Education Feature News Municipal news Social Women

महानगरको वातावरणीय भविष्य महिला समूको हातमा

ने.सं ११३८ अनलागा एकादशी । २०७५ जेठ २८ । जुन ११, २०१८
राजेश बज्राचार्य, ललितपुर

ललितपुर महानगरपालिकाको वातावरणीय भविष्य बनाउन महिला समूहकै हातमा रहेको महानगरका प्रमुख र उप प्रमुख दुबैले स्विकारेका छन ।

‘जहाँ महिला, त्यहाँ विकासको पाईला’ नारासहित ललितपुरमा महानगरपालिकाले सोमवार आयोजना गरेको महिला समूहको मूल्यांकन तथा पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथी मेयर चिरिबाबु महर्जन र उपमेयर गीता सत्यालले सो कुरालाई स्विकार गर्नुभएको हो ।

सामाजिक विकास समितिका संयोजक दिनेश कार्कीको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रममा महानगरमा २ सय ५६ महिला समूहमध्ये ११ उत्कृष्ट महिला समूहहरुलाई पुरस्कृत गर्दै उपमेयर गीता सत्यालले भने, ‘घर परिवारको व्यवस्थापनमा महिलाहरुले गर्न सक्ने काम पुरुषले गर्दा दोब्बर समय लगाउने यथार्थ जगजाहेर छ । महिला समूहमा भएको रचनात्मक श्रृजनशीलतालाई महानगरको वातावरण सुधार गर्न अब महिलाले नेतृत्वदायी भूमिका खेल्नुपर्छ ।’ महानगरको दैनिक ६५ टन घरायसी फोहोरलाई मोहोरका रुपमा बदल्न सक्ने सम्भावनाको मूल्यांकन होस भनि सबैभन्दा बढी अंक महिला समूहले गरेका वातावरण सम्बन्धि जनचेतनामूलक कार्यक्रमलाई दिइनुको उद्धेश्यमाथि प्रकाश पार्दै उपमेयर सत्यालले महिलाले आफ्नो घरपरिवार पछि टोल सुधारमा देखाएको सक्रिय भूमिकालाई उच्च प्रशंसा गरे ।

घरपरिवार व्यवस्थापनसँगै आफ्नो राजनैतिक उपलब्धीको धरातल पनि महिला समूह नै रहेको स्मरण गराउँदै उनले भने, ‘मलाई जिताउनमा सबैभन्दा प्रमुख भूमिका रहेका महानगरका महिला समूहले अब कमसेकम घरायसी फोहरमैलाको उचित व्यवस्थापन मार्फत शहरको वातावरणीय प्रदुषण घटाउनमा पनि योगदान गर्न अग्रसर हुनुपर्छ ।’ महिला समूहको सक्रियता र उपस्थितिले उत्साहित भएका उनले समूहको भरपूर सदुपयोग गर्नुपर्ने बताउँदै उनले महानगरपालिकाबाट प्राप्त शीप विकास तालिमको प्रमाणपत्रहरुलाई सिरानीमुनी हैन उद्यमशीलताकालागि प्रयोग गर्न अभिप्रेरित गरे । पुरस्कृतलाई सम्मान प्रकट गर्दै उनले थपे, ‘हरेक महिला समूह उत्तिकै सक्षम रहेको मेरो विश्वास छ, पुरस्कृत हुनेहरुले आफ्ना उपलब्धीलाई लिपिबद्ध गर्न सफल भएका मात्र हुन, त्यसैले प्रतिस्पर्धा भन्दा निरन्तर सक्रियता मार्फत महानगर निर्माणमा योगदान गर्न आह्वान गर्दछु ।’

कार्यक्रममा महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले घरायसी व्यवस्थापनमा महिलाको सक्रियताको प्रशंसा गर्दैै आह्वान गरे, ‘शहरलाई वातावरणीय दृष्टिकोणले विकास गर्न अब घरबाट मात्र हैन, महानगरका सबै प्रमुख सार्वजनिक स्थानमा एकैनासका कमसेकम ८ फिटका बिरुवाहरु रोपेर क्यानडाको शहरी क्षेत्रसँग तुलना गर्ने बातावरण बनाउने हाम्रो सोच महिला समूहकै साथमा मात्र सम्भव छ ।’ सहयोगको अपेक्षा गर्दै महानगरपालिकाले लगनखेल, मंगलबजार, कुमारीपाटी, महापाल देखि शंखमूल लगायतका स्थानमा ढल व्यवस्थापन गर्न एसिया बिकास बैंकको सहयोगको सम्झौता पत्रमा हस्ताक्षर गरिसकेको जानकारी उनले दिए । महिला समूहको सहभागिता बिनाको कार्यक्रमहरु अब असफलप्रायः भैसकेको जनाउँदै उनले महानगरपालिकाले महिला समूहको थप विकासकालागि बनेको विशेष योजना कार्यपालिका बैठकबाट चाँडै पारित गराएर उक्त खुशीको खबर सार्वजनिक गरिने आश्वासन दिए ।

महानगरका समाज कल्याण महाशाखाका वरिष्ठ अधिकृत प्रेम बहादुर थापाले स्वागत मन्तब्य दिनुहुँदै विगत देखिको प्रयासले संस्थागत विकासको उत्कृष्ट रुप लिन थालेका महिला समूहहरुको उच्च मूल्यांकन गरिएको बताए । वातावरणीय कार्यक्रम लगायत क्षमता विकास कार्यक्रम रहेको बताउँदै आर्थिक सबलताकालागि आयमूलक कार्यक्रम र कोष व्यवस्थापनमा आन्तरिक श्रृmण प्रवाह, शेयर पुँजी व्यवस्थापन लगायत शिक्षा स्वास्थ्य कार्यक्रम र सदस्यता बृद्धिमा देखिएका प्रतिवेदनलाई उनले मूल्यांकनका आधार लिइएको जानकारी गराए ।

सामुदायिक शाखाका ज्ञानीशोभा महर्जनले सञ्चालन गरेको सो कार्यक्रमबीच विभिन्न वडाका अध्यक्ष, सामाजिक विकास मूल्याकंन समितिका सदस्यहरुको समुपस्थितिमा विभिन्न वडाका ११ उत्कृष्ट महिला समूहहरुहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो । ती मध्ये पहिलो पटक उत्कृष्ट हुनेमा क्रमशः श्रृष्टि महिला समूह, ईकुहिटी महिला समूह, शान्ति महिला समूह, नकबहिल माँ पुचः, न्ह्याँकबहि मिसा पुचः, स्वंगचिभाः मिसा पुचः र रजक महिला समूह रहेका छन भने दोश्रो पटक उत्कृष्ट हुनेमा मणीमण्डप मिसा पुचः रहेका छन । पहिलो पटक उत्कृष्ट भएकामध्येबाट रजक महिला समूहलाई प्रोत्साहन र तेश्रो पटक उत्कृष्ट हुन सफल मिखाबहाल महिला समूह, च्यासल महिला समूह र वैशवर्ण माँ पुचःलाई प्रमाण पत्रका साथै गणेशको मूर्ति र स्पिकर एक एक थान र पुरस्कार स्वरुप प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *