Education Health Municipal news Social Women

ललितपुरमा मातृ शिशु स्वास्थ्यमा सुधार आवश्यक

ने.सं. ११३८, दिल्लागा तृतीया । २०७५ श्रावण १५ । जुलाई ३१, २०१८

नेपालले स्वास्थ्य क्षेत्रमा सरुवा रोग नियन्त्रणमा उपलब्धि हासिल गरेको देखिएतापनि मातृ शिशु स्वास्थ्यका सवालमा अझै समस्या भोगिरहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन ।
ललितपुरको जिल्लाको स्वास्थ्य, शिक्षा, कृषि र विपद विषयमा सरोकार राख्दै मानव अधिकार संचार प्रतिष्ठान (ईह्रिकन)को आयोजनामा भएको सरोकारवाला तथा संचारकर्मी भेटघाट कार्यक्रममा जिल्लाको स्वास्थ्य सेवा क्षेत्रबारे विषेश चर्चा गरिएको हो ।

“ललितपुर यस्तो जिल्लाका रुपमा देखा परेको छ जहाँ हेलिकप्टरबाट विरामी पनि ल्याइन्छ भने अर्कोतिर बाटोका कारण रेडक्रसको गाडी पनि समयमै सामुदायिक अस्पताल पुर्याउन समस्या छ,” जिल्लामा स्वास्थ्यबारे अनुगमन गरेका नन्दा ताम्रकारले आफ्नो प्रस्तुतिका क्रममा बताइन, “प्रायः सबै वडामा स्वास्थ्य चौकी रहेको बताइए पनि दक्षिण भेगमा टर्चलाईटका भरमा सुत्केरीको अपरेशनको कुरा युग सुहाउँदो पक्कै होइन ।”

अधिकारकर्मी ताम्रकारले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७३ र ०७४ भित्रको संकलित तथ्यांकका अनुसार जिल्लामा पाटन अस्पताल र किष्ट अस्पताल लगायत २२ वटा प्रसुति केन्द्र रहेतापनि ७७ प्रतिशतले मात्र संस्थागत केन्द्रको सेवा लिएका र दक्षिण भेगका हकमा ५८ प्रतिशतले मात्र सेवा प्राप्त गरेका छन । स्वास्थ्य सेवाकेन्द्र वा अस्पतालमा जन्माईएका बच्चाहरुले बिसिजी जस्ता प्रारम्भिक खोप ९० प्रतिशतले प्राप्त गरिएको पाइएतापनि डिपिटी र अन्य खोप लिने संख्या तुलनात्मक रुपमा कम रहेको उनले बताए ।

“महिलाहरु आफ्ना सन्तानकालागि स्वास्थ्य केन्द्र नपुग्नुको कारण गरिवी मात्र नभै स्वास्थ्यकर्मीहरुको व्यवहार र बालस्वास्थ्यबारे प्रभावकारी अभिमुखीकरणको कमी रहेको हामी स्पष्ट बुझ्न सक्छौं । यस्ता कारणले पनि रोग प्रतिरोधी क्षमता ह्रास भएर कुपोषणको शिकार पनि हुन सक्छन ।” जिल्लाको ग्रामीण भेगमा ५ वर्षमुनिका बालबालिकाहरुमा १५ प्रतिशतसम्म कुपोषण रहेको तथ्यांकमा जोड दिदैं ताम्रकारले भनिन ।

ललितपुरमा सुरक्षित गर्भपतनको अधिकारबारे ३८ प्रतिशत मात्र जानकार रहेको बताउँदै उनले २० वर्ष मुनिका युवतीहरुको ग्रामीण भेगमा २० प्रतिशत र शहरी भेगमा १५ प्रतिशत गर्भपतन हुने गरेको खुलासा गरिन । असुरक्षित गर्भपतनले हुने मृत्युदरमा नेपाल विश्वकै तेश्रो स्थानमा रहेको उल्लेख गर्दै उनले जिल्लामा मानसिक रोगीको यकीन तथ्यांक नपाईएता पनि नैराश्यता आदिका कारण आत्महत्या गर्नेको संंख्या बढ्दो रहेकोमा चिन्ता व्यक्त गरिन ।

ईह्रिकनका कार्यकारी निर्देशक कपिल काफ्लेले संचालन गर्नुभएको सो कार्यक्रममा संचारकर्मी दिपकप्रसाद घिमिरेले ललितपुर जिल्लाको शिक्षा, स्वास्थ्य, कृषि र विपद व्यवस्थापनको अवस्थाबारे प्रस्तुति गरेका थिए । संचारकर्मी घिमिरेले १ महानगर, २ नगरपालिका र ३ गाउँपालिकाहरु अन्तर्गत ७१ वडाहरु रहे पनि ललितपुर जिल्लामा ५ नगरस्वास्थ्य क्लिनिक, १८ मातृशिशु स्वास्थ्य क्लिनिक, ११ दैनिक स्वास्थ्य क्लिनिक, १ परिवार नियोजन संस्थागत क्लिनिक, ४२ वडा स्वास्थ्य क्लिनिक रहेको बताए । उनले कर्मचारी दरबन्दी प्राय पुरा भएको स्थानीय तहले बाए पनि कर्मचारी कार्यालयमा उपस्थित नरहेको कारण स्वास्थ्यको आधारभूत सेवा पनि जनताले पाउन नसकेको दावी गरे ।

शिक्षा क्षेत्रमा पनि संविधानले निर्वाचन पश्चात शिक्षा क्षेत्रको काम कारवाही स्थानीय तहबाट हुने व्यवस्था अनुसार ललितपुर जिल्लामा शिक्षा सेवाकालागि श्रोतकेन्द्र अन्तर्गत विद्यालयहरुको सुपरिवेक्षण र शिक्षण सिकाई तथा प्राविधिक सहयोग पुर्याउन १५ श्रोत व्यक्तिको व्यवस्था गरिएको थियो । तर व्यवहारमा स्थानीय तहमा छाएको अन्यौलता र कर्मचारी व्यवस्थापनमा कमजोरीका कारण आफू मातहत रहेका शैक्षिक संस्थाहरुको यकीन तथ्यांक समेत उपलब्ध गराउन नसकेको संचारकर्मी घिमिरेले जानकारी दिए ।

कार्यक्रममा स्वास्थ्य सेवा सम्बन्धित नहुँदा क्लिनिकका रोशनी कर्माचार्य, पशु तथा कृषि सम्बन्धित संघसंस्थाका प्रतिनिधीसँगै विभिन्न संचारमाध्यमका संचारकर्मीहरुले खानेपानी, प्रदुषित दुध, फोहोर व्यवस्थापन तथा कृषिमा अत्याधिक रसायनको प्रयोगले भैरहेको स्वास्थ्य समस्या प्रति आफ्ना धारणा राखेका थिए । सहभागीहरुमध्येबाट आगामी अनुगमन र विषयगत सूचना संकलनकालागि आयोजकले ५ जनाको टोली पनि चयन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *