Arts and Crafts Culture & Heritage International National Social Tourism

विश्व शान्तिको कामनार्थ अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी

ने.सं. ११३८ यँलाथ्व द्वादशी शुक्रवाः । २०७५ असोज ५ । सेप्टेम्वर २१, २०१८
काठमाडौं

अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा विश्व शान्ति र सद्भावको कामना गर्दै बौद्धस्थित तारागाउँ रेगेन्सीमा अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनीको आयोजना गरिएको छ ।

विश्व शान्ति र सदभावका लागि विभिन्न मूलुकहरुमा प्रदर्शन गर्ने क्रममा यस वर्षको शान्ति दिवसका अवसरमा नेपालमा “कोर डि डोना” शिर्षकमा उक्त अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी गरिएको हो । वरिष्ठ कलाकार के.के. कर्माचार्यले सभापतित्व गर्नुभएको उक्त प्रदर्शनीको संयुक्त आयोजना पिस म्यूजियम नेपालको संयोजन आस.मु.दो. नामक ईटालीको कलाकार संघ र लुम्बिनी वल्र्ड पिस फोरमले गरेको हो ।

लुम्बिनीलार्ई विश्व सदभाव केन्द्रका रुपमा स्थापना गर्न युनिभर्सल पिस सान्चुआरी भवन निर्माणमा लाग्नु भएका रिम्पोच स्यालगेन तेन्जिनको प्रमुख आतिथ्यतामा भएको सो प्रदर्शनीमा ईटालीका शान्तिका लागि राजदूतका रुपमा चर्चित कलाकार ग्लादिसले ¬चित्रकलामार्फत विश्व शान्ति र सदभाव फैलाउन नेपाल आइपुगेको बताएका थिए ।

चित्रकला क्षेत्रमा विशेषतः कन्टेम्पररी आर्ट क्षेत्रमा रंगक्रान्तिको आवश्यकतामाथि प्रकाश पार्दै उनले भने, “चित्रकला यस्तो माध्यम हो जसबाट हामीले भाषिक, जातिय वा अन्य भेदलाई रंग र कलाले चिर्न सक्छौं, संगीत झै विश्वलाई एकतावद्ध गर्न चित्रका माध्यमबाट आत्मियता, शान्ति सद्भाव र भाईचारा बढाउन हाम्रो अभियानका रुपमा हामी नेपालसँग जोडिएका छौं ।”

लुम्बिनी वल्र्ड पिस फोरमका अध्यक्ष बासु गौतमले कार्यक्रम सञ्चालन गर्ने क्रममा फोरमले विश्व शान्तिको सन्देश दिन देश विदेशमा चित्रकला प्रदर्शनी गर्दै आएको बताउँदै यस पटक शान्तिका अग्रदूत बुद्धको देशमा विश्व शान्ति दिवसकै दिन कार्यक्रम आयोजना गर्न पाएकोमा खुशी व्यक्त गरे । कार्यक्रममा नेपाली चित्रकलाको महत्व र विश्व कलाकारहरुसँगको चित्रकला अवलोकनले बढाउने आपसी सदभावमा जोड दिंदै वरिष्ठ कलाकार रमेश खनाल र सभापति के.के. कर्माचार्य लगायत विशिष्ट व्यक्तित्वहरुले नेपालकालागि चित्रकला पर्यटनको सम्भावनाबारे आफ्ना धारणा व्यक्त गरे ।

प्रमुख अतिथि रिम्पोच्छेले कलाकारमा रहेको करुणा र विषयप्रतिको गहिरो ज्ञानको अभिव्यक्तिले मात्र चित्रकला जन्मने बताउँदै नेपाल विभिन्न विधाका कलाकृतिसँगै प्रकृतिको कलामा समेत धनी भएको बताए । उनले २१औं शताब्दीमा विकसित प्रविधिका माध्यमबाट हामी सबै विश्वग्रामका नागरिक भइसकेकोमा जोड दिंदैं एक अर्काको फरक भाषा, धर्म र संस्कृतिप्रति समान करुणाभावलाई पनि चित्रकलाले प्रवर्द्धन गर्न सक्ने बताए ।

शान्तिनायक बुद्धले नयाँ धर्म नभई सबैमा रहेको करुणाभावलाई उजागर गरेको बताउँदै उनले भने, “विश्वभर फरक धर्मावलम्वीहरुको मक्का, जेरुसालेम, रामग्राम लगायतका आफ्नै आस्थाकेन्द्रहरु रहेका छन । तर हामी सबैको शान्ति र सदभावको चाहना स्थापित गर्न लुम्बिनीमा सबै धर्मावलम्वीहरुको साझा केन्द्रका रुपमा युनिभर्सल पिस सान्कचुआरी निर्माण गर्ने अभियानमा लागेका छौं । ” रिम्पोच्छेले उक्त परिकल्पनाको चित्र देखाउँदै निर्माण सहयोगार्थ चन्दा संकलनकालागि हलिउडमा भव्य गाला रात्रीभोजको आयोजना समेत गरिने बताए ।

चित्रकला प्रदर्शनीमा महिला कलाकारहरुको सम्मान गर्दै महिला प्रकृतिको जननी रहेको स्मरण गराउँदै उनले हामीभित्र रहेका अहम भावना नै शान्तिको बाधक भएकाले निरन्तर रचनाको अभ्यासले अहमलाई निर्मूल गर्न सकिने बताए । प्रदर्शनीको सफलताकालागि शुभकामना व्यक्त गरेका उनलाई ईटलीका कलाकार ग्लादिस र प्रदर्शनी संयोजक विष्णु विश्वकर्माले प्रदर्शनीका चित्रकला अवलोकन गराएका थिए ।

नेपाल लगायत १३ देशका कलाकारहरुको चित्रकला समावेश गरि घुमन्ते चित्रकला अभियान अन्तर्गत नेपालमा आयोजित सो चित्रकला प्रदर्शनी ३ दिन सम्म चल्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *