Crime News & Prevention Feature News Social

शान्ति सुरक्षाको विषय जनप्रतिनिधिको पनि दायित्व

भाद्र २६, ललितपुर

पाटन दरवार क्षेत्र परिसरको बहादुर शाह बैठक हलमा सम्पन्न शान्ति सुरक्षाका सवालमा समुदायको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा उपस्थित वडा अध्यक्षहरुले शान्ति सुरक्षाको विषय जनप्रतिनिधिको पनि दायित्व भएको स्विकार गरेका छन ।

महानगरीय प्रहरी प्रभाग मंगलबजारको आयोजना तथा राष्ट्रिय युवा महासंघ, ललितपुर शाखाको संयोजनमा सम्पन्न उक्त कार्यक्रममा उपस्थित वडा अध्यक्षहरुकोे प्रतिनिधित्व गर्दै वडा १२ का वडाध्यक्ष नारायण अवालेले सो कुरा बताएका हुन । दशैं र तिहार जस्ता प्रमुख चाडवाड नजिकिंदै गर्दा सम्भावित अपराध न्यूनीकरण गर्न उनले आगामी दिनहरुमा शान्ति सुरक्षाको विषयलाई आफू मातहतका टोल सुधार, महिला समूह लगायतका स्थानीयवासीहरुमाझ प्रहरीको कार्य थप जनमैत्री बनाउन उक्त कार्यक्रमहरुको आयोजना गर्ने प्रतिवद्धता जाहेर गरेका हुन ।

महानगरिय प्रहरी प्रभाग मंगलबजार भवन निर्माण समितिका अध्यक्ष समेत रहनु भएका ललितपुर उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष अजरमान जोशीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा जिल्लामा नवनियुक्त हुनुभएका प्र्रहरी वरिष्ठ उपरिक्षक गणेश बहादुर ऐरलाई स्वागत गरिएको थियो ।

जनसमुदाय र प्रहरीबीचको सम्बन्धलाई थप दीगो बनाउन स्थानीयवासीहरुले लागूपदार्थ दूव्र्यसन, चोरी ठगी लगायतका विषयमा चनाखो भई विना वर्दीको प्रहरी हुनु आजको आवश्यकता रहेकोमा राष्ट्रिय युवा महासंघ ललितपुरका उपाध्यक्षसमेत रहनुभएका सुनील महर्जनले जोड दिए । स्वागत मन्तव्यका क्रममा उनले प्रहरी प्रशासनलाई जनमैत्री बनाउन मुस्कान सहितको प्रहरी, प्रहरी मेरो साथी जस्ता अभियानलाई व्यवहारिक बनाउनुकासाथै लागूपदार्थ दुव्र्यसन विरुद्धको अभियान झैं स्थानीय तहमा जनप्रतिनिधिको उपस्थितिलाई शान्ति सुरक्षा व्यवस्थापनका सवालमा विभिन्न जातिय समाज, टोल सुधारसँगको सहकार्यमा समुदायको हितमा परिचालन गर्न सकिने बताए ।

कार्यक्रममा बोल्नुहुँदै प्रभागका प्रमुख एवं प्रहरी निरीक्षक प्रकाश थापाले भने, “प्रभागले यसअघि असार १६ गते आयोजना गरेको भेलामा प्रहरी र समुदायबीचको अन्तरक्रियालाई निरन्तरता दिनुपर्ने सुझाव आएको थियो ।” निकट भविष्यमा वडास्तरीय गोष्ठीको आयोजनामार्फत प्रहरी प्रशासन र शान्ति सुरक्षा प्रभावकारी बनाउन बृहत नागरिक संजाल निर्माण गर्न सहभागीहरु सहमत भए अनुरुप वडास्तरमै शान्ति सुरक्षाका विभिन्न सवालमा कार्यक्रमको आयोजनालाई प्रोत्साहन गर्न कार्यक्रमको आयोजना गरिएको उनले बताए ।

कार्यक्रममा सहभागी पाटनवासी राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले जिल्लामा प्रहरीको प्रशासनको संक्षिप्त इतिहास उल्लेख गर्दै हाल उपभोक्ताको विभिन्न प्रकारले हुने ठगी, सम्बन्धित अपराध तथा कानूनी व्यवस्था लगायत यस विरुद्धको अनुगमन नीतिबारे स्थानीयवासी सचेत हुनुपर्ने आवश्यकतामा जोड दिनुभयो । उनले यसकार्यमा प्रहरी प्रशासनसँगै जनप्रतिनिधिहरु पनि सक्रिय रहनुपर्नेमा जोड दिएका थिए ।

जनमैत्री प्रहरी प्रशासन स्थापना गर्न लागिपरेको ललितपुर उद्योग बाणिज्य संघका अध्यक्ष सविन श्रेष्ठले विषय प्रवेश गर्दै व्यवसायिक क्षेत्रले पनि समग्र ललितपुर जिल्लाको विकास निर्माण तथा सामाजिक विकासकालागि प्रहरी समन्वयमा लागि परेको असर अन्य जिल्लाको तुलनामा ललितपुरमा विभिन्न अपराध र उपभोक्ता ठगीको संख्या कम रहेको जिकिर गरे ।

अन्तरक्रियामा सहभागीहरुले प्रहरीको कार्य थप जनमैत्री बनाउन निर्वा्चित जनप्रतिनिधिको भूमिका महत्वपूर्ण रहेको औल्याउँदै अन्तरक्रिया कार्यक्रम औपचारिकतामा सिमित हुन नदिन सुझावहरु प्रस्तुत गरेका थिए । वक्ताहरुले समयसापेक्ष रुपमा आयोजित उक्त कार्यक्रमले जनप्रतिनिधिहरुको शान्ति सुरक्षा व्यवस्था प्रतिको धारणा र जवाफदेहिता स्थापित हुनेगरि प्रहरी र स्थानीय संघसंस्थाहरुबीचको सहकार्यलाई त्रिपक्षीय अन्तरक्रियाका रुपमा विकसित गर्नुसकिने विश्वास व्यक्त गरेका थिए ।

 

२३सय वर्ष भन्दा पनि पुराना सम्पदाहरु रहेका स्थानको सुरक्षार्थ पूर्व सूचना र सहकार्यसहितको नियमित गश्तीको आवश्यकता, प्रहरी सेवाबारे जानकारीमूलक पोष्टरहरु वितरण तथा कोर वस्तीमा डेरावालहरुको समस्या व्यवस्थापनबारे बौद्ध विहार संघका अध्यक्ष पुष्परत्न शाक्यले सुझाएका थिए । ताम्रकार समाजका अध्यक्ष रविन्द्रराज ताम्रकारले बदलिंदो परिस्थिति र जनघनत्वको चाप व्यवस्थापन गर्न मंगलबजारमा प्रहरी प्रभागलाई प्रहरी बृतको रुपमा स्तरोन्नति गरिनु पर्ने बताए । सुनचाँदी व्यवसाय संघका अध्यक्ष किरणभाई बज्राचार्यले दशैं तिहार जस्तो प्रमुख चाडवाडका बेला विशेषतः सुनचाँदी व्यवसाय लगायत अमूल्य सम्पदाको चोरी, डकैती र ठगी विषयमा हुनसक्ने अपराध विरुद्ध सचेतताकालागि अपराध अनुसन्धानबाट देखिएका नक्कली हातहतियार तथा आत्मरक्षाका उपायहरुबारे श्रव्यदृष्यसहितको अभिमुखीकरण कार्यक्रम प्रभावकारी हुने सुझाए ।

वक्ताहरुले प्रहरी कार्यको सराहना सँगै नागरिकमैत्री प्रशासनमा आफ्ना अपेक्षाहरु, शान्ति सुरक्षा र विकास निर्माण लगायत जात्रा पर्व सञ्चालनमा प्रहरीको भूमिका, स्थानीय ट्राफिक व्यवस्थापन, पाटन दरबार क्षेत्र लगायत सम्पदास्थलको वातावरण स्वच्छ, पर्यटक मैत्री र आकर्षक बनाउनेदेखि लागू औषध दुव्र्यसनीका समस्या, बेचबिखन, पार्किङ्ग व्यवस्थापन लगायत समस्याहरुबारे उहाँहरुले अवगत गराएका थिए ।

कार्यक्रमका प्रमुख अतिथी प्रहरी वरिष्ठ उपरीक्षक गणेश बहादुर ऐरले प्रहरी जनताको सेवक भएकोमा जोड दिंदै प्रहरीको कार्य समुदायको सहयोगमै मात्र प्रभावकारी हुने बताए । उनले हालसम्म भइरहेका सकारात्मक परिवर्तन र सहकार्यलाई थप संस्थागत गर्न प्रहरीका कमीकमजोरीहरु पनि औल्याइदिन अनुरोध गरे ।

कार्यक्रमका सभापति अजरमान जोशीले कार्यक्रमको संश्लेषण गर्नुहुँदै प्रहरीसम्म प्रत्यक्ष पहुँच नभएकाहरुलाई न्याय तथा शान्ति सुरक्षामा सहज पहुँच बढाउन अन्तरक्रिया कार्यक्रम एउटा प्रभावकारी प्लेटफर्मका रुपमा रहेको स्मरण गराए । कार्यक्रममा उपस्थित जागरुक जनप्रतिनिधि, संघसंस्थाका प्रतिनिधिहरु आम समुदायका राजदूतको भूमिकामा स्थापित भए समग्र नगर र जिल्लालाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन सकिनेमा उनी विश्वस्त रहेका थिए ।

महानगरिय प्रहरी प्रभाग मंगलबजार अन्तर्गत ललितपुर महानगरपालिकाका वडा नं. ६,७,८,९,११,१२,१६,१७,१९ रहेका छन भने विभिन्न जातिय समाज, उद्योग बाणिज्य संघ, वस्तुगत संघ, सुनचाँदी व्यवसायी लगायत ४४ टोल सुधार समितिहरु रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *