Feature News Municipal news National Photo Feature Social Youth & Sports

विपद व्यवस्थापन तालिमलाई व्यवहारमा उतार्न आवश्यक

ने. सं. ११३८ चिल्लागा नवमि । फागुन २७, २०७४ । मार्च ११, २०१८ । आइतवार

ललितपुर महानगरपालिकाको आयोजनामा सशस्त्र प्रहरी बल, बिपद व्यवस्थापन केन्द्र कुरिनटारमा भएको ३ दिने आवसीय तालिमलाई व्यवहारमा उतार्न आवश्यक रहेको समापन कार्यक्रमका वक्ताहरुले जोड दिएका छन ।

ललितपुर महानगरपालिकाका उप प्रमुख गिता सत्यालको सभापतित्वमा सहभागीहरु तथा प्रशिक्षकहरुलाई प्रमाण पत्र वितरण सहित भएको तालिम समापन कार्यक्रमका वक्ताहरुले सो कुरामा जोड दिएका हुन ।

तालिम कार्यक्रमका संयोजक वडा नं १६ का वडाध्यक्ष निर्मल रत्न शाक्यले तालिम अवधिभर आफ्नै घरका परिवारसँग बसेको अनूभुती भएको बताउँदै तालिमप्राप्त सहभागीहरुले वडास्तरमा विपद व्यवस्थापन समितिलाई प्रभावकारी कार्यान्वयनमा ल्याउने दायित्व रहेको बताए । “तालिमको प्रभावकारिताका आधारमा सशस्त्र प्रहरी बल र महानगरपालिकाबीच दीर्घकालीन सम्झौताको आवश्यकताको बोध भएको छ ।” उनले भने, “दोश्रो चरणमा बाँकी वडाहरुका युवाहरुलाई तालिम दिनुका साथै हरेक वडामा तालिमप्राप्त युवाहरुलाई परिचालित गर्न न्यूनतम श्रोतसाधनको व्यवस्थातर्फ पनि महानगरपालिकाको ध्यानाकर्षण गराउन चाहन्छु ।”

कार्यक्रमको समापनकालागि पुग्नुभएका वडा ३ का अध्यक्ष श्री गोपाल महर्जनले सहभागीहरुलाई वडास्तरमा तालिमको कार्यान्वयन पछि वास्तविक धन्यवादका पात्र हुने बताउँदै शुभकामना व्यक्त गरे । महानगरपालिकामा वार्षिक ६० लाख विपद व्यवस्थापनकालागि बजेट रहेको उल्लेख गर्दै उनले यस्ता महत्वपूर्ण तालिममा सहभागी छनौटमा ध्यान पुर्याउनु पर्नेमा जोड दिए ।

तालिमका सहभागीहरुको प्रतिनिधित्व गर्दै वडा नं ३ का रञ्जु प्रणामी र वडा नं ५ का कृष्ण रिजालले उत्कृष्ट प्रशिक्षकबाट सिकेका खोज तथा उद्धारका व्यवहारिक र प्राविधिक ज्ञान जीवनोपयोगी भएको धारणा व्यक्त गरे । “समुदायस्तरमा विपद व्यवस्थापनबारे जनचेतना बढाउन तालिममा सहभागीहरु सम्मिलित दक्ष समूह आवश्यक देख्यौं । यसकालागि तालिम अवधि बढाउन सकिए दक्षता सहित युवाहरुको भूमिका प्रभावकारी बन्न सक्छ ।” सहभागी कृष्ण रिजालले भने ।

तालिमको सिकाईमध्ये प्राथमिक उपचारबाट प्राप्त ज्ञान तत्कालै लागू गर्न सकिनेमा सहभागीहरुको आत्मविश्वास बढेको बताउँदै प्राप्त ज्ञानलाई थप व्यवहारमा उतार्न सामान्य उद्धार सामाग्री भण्डारण तथा निष्क्रिय वडास्तरीय समितिको पुनर्गठनमा लाग्नुपर्नेमा उनीहरुको जोड रहेको थियो । सिकेका कुरालाई समुदायस्तरमा विपद व्यवस्थापन पूर्वतयारीबारे निरन्तर छलफलबाट अरुलाई शिक्षित बनाउन सक्नाले स्थानीय तह विपद व्यवस्थापनमा युवा भूमिका स्थापित हुने उनीहरुको धारणा व्यक्त गरे ।

कार्यक्रमका प्रमुख अतिथी, तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरिक्षक ई.प्रजाभक्त श्रेष्ठले तीन महिना लाग्ने प्रशिक्षणलाई महानगरपालिकाको अनुरोधमा परिचयात्मक तालिम व्यवस्था गरिएको बताए । “तीन दिनमा सबै कुरा सिकें भन्ने नहोस भन्नाकालागि सैद्धान्तिक कक्षा भन्दा बढी प्रदशर्नात्मक तरीका अपनाएर केन्द्रमा रहेका उत्कृष्ट प्रशिक्षकहरुबाट यहाँहरुलाई प्रशिक्षित गरिएको छ ।” उनले भने, “तालिमका सहभागी सबैले उपलब्ध न्यूनतम श्रोतको अधिकतम प्रयोग गरेर उद्धार कार्यमा तत्पर रहने र विपदमा रहेकाप्रतिको सेवाभावलाई सर्वोपरी राख्नुहुनेछ भन्नेमा विश्वस्त रहेका छौं ।”

कार्यक्रमका सभापति एवं ललितपुर महानगरपालिकाका उप प्रमुख गिता सत्यालले विपद व्यवस्थापन निमित्त प्रत्येक वडामा ६ जना दक्ष युवा निर्माण गर्ने उद्धेश्य अनुरुप तालिमको आयोजना गरिएको बताए । ७२ सालको भूकम्पमा आफ्नै ज्यानको पर्वाह नगरी उद्धारमा खटिएका सशस्त्र प्रहरीहरुको योगदानलाई स्मरण गर्दै उप प्रमुख सत्यालले तीनै महान व्यक्तिहरुबाट सहभागीहरुलाई प्रशिक्षित गराउन पाएकोमा आफू लगायत सबैको मनोबल उच्च रहनेमा विश्वास व्यक्त गरे ।

महानगरभित्र सम्भावित दुर्घटना र प्रकोप व्यवस्थापन पूर्वतयारीकालागि आयोजित तालिमलाई व्यवहारमा उतार्न आवश्यक तालिममा सहकार्यकालागि सशस्त्र प्रहरी बल, बिपद व्यवस्थापन तालिम केन्द्रलाई अनुरोध गर्दै उनले सहभागीहरुलाई भने, “उहाँहरु जस्ता गुरुहरुले तपाईहरुलाई शीप हस्तान्तरण गरेका छन, त्यसलाई निरन्तर अरुमा बाँड्नुकासाथै उद्धार कार्यमा लाग्ने अठोटले हामी सबै बिनावर्दीका उद्धारकर्मी बन्न आग्रह गर्दछु ।”

कार्यक्रममा तालिमका सहभागीहरुलाई प्रमुख अतिथी श्रेष्ठ र उप प्रमुख सत्यालले प्रमाण पत्र वितरण गरेका थिए भने ललितपुर महानगरपालिकाका तर्फबाट प्रमुख अतिथी तालिम केन्द्रका समादेशक ई. प्रजाभक्त श्रेष्ठलाई मायाको चिनो प्रदान गरिएको थियो । त्यसैगरि तालिमका प्रशिक्षकहरु सशस्त्र प्रहरी उपरिक्षक बिरेन्द्र बहादुर श्रेष्ठ, सशस्त्र प्रहरी नायब निरीक्षक विरेन्द्र बहादुर वम, सशस्त्र प्रहरी निरीक्षक अजय थापा, सुबास पुलामी, रामकुमार खिउजु, स.प्र.जवान निर्मल श्रेष्ठ र मान बहादुर साउदलाई उप प्रमुख गिता सत्यालले प्रमाण पत्रसहित मायाको चिनो प्रदान गरेका थिए ।

खोज, उद्धार तथा प्राथमिक उपचार केन्द्रित पहिलो चरणको तालिम अन्तर्गत १ देखि १६ वडाका सहभागीहरुलाई आव्हान गरिएकोमा वडा जम्मा ११ वटा वडाका सदस्यहरु सहित ४० जना युवाहरु तालिममा सहभागी रहेका थिए । तालिममा अग्नि नियन्त्रण, उपकरण र उपसाधनहरु, विपदमा रहेको व्यक्तिको स्थान पहिचान गर्ने तरिका, डोरीको सहायताले गर्ने उद्धार तरीका, उद्धार गरिएका घाइतेको जाँच पट्टी प्रयोग, स्थानान्तरण तथा पानीमा गरिने उद्धार तरीकाको व्यवहारिक शीप प्रदान गरिएको थियो ।

PHOTO FEATURE: https://www.facebook.com/pg/IndepthNepal/photos/?tab=album&album_id=1646068785506609

Leave a Reply

Your email address will not be published. Required fields are marked *