Arts and Crafts Culture & Heritage Feature News National Provincial News Social Tourism

सम्बृद्ध नेपालको साँस्कृतिक र पर्यटकीय नगरी ललितपुर बनाउन जोड

ने.सं. ११३८ यँलाथ्व षष्ठी । शनिवार, २०७५ भाद्र ३० । सेप्टेम्वर १५, २०१८
ललितपुर

हस्तकलाको नगरी ललितपुरलाई साँस्कृतिक र पर्यटकीय नगरीका रुपमा सम्बृद्ध बनाउनु पर्नेमा प्रधानमन्त्री के.पी. ओलीले जोड दिएका छन ।

ज्यापू समाज यलको रजत जयन्तिमा प्रमुख अतिथीका रुपमा प्रधानमन्त्री ओलीले सम्बृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय नारालाई ब्यवहारिक रुप दिन समाजले गरेका कार्यहरुको प्रशंसा गर्दै सो कुरामा जोड दिएका हुन ।

प्रधानमन्त्री ओलीले आफूले अघि सारेको सुखी नेपाली, सम्बृद्ध नेपालको निर्माणमा ललितपुरले संस्कृति, पर्यटनको माध्यमबाट योगदान दिनसक्ने बताउनुभयो । ईतिहासमा ललितपुरको कला, संस्कृति र सम्पदाले विश्वमा नै नेपालको शिर उँचो बनाउन धेरै योगदान दिएको बताउँदै उनले यहाँको सभ्यताको जर्गेनासंगै शिक्षा, स्वास्थ्य र आर्थिक विकासमा पनि लाग्न आग्रह गर्नुभयो ।

कार्यक्रमका विशिष्ट अतिथी ललितपुर क्षेत्र नं ३ का सांसद् पम्फा भुसालले बाहिरी चक्रपथले ललितपुरको ऐतिहासिक सम्पदा र मौलिक बस्तीलाई प्रतिकूल असर पु¥याउन नहुने विषयमा प्रधानमन्त्री केपीशर्मा ओलीको ध्यानाकर्षण गराउनु भयो ।

राष्ट्रिय गौरवको आयोजना र विकासको नाउँमा लिच्छिविकालीन, मल्लकालीन बस्ती र सभ्यताहरु क्षतिग्रस्त हुनेमा स्थानीयले विरोध गर्दै आएको पृष्ठभूमी उल्लेख गर्दै नेकपाका नेतृ समेत रहनुभएका भुसालले भन्नुभयो, “यहाँको सांस्कृतिक बस्ती, सम्पदामैत्री हुने गरी काठमाडौं उपत्यकाको संस्कृति, सम्पदालाई जोगाउन विशेष सांस्कृतिक क्षेत्रको रुपमा घोषणा गर्नुपर्दछ । प्राचीन बस्तीको मौलिकतालाई खलल नपु¥याउने हिसाबले बाहिरी चक्रपथ निर्माण गर्ने तर्फ सम्माननीय प्रधानमन्त्री र प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणी पौडेलज्यूको पुनः ध्यानाकर्षण गराउन चाहन्छु ।”
ललितपुर महानगरभित्रका खोकना, बुंगमती, बाडेगाउँ, चापागाउँ लगायतका बस्तीको मौलिकता र सभ्यतालाई आँच नआउने गरी आवश्यकता अनुसार बाहिरी चक्रपथको निर्माणको नक्सालाई फेरबदल गर्नुपर्नेमा उनले जोड दिनुभयो ।

विशिष्ट अतिथी प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणी पौडेलले नेपालका ४० लाख जेष्ठ नागरिकहरुकालागि नमूनाका रुपमा समाजको जेष्ठ नागरिक आश्रम बनाउन प्रदेश सरकारकातर्फबाट पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नुभयो । मुख्यमन्त्री पौडेलले संस्कृति, सम्पदाको माध्यमबाट आर्थिक विकास सम्भावना रहेकोमा जोड दिंदै ललितपुरको कला, संस्कृति, सम्पदा संरक्षणसँगै सम्बृद्धिकालागि परम्परागत हस्तकलाकर्मीहरुको विकास प्रदेश सरकारको प्राथमिकतामा रहको उल्लेख गर्नुभयो ।

कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले साँस्कृतिक नगरी निर्माणकालागि सम्पदाको पुनःनिर्माणमा सार्वजनिक खरिद ऐन बाधक रहेको उल्लेख गर्दै ऐन संशोधनका लागि आवाज बुलन्द गर्न मुख्यमन्त्री र सांसदहरुलाई आग्रह गर्नुभयो ।

समाजका अध्यक्ष प्रेम महर्जनले भाषा, संस्कृति र सम्पदाको संरक्षणमा समाजको योगदान र समाजको नारा “शैक्षिक र आर्थिक उन्नतिको प्रवद्र्धन, प्रविधियुक्त कृषि, हस्तकला र पर्यटन”बारे उल्लेख गर्दै समाजले सम्बृद्ध ललितपुर निर्माणमा निरन्तरता दिनेमा विश्वस्त रहेको बताउनुभयो ।
कार्यक्रममा समाजका गतिविधिमा सहयोगी संघसंस्था, विविध क्षेत्रका व्यक्तित्वहरु लगायत शैक्षिक क्षेत्रमा उत्कृष्ट भएका समाजका छात्रछात्रा, टोल सुधार लगायतलाई प्रशंसा पत्र पनि प्रदान गरिएको थियो ।

समाजका सचिव मोहन व्यञ्जनकारले सञ्चालन गर्नुभएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष चन्द्र महर्जनले स्वागत मन्तव्य, प्रथम उपाध्यक्ष सन्तमान महर्जनले धन्यवाद ज्ञापन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *