Business and CSR Health National Technology

सुदिप्त अभियानको दोश्रो क्यान्सर विजेता भेला

ने.सं.११३८ यँलाथ्व चतुर्दशी, सोमवाः । २०७५ असोज ८ । सेप्टेम्वर २४, २०१८
ललितपुर

प्रोस्टेटको क्यान्सरबाट निधन भएका केशवमान अमात्यको स्मृतिमा सोमबार नेपाल क्यान्सर अस्पतालले सुदिप्त अभियानको दोस्रो क्यान्सर विजेता भेला गरको छ ।

“क्यान्सरको उपचार नेपालमै” नारालाई व्यवहारिक बनाउनुकासाथै रोकथामकालागि जनचेतनामूलक अभियानका रुपमा सुदिप्त — नौलो विहानी कार्यक्रमको निरन्तरता दिंदै यसपटक रक्त क्यान्सर र प्रोस्टेट क्यान्सर भएका बिरामीसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।

गुणस्तरीय उपचारमा सक्रिय नेपाल क्यान्सर हस्पिटल र यससँग आवद्ध सामाजिक संस्था नेपाल क्यान्सर सपोर्ट ग्रुपको संयोजनमा गरिएको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक स्वरुपा श्रेष्ठले क्यान्सरका विरामी आफैंलाई समाजमा खुलेर कुरा गर्न उत्प्रेरित गर्न सुदिप्त अभियान थालिएको बताईन । “क्यान्सरका बिरामी उपचारपछि खुलेर बाहिर आउँदा अन्य बिरामीको मनोबल बढ्छ भन्ने सन्देश दिन मासिक रुपमा हामीले बिरामी भेला पारेर उनीहरुबीच नै अन्तरक्रिया गर्ने प्रयास गर्दैछौं,” उनले भनिन, “‘यसरी अगाडी आउने क्यान्सरका पूर्वविरामीहरुको सफलता र उपचाररत विरामीहरुको आवाज आम नेपालीहरुमा पुर्याइ अभियानमा जोडिन सञ्चारकर्मीहरुलाई पनि अनुरोध गर्दछौं ।”

कार्यक्रमका सभापति डा. सुदिप श्रेष्ठले स्वर्गीय अमात्यले पनि क्यान्सरप्रति जनचेतनाको अभावमा ढीलो पहिचान हुनबाट अरुलाई जोगाउन ७ लाख रुपैया कोषमा सहयोग गरेको स्मरण गर्दै क्यान्सरबारे समाजमा व्याप्त डर र विदेशमा उपचार गराउने मानसिकतालाई हटाउनुपर्नेमा जोड दिए । “क्यान्सर विरामीले रोगलाई मानसिक रुपमा जित्न जरुरी छ, यसकालागि हामीले आफ्ना पिडा, समस्या र समाधानबारे खुलेर कुरा गर्ने वातावरण दिने प्रयास गरेका हौं ।” डा. सुदिपले भने, “अझैपनि सयमा दुइ चार जनाले मात्र खुलेर बोल्न चाहिरहेका छन, समाजमा व्याप्त भ्रम र सफल उपचार नेपालमा भएकोबारे बुझाउन यो संख्या बढाउन जरुरी छ ।”

कार्यक्रमको उदघाट्न गर्दै विशेष अतिथि स्वर्गीय अमात्यका श्रीमती तारा अमात्यले स्वस्थ्य देखिने आफ्नो श्रीमानले करले पूर्ण शरीर जाँच गर्ने क्रममा पिएसए परीक्षणबाट क्यान्सर शका गरिएको सम्झना सुनाए । करीव ६ वर्ष अगाडी पिएसए परीक्षण के हो भन्ने समेत डाक्टरहरुले बुझाउन नचाहेको र एकैचोटी बायोप्सी गराउने भनेपछि सबैजना त्रसित पिडा उनले सुनाए । डा. सुदिप श्रेष्ठको अठोट र लगन देखेर प्रदान गरिएको कोषबाट विभिन्न चेतनामूलक कार्यक्रमहरु आयोजना भएकाले क्यान्सर विरामीले राम्रो परामर्श सुविधा पाउनुपर्छ भनि आफ्नो श्रीमानले गरेको कामना पुरा हुन थालेको अनुभूति उनले सुनाए ।

अन्तरक्रिया कार्यक्रममा रक्त क्यान्सर र प्रोस्टेट क्यान्सरलाई जितेकी शान्ति रिजालले क्यान्सर भन्दा यसबारे मनमा हुने डरलाई जित्न आवश्यक भएको सन्देश दिए । उनले आफ्नो जीवनलाई अर्थपूर्ण रुपमा बाँच्ने अठोट लिइ साहित्यप्रतिको रुचीलाई झन प्रगाढ बनाउन सघाएको सुनाउँदै भने, “क्यान्सर रोग हुनु पुर्व र भएपछिको आफ्नो भोगाईको संस्मरण प्रकाश गर्दैछु । हाम्रो समाजमा भोगिने अवस्थाहरुको कथा बाहिर ल्याउनु नै क्यान्सर विरुद्ध हाम्रो पहिलो जित हुनेछ ।”

तस्वीर ः क्यान्सरबारे खुलेर कुरा गर्न थालेका विरामी र परिवारजनका साथ क्यान्सर विजेता शान्ति रिजाल र विशेष अतिथि तारा अमात्य (माथि),

छोराको साथ आनन्द आचार्य

कार्यक्रममा हाल छोरोको उपचार गराइरहेका आनन्द आचार्य, आमाको उपचार गराईरहेका जैशीदेवलका पुजन रञ्जित, मोरंग अस्पतालबाट रिफर भै भाईको उपचार गराइरहेका हिमाल शम्शेर राई लगायतले देश विदेशका अन्य अस्पतालमा उपचार गराउँदा खाएको दुःखबारे बोलेका थिए । उनीहरुले नेपाल क्यान्सर अस्पतालमा कार्यरत वरिष्ठ हेमाटोलोजिष्ट डा. अमित श्रेष्ठसँग भएको भेटपछि विरामीमा देखिएको सुधारप्रति सन्तुष्ट हुँदै अस्पतालको सुविधा अन्यत्र भन्दा गुणस्तरीय भएको बताएका थिए ।

कार्यक्रममा डा. अमित श्रेष्ठ तथा अस्पतालका मेडिकल डाइरेक्टर डा. बिजेश राज घिमिरेले प्रोस्टेट क्यान्सर र रक्त क्यान्सर अन्य रोग झै निको हुन सक्ने बताउँदै क्यान्सरबारे सबैले खुलेर कुरा गर्ने वातावरण रहे उपचारविधिमा पनि सहजता हुनेमा जोड दिए । कार्यक्रममा सञ्चारकर्मीहरुलाई पनि अभियानको अंग बन्न अनुरोधस्वरुप सहयोगकालागि कदरपत्र प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *