Business and CSR Education Health Social Trainers Talk Women

महिला सहकारीका पदाधिकारीहरु सबैले आँखा दान गर्ने

ने.स.११३८ अनलाथ्व त्रयोदशी । जेठ १५, २०७५ । २९ मे २०१८
ललितपुर

ललितपुरको अनमोल बचत तथा ऋण सहकारी संस्थाका १४ जना पदाधिकारीहरुले मरोणोप्रान्त आँखादान गर्ने भएका छन ।

मंगलबार नेपाल आँखादान समाज र अनमोल सहकारीले संयुक्त रुपमा आँखादानको महत्वबारे आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा सोे घोषणा गरिएको हो ।

‘मरणोप्रान्त हाम्रो आँखाको नानीले चार जनालाई दृष्टिदान दिन सकिने शुभकार्य आफैबाट शुरु गर्नुपर्छ भनेर हामी पदाधिकारीहरुले आँखादानको प्रतिवद्धता पत्र भरेका छौं,’ अनमोल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मञ्जु बज्राचार्यले भनिन, ‘आँखादान महादानको यस पुण्य कार्य अभियानमा हामी जोडिनुकासाथै अरुलाई पनि प्रोत्साहित गर्ने संकल्प गरिसकेका छौं ।’

समाजका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका संयोजक रत्न महर्जनको संयोजनमा भएको सो अभिमुखीकरण कार्यक्रमले आँखादानपश्चात निकालिएको आँखाका कारण अर्को जुनीमा अन्धो भइन्छ भन्ने समाजमा ब्याप्त भ्रम हटाउन सहयोग पुगेको सहभागी हसिना शाक्य बताउँछिन । ‘कार्यक्रममा शल्यक्रिया र दृष्टिदान पाएकाबारे भिडियो प्रस्तुतिले आँखा निकालिने होइन, नानी (कर्निया) झिल्ली मात्र निकालिनेबारे सबै प्रष्ट भएका छन, उनले भनिन, यसबाहेक आँखाको स्वास्थ्यकालागि के गर्नुपर्छ भन्ने समेत जानकारी प्राप्त गर्यौ ।

समाजका सामाजिक सम्बन्ध समितिका संयोजक मोतिशान्ति शाक्य सहभागी संख्या भन्दा कार्यक्रमका दौरान गरिएको अन्तरक्रियाको उपलब्धिबाट हर्षित देखिए । उनले भने, ‘महिलाहरु नै सक्रिय अनमोल सहकारीले यस अभियानलाई थप ब्यापक बनाउन आगामी महिनामा आँखा शिविर पनि सञ्चालन गर्ने प्रस्तावले निकै हर्षित भएकी छु ।’

आँखादान मरणोप्रान्त ८ घण्टाभित्र गरिने हुँदा परिवारमा देहान्तको समयमा संवेदनाले भरिएको अवस्थालाई हामीले सम्झनुपर्ने बताउँदै उनले थपिन, ‘यस्तो बेला परिवारजनले अन्य कुरामा ध्यान दिन सम्भव नहुन सक्छ, त्यसैले दाताले आफ्नो चिनासँग ईच्छापत्र वा आँखादान परिचय पत्र राख्नु सबैभन्दा उत्तम उपाय हो ।’ आफ्नै परिवारमा सासुले परिचय पत्र साँचेको सम्झेर उनले भनिन, ‘यो देखेर हामीले आँखा बैंकलाई खबर गरेका थियौं भने यस पवित्र महादानमा योगदान गर्न प्रोत्साहित पनि गरायो ।’

सहकारीका ५० औं जना महिला सदस्यहरुले आफ्ना जिज्ञासा राख्दै अन्तरक्रिया गरेको सो अभिमुखीकरणमा नेपाल आँखा बैंकका ब्यवस्थापक शंख नारायण त्वाइनाले प्राविधिक अडियो भिजुअलको प्रस्तुति दिएका थिए । उनी आँखादान महादान हुनुको कारण मरणोप्रान्त खेर जाने दुइ आँखाको दुइ नानीले चार जनाकालागि दीर्घकालीन दृष्टिदान हुने सत्यलाई बुझाउन लागिपरेका थिए । बढीमा १५ मिनेटमा सकिने आँखादानले प्राथमिकताकासाथ बालबालिका र अत्यावश्यक विपन्न वर्गलाई दिन सक्ने दृष्टिदानको महत्वबोधले हाम्रो पुरातन सामाजिक सोचलाई बदल्न सकिनेमा उनी बिश्वस्त थिए ।

उनका अनुसार तीलगंगा आँखा अस्पताल र नेपाल आँखादान समाज नेपालको एकमात्र आँखादानमा अनुमतिप्राप्त संस्था हो जसले बढ्दो दृष्टिदानको माग परिपूर्ती गर्न लागिपरेको छ । ‘हालसालै हामीले गरिरहेको अध्ययनका अनुसार विभिन्न सचेतना अभियानपश्चात करीव ६० हजारले आफ्नो देहान्तपछि आँखादान गर्न सहमति गरेका छन र त्यसमध्ये देशभरीमा सबैभन्दा बढी ३० प्रतिशतभन्दा बढी नेवाः समुदायका रहेका छन ।’ उनले भने ।

नेपाल आँखादान समाजका महासचिव साधुराम महर्जनका अनुसार आँखादान र आँखास्वास्थ्यको ज्ञानको अभावमा शहरी वातावरण लगायत यो महादानको महत्व नबुझेकै कारण विभिन्न आँखा समस्या बढ्दो अवस्थामा छ । उनका अनुसार निकै थोरै जनसंख्याले शारिरीक स्वास्थ्यसँगै आँखाको स्वास्थ्यबारे जानकारी राख्दछन जसले गर्दा उसै पनि मरोणोप्रान्त आँखा खेर जाने गरेको छ ।

स्मरणीय छ, नेपालमा पहिलो आँखादान गर्नेमा पनि नेवाः समुदायका तुलाधर थरकी महिला नै पर्दछिन र आँखादानकालागि मात्र १ ईच्छापत्र, १ साक्षी र फारामकासाथ २ वटा फोटो आवश्यक रहन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *