Business and CSR Education Health International National Provincial News Social

विश्वस्तरीय उपचार नेपालमा स्थापित गर्दै नेपाल क्यान्सर अस्पताल

ने.सं. ११३८ अनलागा पञ्चमी । जेठ २०, २०७५ । जुन ३, २०१८
राजेश बज्राचार्य, ललितपुर

नेपालमै अत्याधुनिक प्रविधिबाट क्यान्सर निदान एवं विशिष्ट उपचारकालागि ललितपुर हरिसिद्धिमा स्थापित नेपाल क्यान्सर अस्पताल एन्ड रिसर्च सेन्टरले विश्वस्तरीय उपचार स्थापित गराउँदै पहिलो वार्षिकोत्सव मनाएको छ ।

‘नेपालीको क्यान्सरको उपचार नेपालमा नै’ मूल नारासाथ अस्पतालले आयोजना गरेको प्रथम वार्षिकोत्सवको उद्घाटन गर्दै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भने, ‘गुणस्तरीय स्वास्थ्य सेवाका लागि यस्तो अस्पताल हरेक प्रदेशमा हुने हो भने उपचारका लागि विदेशिनुपर्ने बाध्यताको अन्त्य हुन्थ्यो र अरबौं नेपाली रुपैयाँ जोगिन्थ्यो।’

विभिन्न प्रकारका क्यान्सर रोगीहरुको संख्या बढ्दै गएकोमा जनचेतना कार्यक्रमको आवश्यकतामा जोड दिंदै उनले भने, ‘हामीकहाँ क्यान्सरको पहिचान तेस्रो वा चौथो स्टेजमा पुगेपछि मात्रै हुने गरेको पाइन्छ । सुरुवाती अवस्थामै क्यान्सरको पहिचान गर्ने जनचेतना अझै बृद्धि गर्न सकिए आर्थिक बचत र अकालमै ज्यान गुमाउनुपर्ने यस परिस्थितीलाई बदल्न सकिन्थ्यो ।’ उनले भने।

कार्यक्रमा बोल्दै ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्यालले अस्पताल महानगरपालिकाको गहना भएको बताइन् । स्थापनाको पहिलो वर्षभित्रै गुणस्तरीय स्वास्थ्य सेवामा उत्कृष्ट देखिएको क्यान्सर अस्पतालकालागि महानगरका तर्फबाट आवश्यक सहयोग गर्न तत्पर रहेको उनले बताइन् । अस्पतालले गर्दै आएको जनचेतनात्मक कार्यको प्रशंसा गर्दैै उनले भने, ‘ महिलाहरुमा देखिने स्तन तथा पाठेघर क्यान्सर न्यूनीकरणकालागि ललितपुर महानगरपालिकाका हरेक वडामा जनचेतनामूलक परीक्षण कार्यक्रम आयोजनाकालागि हातेमालो गर्न तयार छौं ।’

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले कार्यक्रममा सहभागी भएर अस्पतालबारे अझ नजिकबाट बुझ्न अवसर मिलेको बताए । उनले भने, ‘गुणस्तरीय सेवा दिंदै विदेशीहरु समेत उपचारकालागि यहाँ आउन थालेको सुनेको छु, नेपाली स्वास्थ्यसेवा क्षेत्रका लागि यो गौरवको विषय हो । नेपालमै क्यान्सरको उपचार गराउनकालागि प्रचार म आफैले पनि गर्नेछु, विश्वस्तरीय गुणस्तरको सेवा प्रदान गर्दै नेपालमा क्यान्सर न्यूनीकरण अभियानकालागि अस्पताललाई हार्दिक शुभकामना । ’

कार्यक्रममा प्रदेश ३ का प्रदेश सभा सदस्य राजकाजी महर्जनले अस्पतालको स्थापनाकालदेखि नै यसको उद्धेश्यप्रति विश्वस्त भई सहयोग गरेको स्मरण गर्दै अस्पताललाई प्रादेशिक तहमा नमूनाका रुपमा स्थापित गर्न सकिने बताए ।

कायक्रममा नेपाल क्यासर अस्पताल एण्ड रिसर्च सेन्टरका कार्यकारी अध्यक्ष डा सुदिप श्रेष्ठले क्यान्सर विरामी सेवामा बहुआयामिक दृष्टिकोणको सामूहिक प्रयत्नका कारण अस्पतालले छोटो समयमै प्रगति हासिल गर्न सकेकोमा सबै चिकित्सक, डाक्टर, नर्स तथा प्राविधिक धन्यवादका पात्र रहेको बताए । वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै डा. श्रेष्ठले भविष्यमा अस्पताललाई क्यान्सर सम्बन्धित रिसर्च केन्द्रका रुपमा स्थापना गर्ने लक्ष्य रहेको बताए ।

‘गुणस्तरीय सेवाका लागि अस्पतालले मेडिकल उपकरण, दक्ष जनशक्ति र अस्पताले दिने सेवामा कुनै सम्झौता गरेका छैनौं,’ उनले भने, ‘परम्परागत अस्पताल व्यवस्थापनको सोचलाई बदल्दै हामीले विरामी लाई केन्दबिन्दुमा राखेर बहुआयामिक उपचारविधिलाई संस्थागत गर्ने प्रयत्न गरेका छौं । हाम्रो पद्धतिले अस्पतालका कर्मचारीहरु चिकित्सा, नर्सिंग लगायत प्रशासनिक क्षेत्रमा विषयगत रुपमा आफूलाई विकास गर्ने मौका पाउनेछन ।’

क्यान्सर उपचारका लागि विदेश नै जानुपर्ने सोचलाई बदल्न नेपालमै विश्वस्तरीय स्वास्थ्य सेवा स्थापना गरिएको बताउँदै डा. श्रेष्ठले भने ‘नेपालमा क्यान्सर अस्पताल मात्रै हैन, पछिल्लो समय धैरै क्यान्सर विशेषज्ञ र चिकित्सक उत्पादन भइसकेको जानकारी गराउँदछौं, गुणस्तरमा कुनै सम्झौता नगरिएको नेपालका क्यान्सर अस्पताल र नेपाली चिकित्सकहरुको क्षमतामा विश्वस्त रहन विशेष आग्रह गर्दछु ।’

५ सय भन्दा बढी जनशक्ति रहेको अस्पतालले वार्षिक उत्सवको अवसरमा सेवाअवधि एक वर्ष नाघेका २ सय २० जना कर्मचारीलाई स्थायी गरेको छ भने प्रत्येक वर्ष गे्रड थप्ने जनाएको छ । अस्पतालमा कार्यरत कर्मचारी, डाक्टर, नर्स सबैलाई उत्कृष्ट कर्मचारी, चेयरमान अवार्ड लगायत विषयगत योगदानबापत विभिन्न पुरस्कार पनि प्रदान गरिएको सो वार्षिकोत्सवमा अस्पतालकै कर्मचारीहरुले विभिन्न साँस्कृतिक मनोरञ्जनका कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।

नेपाली जनताको आर्थिक पहुँचभित्र रही अन्तर्रा्स्ट्रिय मापदण्डअनुरूप एउटै छानामुनि क्यान्सरको गुणस्तरीय उपचार सेवा, वरिष्ठ क्यान्सर विशेषज्ञ एवं शल्यचिकित्सकका साथै अत्याधुनिक प्रविधिबाट क्यान्सरको तीनै थरी उपचार सेवा केमोथेरापी (औषधि), सर्जरी (शल्यक्रिया र रेडियोथेरापी (क्यान्सर लागेको भाग सेक्ने) उपचार दिँदै आएको अस्पतालले जनाएको छ ।
नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टर र नेपाल क्यान्सर सपोर्ट गुप्रको साझेदारीमा काठमाडौँ, ललितपुर, सिधुपाल्चोक, गोरखा, कास्की, पाल्मा, रुपन्देही, लमजुङ जिल्लामा गरी १५ वटा निःशुल्क स्वास्थ्य शिविर गरिएको र जहाँबाट करिब १० हजार व्यक्तिहरुले स्वास्थ्य सेवा लिएको अस्पतालले जनाएको छ।

यस अस्पतालमा अहिले उपलब्ध उपचारात्मक सेवाहरुलाई मुख्यत तीन विभागमा समेटिएको छ । मेडिकल अन्कोलोजी अन्तर्गत अष्ट्रेलियन दिशानिर्देशनको केमोथेरापी र ओएसएचए गाइडलाइनमा आधारित सुरक्षित केमोथेरापी तयारी सेवा उपलब्ध छ । यसैगरी सर्जरी अन्कोलोजी अन्तर्गत हेड एण्ड नेक सर्जरी, थोरासिक सर्जरी, हेपाटोबिलरी सर्जरी, ग्यास्ट्रो इन्टेस्टाइन सर्जरी, ब्रेष्ट सर्जरी लगायतको व्यवस्था छ । यसकारण पनि अब नेपालबाट कुनै पनि क्यान्सरका बिरामी उपचारका लागि विदेश जानु नपर्ने र सबै क्यान्सरको उपचार नेपालमा नै सम्भव रहेको अस्पतालको दावी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *