राज्यसत्ता पंचायती मानसिकताबाट ग्रसित रहेको अभियानकर्मीको आरोप

२०७७/११/१८, काठमाडौं

वर्तमान सरकारले राज्य सत्ताले अझै एक भाषा नीतिलाई निरन्तरता दिँदै भाषिक दमनलाई निरन्तरता दिएको अभियानकर्मीहरुले बताएका छन् । बालाजु काण्डमा नेपालभाषा बोलेको भन्दै प्रहरीले अभियानकर्मीहरुलाई पक्राउ गरेको भन्दै सोको विरोधमा आज ईन्द्रचोकमा आयोजित विरोध सभाका वक्ताहरुले राज्यले आफैं संविधान मिचेर मातृभाषाको दमन कायम राखेको आरोप लगाए ।

कार्यक्रममा बोल्दै बालाजु काण्डमा गत बुधबार पक्राउ परेर आज रिहा भएका महेश्वर मानन्धरले संविधानले दिएको मातृभाषा बोल्ने अधिकार राज्यले खोस्न मिल्छ र भन्दै प्रश्न गरे । ‘मैले मेरो दाजुभाईसँग मेरो मातृभाषामा कुरा गर्छु, मलाई कसले रोक्ने ?’, मानन्धरले भने । ‘संविधान दिएको अधिकार खोस्न खोज्ने प्रहरी प्रशासन के संविधानभन्दा माथि हो ?’ बालाजुमा स्थानीयको घर भत्काएर सूचना केन्द्र बनाउन लागेको दावी गर्दै मानन्धरले प्रश्न गरे ‘के राज्यको सूचना केन्द्र बनाउनलाई जनताको घर भत्काउने हो ? खइ त, संविधानले दिएको हाम्रो बासको अधिकार ?’

त्यस्तै अभियानकर्मी इन्दु ज्यापुनीले नेपालभाषा बोल्नु कुनै अपराध नभएको भन्दै नेपालभाषा बोल्यो भनेर राज्य वा प्रहरी प्रशासनले सके कारवाही गर भन्दै चुनौती दिए । अर्का युवा अभियानकर्मी श्रृजनमान श्रेष्ठले विगतमा पद्मरत्नलाई कारागारमा आमासँग पनि नेपालभाषामा कुरा गर्न नदिँदाको पीडा सम्झिँदै भने, ‘आज न पंचायतकाल हो, न राजतन्त्र हो । जनताको शासनमा जनतालाई मातृभाषा बोल्नलाई रोक्ने कसले ?’ राज्यसत्ता अहिलेसम्म पनि पंचायती मानसिकताबाट ग्रसित रहेको श्रेष्ठको भनाई थियो ।

गत बुधबार बालाजुमा सर्वोच्च अदालतले रोक्का आदेश जारी गरेको स्थानमा जबरजस्ती निर्माण कार्य अघि बढाउन लागेको भन्दै स्थानीय विरोध प्रदर्शनमा उत्रेका थिए । सो विरोध प्रदर्शनको क्रममा महेश्वर मानन्धर, मीन शाही, रुक्षित श्रेष्ठ, संजय तामाङ, दिपेन श्रेष्ठ, र भिम देव श्रेष्ठ पक्राउ परेका थिए । पक्राउ परेका व्यक्तिहरुलाई भेट्न जानेहरुले नेपालभाषामा कुरा गरेका भन्दै प्रहरीले रोक्न खोज्दा भएको वादविवादको क्रममा उपत्यकाव्यापी सडक विस्तार पिडित संघर्ष समितिका अध्यक्ष सुमन सायमि पक्राउ परेका थिए । त्यस्तै पत्रकारलाई फोटो खिच्न रोकेको भन्दै विरोध गर्दा विरोचन श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका सबैलाई आज रिहा गरिएको थियो । आज रिहा भएलगत्तै अभियानकर्मीहरु सबै ईन्द्रचोकमा विरोध सभामा सहभागी हुन आएका थिए । रिहा भएका अभियानकर्मीहरु ईन्द्रचोक पुगेपछि मैनवत्ती ¥याली निकाली शहरको विभिन्न भागको परिक्रम गरिउको थियो । विजयोत्सवको साथमा राज्यले जारी राखेको भूमिको साथै भाषिक, सांस्कृतिक दमनको विरोध स्वरुप भन्दै मैनवत्ती ¥याली गरिएको आयोजकले जनाएको छ । ईन्द्रचोकबाट शुरु भई क्षेत्रपाटीमा सम्पन्न हुने भनिएको ¥याली क्षेत्रपाटीबाट फेरी कालिमाटी पुगेको थियो । रिहा भएका अभियानकर्मीहरुलाई कालिमाटीमा सम्मान कार्यक्रम रहेको जानकारी पाएपछि ¥याली उतैतिर गई सम्मान कार्यक्रममा समेत सहभागी भएको थियो ।

Spread the love

Related posts

Leave a Comment