शताब्दि पछि हरसिद्धीको नाच दोलखामा नचाईने


फागुन ८, २०७८ चरिकोट, दोलखा
राजेश बज्राचार्य, कृतन मंगल जोशी

नेपालको पहिलो मुकुट नाचका रूपमा परिचित ललितपुरको पौराणिक हरसिद्धीको १२ वर्षे नाच यस वर्ष चैत्र मसान्त अगावै दोलखामा पनि नचाईने भएको छ ।

फागुण ७ गते दोलखा स्थलगत निरीक्षण भ्रमणमा पुगेका हरसिद्धी देवगणको टोलीलाई भिमेश्वर नगरपालिकामा आयोजित स्वागत तथा नाच ब्यवस्थापनकालागि सम्पन्न सामूहिक तयारी बैठक पछि नगरप्रमुख भरत केसीले सो कुराको उदघोष गरेका हुन ।

“ऐतिहासिक नगर दोलखाका प्रख्यात दोलखा भिमसेन, कालिन्चोक भगवती, त्रिपुरा सुन्दरी लगायतका अन्य थुप्रै साँस्कृतिक सम्पदा संरक्षण र प्रवर्द्धनमा हामी लागि परेका छौं । यसै सन्दर्भमा हामीले यहाँको हरिसिद्धि मन्दिरको इतिहास उजागर गर्नुकासाथै यहाँ लोपोन्मुख भैसकेको हरसिद्धीको ‘जल प्याखँ’ पुनर्स्थापना गर्ने अवस्थासम्म पुग्नसक्नु नगरकै गौरवको बिषय हो ।” बैठकको निष्कर्षमा पुगेर नगर प्रमुख के.सीले भन्नुभयो,  “हामीले यस जात्रा ब्यवस्थापनका सवालमा मात्र नभै करुणामय जात्रा, भिमसेन मन्दिर जस्ता साझा साँस्कृतिक लगायतका परस्पर सम्बृद्धितर्फको गतिविधी आदानप्रदानका बिषयमा समेत सहकार्य गर्नेबारे ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनज्युसँग छलफल भैसकेको अवस्था छ । निकट भविष्यमै दुई ऐतिहासिक नगरीबीचको भगिनी सम्बन्धन घोषणा हुनेमा पनि बिश्वस्त रहेका छौं ।”
 २०७८ पुष ९ गते ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जन र उपप्रमुख गिता सत्यालसँगको औपचारिक भेट्घाटका क्रममा भिमेश्वर नगरपालिका प्रमुख भरत केसीज्यु ।

मेयर केसीको अध्यक्षतामा नगरपालिका भवनको महांकाल सभाहलमा सम्पन्न उक्त तैयारी बैठकले नाच ब्यवस्थापनकालागि दोलखाका बौद्धिक वर्ग लगायत थप स्थानिय जानकार अग्रजदेखि युवाहरु सम्मिलित ५१ सद्स्यीय बृहत्  समिती बनाउने निर्णय गरेको छ ।
“यससँगै सयौं वर्षपछी पुनर्स्थापित हुने यस नाचको ब्यवस्थापनसँगै दोलखा र ललितपुर हरसिद्धीको ईतिहास र १२ वर्षे मेलाको महत्वबारे दोलखाका संस्कृतिविद शान्ता कृष्ण श्रेष्ठज्युको संयोजकत्वमा अभिलेख तयार गर्ने र संक्षिप्त वृत्तचित्र निर्माण गर्ने पनि तय भएको छ ।” नाच सम्बन्धित वडा २ का अध्यक्ष एवं ब्यवस्थापन समितिका अध्यक्ष बिराज श्रेष्ठले भन्नुभयो ।

” भिमेश्वर नगरप्रमुखज्यु आफै ललितपुर पुग्नु भै हरसिद्धीको दर्शन गर्नुकासाथै हाम्रा देवगणहरुलाई नाच प्रदर्षणकालागी आमन्त्रण गर्नुभएको थियो । सोही अनूरूप हाम्रो नाच सम्बन्धित प्रतिनिधि टोलीले दोलखाका विभिन्न स्थानहरुको  स्थलगत निरीक्षण गरि नाच संचालन गर्न चक्र डोबरमा आवश्यक थप भौतिक निर्माण लगायतका ब्यवस्थापन पूर्वाधारहरुबारे  सुझावहरु पेश गरेका छौं ।”  हरसिद्धी नाचका प्व:मि थकाली नायो (ब्यवस्थापन नाइके) राइटर महर्जनले भन्नुभयो ।

देवगणहरुमध्येका रमेश महर्जनका अनुसार हालै बित्नुभएका ९५ वर्षीय देवगणसमेतले आफ्नो जीवनकालमा दोलखा नपुगेको सुनाउनुभएको रहेछ । “सो आधारमा यो नाच दोलखा नपुगेको कम्तीमा पनि एक शताब्दी भैसकेको अनुमान गर्न सकिन्छ । लामो समयपछी भगवानले जुराएको यो स्थलगत निरीक्षण भ्रमणमा स्वागत, बसाई र अवलोकन समेतको ब्यवस्थापनकालागि नगरप्रमुख लगायत सम्पूर्णमा साधुवाद छ।” उनले भने ।

उक्त प्रतिनिधि टोलीमा प्व:मि श्याम महर्जन, रमेश महर्जन लगायत देवगणहरुमा ८४ वर्षीय  नारायण महर्जन, बाबुकाजी महर्जन, टेबल महर्जन, शलिकराम महर्जन, चन्द्र गोविन्द महर्जन, रमेश महर्जन, राजनाथ महर्जन र कान्छो २७ वर्षीय राम महर्जन सहित ११ देवगणहरुका साथमा यसपटकको १२ वर्षीय जात्रामा केन्द्रीत सांस्कृतिक फोटो पत्रकार कृतन मंगल जोशी र संस्कृति अध्ययेता संचारकर्मी राजेश बज्राचार्य समेत रहेका थिए ।

“हरेक १२ वर्षमा “ख: चाहिकेगु” भनि उपत्यकाका विभिन्न स्थानमा लगेर नचाउने परम्परा रहेको पाईन्छ । यस वर्षको १२ वर्षे जात्राको अभिलेखिकरणकालागी बनेको हाम्रो संस्कृतिप्रेमी समूहमा हामीसँगै भिडियोग्राफर बाबुकाजी महर्जन (जल्मी), राकेश डंगोल र श्याम था: पनि रहेका छन ।” फोटो पत्रकार जोशीले भने ।

यस १२ वर्षे नाचलाई दोलखा सम्म नचाउने परम्परा राजा अमर मल्लले नेपाल सम्वत ६८० (बि.सं. १६१६) तिर बसालेको देवमाला वंशावलीमा उल्लेख रहेको सन्दर्भ अमेरिकी सोधकर्ता डा. लिण्डा इल्टीसले आफ्नो लेखमा उल्लेख गरेकी छिन । यसलाई आधार बनाएर थप खोज अध्ययन थाल्ने क्रममा संस्कृतिप्रेमी समूहका बज्राचार्य र जोशीले दोलखाका संस्कृतिविद शान्ता कृष्ण श्रेष्ठज्यु हुंदै भिमेश्वर नगरपालिकाका नगरप्रमुख र ललितपुर महानगर प्रमुखबीच बैठकहरुको समन्वयमा सहयोग गरेका छन ।

“यस सत्प्रयासले ऐतिहासिक नगरी द्वाल्खा (दोलखा) र ललितपुरबीचको ईतिहास अनुसन्धानका साथै आर्थिक, सामाजिक र साँस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउन अर्को कोशेढुंगा थपेको छ ।”  दोलखाका संस्कृतिविद एवं अभियन्ता शान्ता कृष्ण श्रेष्ठले भन्नुभयो । “उपत्यका निर्माणको श्रेय पाएका मन्जुश्रीको पाइलाका डोब, दोलखा भिमसेन लगायतका प्राचीन संस्कृतिदेखि तिब्बत नेपाल ब्यापारको रेशमी मार्ग र हरिसिंह देवपछिको मल्लकालिन राज्य स्थापनामा उल्लेख्य योगदान रहेको दोलखाको धार्मिक, साँस्कृतिक इतिहासमा प्राचीन ललितपुरसँगको सम्बन्ध पुनर्जिवित गर्न यस कार्यले ऐतिहासिक महत्व राख्ने छ ।”

Spread the love

Related posts