका धर्मादित्य धर्माचार्यको प्रर्वद्धन गर्न राज्यको भूमिकाको खाँचो’

तेस्रो मातृभाषा पत्रकारिता दिवस मनाइयो
ने.सं. ११३२ बछलाथ्व त्रयोदशी । बैशाख १६ गते आईतबार । अप्रिल २९, २०१८
राजेश बज्राचार्य, ललितपुर

वाङमय शताब्दी पुरुष एवं वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले नेपालको पत्रकारिता दायरा फराकिलो बनाउन मातृभाषाको पत्रकारिताको प्रर्वद्धन गर्नुपर्नेमा जोड दिएका छन ।

९३ वर्ष अगाडी नेपालभाषा पत्रकारिताको शुरुआत गरेका धर्मादित्य धमाचार्य (जगतमान बैद्य)को १ सय १३ औं जन्मजयन्तीको अवसर पारेर तेस्रो मातृभाषा पत्रकारिता दिवसका रुपमा नेवाः पत्रकार राष्ट्रिय दबूले ललितपुरमा आयोजना गरेको कार्यक्रममा उहांले सो कुरामा जोड दिनुभएको हो ।

बुद्धधर्म र नेपालभाषाप्रतिको अनुरागले धर्मादित्य धर्माचार्यले थाल्नुभएको पत्रकारितालाई अहिले नेवाः समुदायका पत्रकार संगठनले व्यावसायिक धारमा अघि बढाइरहेको उल्लेख गर्दै त्यसमा राज्यको साथ र सहयोग रहनुपर्नेमा पनि उनले जोड दिनुभयो ।

‘धर्मादित्य धर्माचार्यको योगदान नेपालभाषा पत्रिका थालनी मात्र नभई भारतको दरभंगामा लोप भइसकेको तर नेपालमा सुरक्षित रहेको प्रज्ञापारमिता लगायतका बौद्धग्रन्थलाई भारतको राष्ट्रिय महत्वका रुपमा पुनरउत्थान गर्न समेत विशेष योगदान रहेको छ ।’ उनले भने, ‘नेपालकै इतिहास लेखनमा चर्चित सिल्भियन लेभी जस्ता विदेशी विद्वानलाई उनले निकै सहयोग गरेका थिए, यस्ता विद्वान व्यक्तित्वको राष्ट्रियस्तरमा अध्ययन अनुसन्धान गरेर बुद्धधर्म र नेपालभाषा लगायतका विषयवस्तु बाहिर ल्याउनु आवश्यक देखिन्छ ।’

नेपाल संवत् १०४५, वि सं १९८२ बुद्ध जयन्तीको दिन भारतको कलकत्ताबाट धर्मादित्य धर्माचार्यले (जगतमान वैद्य) बुद्ध धर्म र नेपालभाषा नामक पत्रिका प्रकाशन गरेपछि नेपालभाषाको पत्रकारिता शुरुआत भएको थियो । धर्मादित्य धर्माचार्यको मातृभाषा पत्रकारितामा रहेको योगदानलाई राज्यले मान्यता दिनुपर्ने मागसहित नेवाः पत्रकार राष्ट्रिय दबूले ललितपुर शाखाको व्यवस्थानपनमा गत तीन वर्षदेखि बैशाख १६ (बुद्धजयन्ती एकदिन अगाडी)लाई मातृभाषा पत्रकारिता दिवसका रुपमा मनाउंदै आएका छन ।

यही पत्रिका सम्भवतः गैर नेपाली भाषामा प्रकाशित पहिलो पत्रिका रहेको अहिले सम्मको अध्ययनले प्रमाणित गरेकोले मातृभाषा पत्रकारिता दिवस मनाइएको नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष श्रीकृष्ण महर्जनले बताउनुभयो । सो अवसरमा ललितपुरको पुल्चोक स्थित धर्मादित्य धर्माचार्य (जगतमान वैध) को सालिकमा माल्यार्पण गरिएको थियो ।

समारोहमा वक्ताहरुले संविधानले देशमा बोलिने सबै मातृभाषा राष्ट्र भाषा हुन भनिसकेको अवस्थामा मातृभाषाका पत्रकारिताको विकासका लागि राज्यले विशेष
ध्यान दिनुपर्नेमा जोड दिए । उनीहरुले प्रत्येक नेपालीलाई मातृभाषाको माध्यमबाट सूचना माग्ने र सुसुचित हुने हक रहेको बताउँदै सहभागी वक्ताहरुले त्यसको प्रत्याभूति गर्न राज्य तत्पर हुनुपर्ने बताए ।

सो अवसरमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का केन्द्रीय अध्यक्ष डण्ड गुरुङ्गले मातृभाषाकै पहिलो पत्रकारका रुपमा रहेको धर्माचार्यलाई राज्यले मान्यता दिएर मातृभाषा पत्रकारिता दिवस मनाउनुपर्ने माग गर्नुभयो ।मुलक संघीयतामा गइसकेको सन्र्दभमा विविध भाषाको पत्रकारिताको विकासका लागि प्रदेश र स्थानीय तहले विशेष पहल गर्नुपर्ने ध्यानाकर्षण गराउंदै उनले दबू र फोनिज मिलेर उनकै नाममा मातृभाषा पत्रकारिता पुरस्कार व्यवस्था गर्ने पनि अध्यक्ष गुरुङ्गले घोषणा गरे ।

सो अवसरमा ललितपुर क्षेत्र नं २ का प्रदेश सासंद् ज्ञानेन्द्र शाक्यले ३ नम्बर प्रदेशको नाउँ ऐतिहासिक तथ्य र प्रमाणको आधारमा नेपालमण्डल राख्न सञ्चारकर्मीहरुले पनि आआफ्नो स्थानबाट उचित भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।उहाँले संविधान प्रदत्त प्रेस स्वतन्त्रताको हकको उच्चत्तम अभ्यासको लागि मातृभाषाको पत्रकारिताको विकास हुनुपर्नेमा धारणा राख्नुभयो ।

समारोहमा ज्यापू समाजका प्रथम उपाध्यक्ष सन्तमान महर्जन, ताम्रकार समाजका अध्यक्ष रवीन्द्रराज ताम्रकार लगायतले मातृभाषामा सूचना माग्ने र सुसूचित हुने हकको सम्मान गर्दै मातृभाषा पत्रकारिताको विकास लागि राज्यले नै मातृभाषा पत्रकारिता दिवस मनाउनुपर्नेमा जोड दिदै आ–आफ्नो धारणा राख्नुभयो ।

कार्यक्रम संचालन गर्दै दबूका महासचिव सुनील महर्जनले यही जेठ ३ गते मातृभाषाको पत्रकारिताको विकासमा बृहत अन्र्तक्रिया कार्यक्रमको आयोजना गरिएको पनि सो कार्यक्रममा जानकारी दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *