Feature News Health Social Women

मुदिता सेवागृहको पाँचौ स्थापना दिवस सम्पन्न

ने.सं. ११३८ गुँलाथ्व तृतिया । श्रावण २९, २०७५ । अगष्ट १४, २०१८
ललितपुर

जेष्ठ नागरिक, एकल महिला तथा अनाथ असहाय बालबालिकाको आवसीय सेवामा केन्द्रित मुदिता सेवागृहले ईमाडोलमा पाँचौं स्थापना दिवस मनाएको छ ।

आफ्नो आमाको स्याहारकालागि चित्तबुझ्दो आवसीय जेष्ठ नागरिक सेवा पनि नभेटिएपछि त्यस्तै परिस्थितिका अन्य आमाहरुको पनि सेवा गर्ने लक्ष्य लिएर स्थापना गरिएको मुदिता सेवागृहको इतिहास, संस्थाका गतिविधि र आगामी योजनाहरुकाबारे संस्थाकी संस्थापक अध्यक्ष राज्यलक्ष्मी बज्राचार्यले प्रस्तुति गरेका थिए ।

पूर्व मन्त्री एवं समाजसेवी बुद्धिराज बज्राचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त स्थापना दिवस कार्यक्रममा यीनै समाजसेवी राज्यलक्ष्मी बज्राचार्यबारे वरिष्ठ रचनाकार आनन्द बज्राचार्यले लेख्नुभएको संक्षिप्त जीवनीको पुस्तिका पनि सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा वरिष्ठ सल्लाहकारका रुपमा बुद्धिराज बज्राचार्य, सल्लाहकारहरु शाक्य सुरेन, मञ्जु कँडेल, सुरेन्द्र जुवा, विकास रत्न धाख्वा, चन्द्र बहादुर तामांग, छिरिंग लामा, यज्ञ कुमार बज्राचार्य, सन्तकुमार शाक्य, ईन्द्रवीर महर्जन, महेश्वरी विष्ट, मिना शर्मा, निग्मा ताम्रकार लगायत कानूनी सल्लाहकार दयाभक्त डंगोलको परिचय गराईएको थियो ।

कार्यक्रममा सल्लाहकार शाक्य सुरेनले संस्थापक अध्यक्ष राज्यलक्ष्मी बज्राचार्यलाई पाटन सिबिआरमा संलग्न सक्रिय महिलाहरुका रुपमा चिनेको स्मरण गर्दै भने, “करीव १० वर्ष अगाडी आधुनिक रहनसहनमा देखिने राज्यलक्ष्मीले जेष्ठ नागरिक सेवागृहको परिकल्पना लिएर सुझाव माग्दा मलाई पत्यारै लागेको थिएन, तर आफैं एकल महिला भएकी उनले शुरु गरेको संस्थाले पाँचौं स्थापना दिवस मनाएर संकल्पमा महिलाले गर्न सक्ने कार्यको थप उदाहरण बनेकी छिन । हाल संचानल गर्दै आएको आफ्नै घरमा भन्दा अन्यत्र जेष्ठ नागरिकमैत्री संरचनामा संस्था संचालन गर्न सबैले सहयोग गरुन, शुभकामना ।”

त्यस्तै कानूनी सल्लाहकार दयाभक्त डंगोलले संस्थाको पवित्र उद्धेश्यलाई समर्थन गर्दै आफूले निरन्तर निशुल्क कानूनी परामर्श दिदैं आएको बताए । समस्यामा परेका पिछडिएकाहरुको हितकालागि संस्था संचालन गरिने स्मरण गराउँदै उनले २०७०मा संस्था दर्ता गराएको सम्झिए । हाल संस्थाको दीगोपनाकालागि जारी उपयुक्त ठाउँ खोजीमा संस्थाले पहिचान गरेको जग्गा उपलब्ध गराउन आफूले सक्दो कानूनी सहजीकरण गर्ने उनले प्रतिवद्धता जनाए ।

प्रमुख अतिथी एवं वरिष्ठ सल्लाहकार बुद्धिराज बज्राचार्य र सल्लाहकार विकास रत्न धाख्वाले पनि हाल विभिन्न सुभेच्छुक, संस्थाका सदस्यहरुले दिंदै आएको योगदानले संस्थालाई नपुगेको अवस्था बुझ्दै आगामी दिनहरुमा सबैले अनूभुत गर्ने खालका आवश्यक आर्थिक भौतिक सहयोग जुटाउने प्रतिवद्धता जाहेर गरे ।

संख्यात्मक होइन गुणस्तरीय सेवा भन्ने अवधारणा आत्मसात गरेर मुदिता सेवागृहले ४८ जना जेष्ठ नागरिक, एकल महिला तथा बालबालिकाहरुको सेवा गरिसकेको छ । हाल इमाडोेलस्थित अध्यक्षकै निवासमा संचालनमा रहेको यस संस्थाले पातलीपुर महाविहार जिर्णोद्धार तथा संरक्षण समितिमार्फत संरक्षण गरिएको जीर्ण अवस्थामा रहेको ईमाडोलस्थित एक धार्मिक स्थलको विकास गर्दै उक्त ठाउँमा नै संस्थाको जेष्ठ नागरिकमैत्री भवन बनाउने लक्ष्य राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *