Feature News Municipal news Photo Feature Social Tourism Youth & Sports

वडा १६ युवामैत्री बजेट ल्याउँदै

११३८ तछला गाः द्वितीया । २०७५ असार १५ । २०१८ जुन २९
राजेश बज्राचार्य, ललितपुर

विपद व्यवस्थापनकालागि युवा परिचालनमा चर्चित ललितपुर महानगरपालिकाको वडा १६ले युवामैत्री बजेट पनि ल्याउने भएको छ ।

शुक्रबार वडास्तरिय युवा भेलाको आयोजना गर्दै ललितपुर महानगरपालिका १६ वडाका वडाध्यक्ष निर्मलरत्न शाक्यले व्यवहारिक धरातलमा टेकेर दीगो परिचालनकालागि युवामैत्री बजेट ल्याउने तयारी गरिएको बताएका हुन ।

वडा सदस्य विजय महर्जनको सभापतित्वमा संचालित सो कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका वडाध्यक्ष शाक्यले स्थानीय तहमा आफू जनप्रतिनिधिका रुपमा आएलगत्तै युवा भेलामार्फत विपद व्यवस्थापनकालागि पुनर्गठित स्वयंसेवक संजालले वर्षभरिमा थप सफलता हासिल गरेकोे स्मरण गरे । आगामी दिनमा तीनै युवाहरुको स्वयंसेवक संजाललाई व्यापकता दिंदैं आधिकारिक रुपमा वडा विकासमा परिचालित गर्न नीतिगत रुपमै सम्बोधन गर्ने उनले प्रतिवद्धता व्यक्त गरे ।

महानगरको आगामी परिषदकालागि वडाभित्रका अमूर्त सम्पदा संस्कृति प्रवद्र्धन लगायत विभिन्न लक्षित वर्गका समस्याहरुको पहिचानका आधारमा समग्र वडाको योजना तथा कार्यक्रमहरु बन्दै गरेको जानकारी दिंदै वडाध्यक्ष शाक्यले तीनको सफल कार्यान्वयनकालागि युवा परिचालनको भूमिका र क्षमता विकास कार्य महत्वपूर्ण हुनेमा जोड दिए ।

‘जनप्रतिनिधिका रुपमा कार्य थालेदेखि टोलटोलमा रहेका अनेक किसिमका चुनौती तथा समस्याहरु समाधान गर्न आवश्यक देखिएको युवा वर्गको सक्रिय सहभागितालाई युवामैत्री बजेटमार्फत प्रोत्साहित तुल्याउन आवश्यक छ,’ वडाको विकासमा युवाको भूमिका महत्वपूर्ण हुनेमा बिश्वस्त रहेका उनले भने, ‘युवा भेलालाई वडा योजना निर्माणसँग प्रत्यक्ष जोड्ने काम भएको छ, युवावर्गकै चाहना अनुरुप कार्यक्रमहरु ल्याउने हाम्रो प्रतिवद्धता रहनेछ ।’

युवाको स्वयंसेवक भूमिका विषयक अन्तरक्रिया कार्यक्रमका सहजकर्ता सामाजिक उद्यमी एवम् पर्यटनविद् अनिल चित्रकारले नेपाली समाज विकासमा व्यक्तिको उपलब्धि टोल र समाजसँग जोड्ने संयन्त्र आवश्यक रहेको बताए ।

पैदल सम्पदा यात्रा लगायतका पर्यटन विकास सम्भावना निकै रहेको १६ वडामा पर्यटक आगमन र समय व्यतित गर्ने संख्या कम हुने गरेको तथ्याङ्क प्रस्तुत गर्दै सहजकर्ता चित्रकारले समूहगत छलफल र अन्तक्र्रिया मार्फत सहभागी युवाहरुको चाहना संश्लेषण गर्न सघाएका थिए । तथ्यांकका आधारमा वस्तुगत परिवर्तन गर्ने अठोटसहित युवाले आफ्नो सोच्ने तरीका विकसित तुल्याउनु पर्ने औल्याउँदै त्यसकालागि आवश्यक श्रोत साधन र क्षमता अभिबृद्धिका कार्यक्रमहरु तय गर्न सहभागीहरुलाई उनले प्रोत्साहित गरेका थिए ।

वडाको पर्यटन विकास लक्ष्यको अपनत्व बढाएर अठोटकासाथ समुदायका युवाहरुले चाईनिज भाषा सिक्ने वातावरण बन्नु र पर्यटन क्षेत्रमा एक जना चाइनिज गाईड बन्ने अवस्थाको भिन्नताबारे बुझाउँदै उनले वडाको सामुदायिक स्वार्थभित्र आफ्नो व्यक्तिगत लाभलाई जोडन अभिप्रेरित गरे ।

मन्तव्यका क्रममा कार्यक्रम संयोजक विजय महर्जन लगायतका वक्ताहरुले व्यक्तिको दायित्व समुदाय विकासकालागि भएमा विकसित समुदायले पर्यटन लगायत आर्थिक सम्बृद्धिको ढोका खुल्ने बताए । सल्लाहकार दिलिप जोशीले पाटनको लोपोन्मुख ऐतिहासिक अष्टमातृका नाच युवाहरुको सामुदायिक पहलले पुनर्जिवित भएको उदाहरण दिंदै युवाहरु अझ संगठित हुन आवश्यक रहेको बताए ।

वडा विकासकालागि पर्यटन, शिक्षा, स्वास्थ्य, खेलकूद, हस्तकला लगायतका विषयमा समूहगत रुपमा प्रस्तुत गरिएका युवाहरुको बिचार र कार्यक्रमहरु संश्लेषित गराई वडाले ठोस निर्णयकासाथ महानगरपालिकाको नगर परिषदमा पेश गर्ने सोच लिएको वडाध्यक्षले जानकारी दिएका छन । युवा तथा स्थानीयहरुको आलेख्य उपस्थिति रहेको उक्त अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व सदस्य एवं वडा सल्लाहकार डा. सुमित्रा अमात्य, वडा सदस्य सुप्रभा शाक्य, पञ्चबज्र शाक्य लगायतले पनि सक्रिय सहभागिता जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *