Arts and Crafts Business and CSR Culture & Heritage Feature News National Photo Feature Social Tourism

राष्ट्रियस्तरको महाविहार संरक्षण समिति आवश्यक

ने.सं.११३८ अनलागा सप्तमी । जेठ २४, २०७५ । जुन ७, २०१८
ललितपुर

हिरण्यवर्ण महाविहार सुधार समितिले भूकम्पले क्षतिग्रस्त महाविहारहरुको विवरण राज्यसँग नरहेको उल्लेख गर्दै यसको संरक्षणकालागि राष्ट्रियस्तरको महाविहार संरक्षण समिति आवश्यक रहेको बताएका छन ।

ललितपुरको इलाननीमा महाविहारमध्ये चर्चित हिरण्यवर्ण महाविहार सुधार समितिको ६२औं वाषिक साधारण सभामा कार्यक्रमका प्रमुख अतिथी संस्कृति तथा पर्यटन मन्त्री रविन्द्र प्रसाद अधिकारीसामु समितिका अध्यक्ष बिकास रत्न धाख्वाले राज्यको सहयोग माग गर्दै सो कुरा उल्लेख गरेका हुन । स्वागत मन्तव्यका क्रममा उनले मौलिक महाविहारहरुको संरक्षणले धर्म संस्कृति र परम्पराको सम्वद्र्धन हुने बताउँदै यथोचित बजेट निकासाकालागि नेपालको गुम्वा विकास समिति जस्तै राष्ट्रियस्तरको महाविहार संरक्षण समिति गठन गर्न अनुरोध गरेका छन ।

अध्यक्ष धाख्वाले सदियौंदेखि हिरण्यवर्ण महाविहार बज्रयानी परम्पराको केन्द्रका रुपमा स्थापित रहेको र सो परम्परालाई देशविदेशका भक्तजनहरुले धार्मिक, सामाजिक, साँस्कृतिक अध्ययनकालागि लुम्बिनीमा धर्मोदय सभाबाट प्राप्त जग्गामा अर्को नमूना महाविहार निर्माणमा राज्यले सहयोग गर्नुपर्ने बताए । देशको आर्थिक बिकासकालागि सामाजिक, धार्मिक, साँस्कृतिक र कलाकृतिको विकास पनि आवश्यक रहेकोमा जोड दिंदै उनले भने, ‘माननीय मन्त्रीज्यूले हाम्रो मौलिक संस्कृति र समाजको संरक्षणकालागि स्कूल तथा कलेजहरुको पाठ्यक्रममा अष्टसहस्रिका प्रज्ञापारमिता, लक्षावति, त्रिपिटक आदि पनि विषयहरु किन समाहित गर्न नसक्नुहोला र?’

सम्पदा निर्माण कार्यमा सार्वजनिक खरीद ऐन बाधा

कार्यक्रमका विशिष्ट अतिथी ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले भूकम्पबाट क्षतिग्रस्त सांस्कृतिक सम्पदा निर्माणकालागि सार्वजनिक खरीद ऐन अव्यवहारिक भएको बताउँदै परिमार्जनकालागि पहल गर्न मन्त्री अधिकारीलाई अनुरोध गरे । मौलिक संरचना निर्माणमा आवश्यक धैर्य प्रतिस्पर्धात्मक टेण्डरवालाहरुसँग नहुने र युगौंदेखिको जीर्णोद्धारको शीप लोपोन्मुख हुन नदिन पनि स्थानीयलाई परिचालित गर्न आवश्यक रहेको उनको धारणा थियो । कार्यक्रममा महाविहारको प्रमुख भूमिका रहेको साँस्कृतिक मतया जात्राकालागि महानगरपालिकाले समयानुसार दरबन्दीमा बृद्धि गराई आउँदो आर्थिक वर्षदेखि ५ लाख वितरण गरिने घोषणा गरे ।

प्रतिनिधिसभा सदस्य कृष्णलाल महर्जनले हिरण्यवर्ण महाविहारमा पाठ गराउनाले अति अशक्त बिरामी निको हुने जनविश्वास रहेको उल्लेख गर्दै साँस्कृतिक रुपमा यहाँ व्रत बस्नेहरुको संख्या घट्नु हाम्रो परम्परामा आएको ह्रासको संकेट भएको बताए । यहाँको सम्पदा संरक्षण तथा निर्माण महत्वपूर्ण रहेको बताउँदै उनले हिरण्यवर्ण महाविहारको जिर्णोद्धारमा आवश्यक ५ करोड ललितपुर बिकासकालागि समाजको पहलमा भारतीय राजदूतावासबाट सहयोगको अपेक्षा राम्रो भएतापनि ७० प्रतिशत सामाग्री भारतकै प्रयोग गर्नुपर्ने शर्त अनुचित रहेको जिकिर गरे ।

कार्यक्रममा मन्त्री अधिकारीले नेपालको पुननिर्माण कार्यमा भएको प्रगति सन्तोषजनक रहेको बताउँदै सम्पदा क्षेत्रको निर्माणमा धैर्यको आवश्यकता रहेको जिकिर गरे । हाम्रा सम्पदा र साँस्कृतिक महत्वका मठमन्दिरहरु दीर्घकालीन सोच र सामाजिक परिवेशलाई मिलाएर बढाउनुपर्ने कार्य रहेकाले समय लाग्ने स्वाभाविक भएको बताउँदै यसतर्फ समुदायको पहलकदमीमा उनले सदैव हातेमालो गर्ने प्रतिवद्धता व्यक्त गरे ।

हिरण्यवर्ण महाविहार यम्बासंघका सदस्यहरु सम्मानित

कार्यक्रमका अवसरमा देशविदेशमा धार्मिक, सामाजिक, आर्थिक, साँस्कृतिक, शैक्षिक लगायतका क्षेत्रमा उत्कृष्टता प्राप्त गरेका हिरण्य महाविहार यम्बासंघका सदस्यहरुलाई पनि सम्मानित गरिएको थियो ।

देवरथारोहण सकिसकेका दशपारमिता आजुहरुमा थपा आजु तिर्थराज शाक्य, चक्रेश्वर आजु रत्नराज बज्राचार्य, पञ्चस्थविर आजु आशारत्न बज्राचार्यलाई मन्त्री अधिकारीले डोसल्ला ओढाई सम्मानित गरेका थिए ।

त्यसैगरि विभिन्न क्षेत्रका विषयमा विद्यावारिधि गरेकाहरुमध्ये हाल अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष, बौद्ध अध्ययनमा थाइलाण्डबाट विद्यावारिधि गरेका भिक्षु मैत्री महास्थविर, जनस्वास्थ्यतर्फ बिद्यावारिधि गरेका डा. करुणा लक्ष्मी शाक्य, अमेरिकामा जिनोमी साइन्समा विद्यावारिधि गरेका मिगुन शाक्यलाई सम्मानित गरिएको थियो । त्यसै गरि प्राविधिक सहयोग र आर्थिक व्यवसायतर्फ उत्कृष्ट रहिआएका संघका सदस्यहरुमा विहारको रेट्रोफिटिंग डिजाइन कार्य गरेबापत ईम्प्लिमेन्टिंग एक्सपर्ट ग्रुपका ई. अमृतरत्न शाक्य, तयारी पोशाक निकासी तर्फ राहुल मान शाक्य, हाते कागज निकासीतर्फ पदमरत्न धाख्वा, मिडिइभल बुद्धिष्ट पेन्टिंगतर्फ नरेश शाक्य, र हिरण्यवर्ण महाविहारमा दैनिक पूmलको व्यवस्थापन तथा सरसफाईमा योगदान दिंदै आएका बाउचा महर्जनलाई सम्मानित गरिएको थियो ।

समितिका सहसचिव ईन्द्रवीर शाक्यले संचालन गर्नुभएको सो कार्यक्रममा वार्षिक प्रगति प्रतिवेदन समितिका सचिव राम महर्जनले प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष किरण नरसिंह शाक्यले प्रस्तुत गरेका थिए । कार्यक्रममा पूर्वमन्त्री बुद्धिराज बज्राचार्य, पूर्व सांसद सिद्धिलाल सिंह, पूर्वमेयर बेखामान शाक्य, पूर्व मुख्यसचिव तिर्थमान शाक्य, धर्मोदय सभाका का.वा.अध्यक्ष लक्ष्मीदास मानन्धर, बौद्ध विहार संघका पुष्परत्न शाक्य, १६ वडा अध्यक्ष निर्मल रत्न शाक्य लगायतका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

Photo feature

Leave a Reply

Your email address will not be published. Required fields are marked *