Culture & Heritage Feature News Health National Social

१सय१ वर्षमा भाइचा कुम्हाःको पुनर्जन्म

ने.सं.बछलाथ्व चतुर्दशी । बैशाख ६, २०७४ । अप्रिल १९, २०१८
राजेश बज्राचार्य

सामान्यतया ४० कटेपछि प्रायः मानिसमा उच्चरक्त चाप र मधुमेह जस्ता रोग देखा पर्दछन । त्यसमाथि विश्व स्वास्थ्य संगठनले २०१५ को अध्ययन अनुसार नेपालका पुरुषहरुको औसत आयु ६७ वर्ष भनेको छ भने सो उमेर पश्चात झाडापखाला देखि आन्द्रा र फोक्सो क्यान्सर जस्ता रोगहरु देखा परेका छन ।

तर पाटन थपाहिटीमा जन्मेर हाल ललितपुर इमाडोल निवासी भाइचा कुम्हाः (प्रजापति) १ सय १ वर्षको उमेरमा पनि स्वस्थ्य देखिन्छन । उनले हालसम्म पनि येलोपेथिक औषधिहरुको सेवन गर्नु परेको छैन । यो उमेरसम्म चश्मा समेत लगाउनु नपर्ने यीनै भाइचा कुम्हाः को दिव्य महादेवरथारोहण बुधवार सम्पन्न गरिएको छ ।

नेवाः परम्परा अनुसार ९९ सय वर्ष ९ महिना ९ दिन ९ घडी ९ पला पुगेको अवसरमा गरिने सो दिव्य महादेवरथारोहण अक्षय तृतियाको शुभसाइतमा गरिएको हो । प्रजापति उमेरले १ सय १ वर्ष पुगिसक्नुभएको बताउँदै उहाँका ज्वाइँ विकास महर्जनले भने, ‘शुरुमा यो कुरा परिवारका सदस्य कसैलाई थाहा थिएन, पछि चिना हेरपछि चौथों जंकु गर्ने समय बितिसकेको थाहा पाएपछि ज्योतिषीसँग सल्लाह गरेर जंकु गर्न अक्षय तृतीयाको साइत निकालिएको हो ।’

नेवारी परम्परामा मानिस ७७ वर्ष ७ महिना र ७ दिन ७ पला पुगेको बेला देवरथारोहण (पहिलो ज्याः जंकु), ८३ वर्षमा अर्थात १ हजारपटक चन्द्रमाको दर्शन गरिसकेको मानेर सहस्र चन्द्ररथारोहण (दोस्रो ज्याःजंकु) र ८८ वर्ष ८ महिना ८ दिनमा देवरथारोहण (तेस्रो ज्याःजंकुं) गर्ने गरिन्छ । यी तीनवटै रथारोहण गरी सकेका प्रजापतिको चौथौ जंकु अक्षय तृतियाका दिन गरिएको थियो ।

दिव्य महारथारोहण गरेका प्रजापतिलाई विधिवत रुपमा कलात्मक भाडाभित्र कसैले नदेख्ने गरी राखेपछि विशेष पूजाआजा गरी बज्रयान गुरुजुबाट भाडाबाहिर निकालिएको थियो ।
‘चौथो जंकुलाई नेवाः परम्परामा मान्छेको जीवन चक्र पूरा भई नयाँ जन्म भएको मानिन्छ । प्रजापतिको हिजो पुनर्जन्म भएकोे प्रतीक स्वरूप ठूलो घ्याम्पोबाट निकालेर पूजा गरिएकोे हो । धार्मिक शास्त्रअनुसार चौथों जंकुलाई आमाबुबाको सहवासबिना हुने जन्मका रूपमा लिइन्छ । देवलोक भन्दापनि माथिल्लो मानिने यस समयको जन्मलाई दिव्य महादेवरथारोहण भनिएको हो, ’ – चोथों जंकुको धार्मिक विधि पु¥याउने बज्रयानी गुरु माइला गुरुजुले बताउनुभयोे ।

 

सोही विधिविधान अनुरूप प्रजापतिलाई घ्याम्पोबाट निकालेर मान्छे जन्मेदेखि विवाहसम्म गरिने १० कर्म संस्कार पनि गरिएको थियो । त्यसपछि दशकर्म संस्कारअन्तर्गत न्वारण, पास्नी, नामकरणलगायत कर्म संस्कारहरू गरिएको थियो। यस कार्यमा माइला बाबु गुरुजुलाई विक्रम वज्राचार्य र शान्तमान वज्राचार्यले सघाएका थिए।

आफ्ना नातिनातिनी र पनाति, टोलबासी, शुभेच्छुक आफन्त गरी हजारौंमाझ दुर्लभ देवरथारोहण गर्न पाउँदा प्रजापतिपनि खुसीले गद्गद् देखिन्थे । देवरथारोहणलाई दीर्घ र स्वस्थ जीवनको सुखका रूपमा अथ्र्याउँदै प्रजापतिले जीवनलाई सकारात्मक कार्यमा सक्रिय बनाउनुपर्ने उनको सल्लाह रहेको थियो ।

प्रजापतिको दिर्घायुको सूत्र — सक्रिय जीवनशैली
नेवाः समुदायमा कुम्हाः भन्नाले प्रजापति थरका पुस्तौंदेखि माटोको भाँडाकुँडा बनाउने पेसा गर्दै आएको जातिलाई चिनिन्छ । सामान्य किसान परिवारमा जन्मिएका प्रजापति खेतीपाती कार्यमा निपुण हुनाकासाथै पुस्तैनी माटाका भाँडाकुँडा बनाउन पनि सिपालु रहेका छन । मच्छिन्द्रनाथको जात्रा परिक्रमा पाटन सुन्धारा पुगेपछि स्थानिय थपाकु कुम्हाः गुथिका नाइके रहेका यीनले माटाका भाँडाकुँडाहरु रथमा चढाउने परम्परा रहिआएको छ ।

दिव्य महादेवरथारोहण गरिरहँदा निरोगी हुनुको सूत्र के हो भन्ने जिज्ञासामा प्रजापतिले भन्नुभयो– ‘खानामा संयम, सकारात्मक सोच र सक्रिय जीवन ।’ सो कुराको समर्थन गर्दै नेवारी परम्परामा अति दुर्लभ मानिने दिव्य महादेवरथारोहण गर्न पाउनु उहाँको सक्रिय जीवनको प्रतिफल रहेको प्रजापतिका ज्वाई बिकास महर्जनले बताए ।

महर्जनका अनुसार आफ्नो श्रीमतीको देहान्त पश्चात उनी अझ बढी सक्रिय रहिआएका छन । ‘आफ्नो दैनिकीकालागि आवश्यक कार्य आफैं गर्नुकासाथै आफैं खाना पकाउन रुचाउनुहुने उनी ५ वर्ष अगाडी सम्म पनि हालको सातदोबाटो स्विमिंग पुल नजिक रहेको खेतमा दैनिक पुगेर गोडमेल पनि गर्नुहुन्थ्यो ।’ महर्जनले बताए , ‘पछि बाटो फराकिलो बन्दै गएपछि बाटो काट्नुपर्ने भयले हामीले नै रोकेका छौं । तर पनि बेलाबेला एकछिन डुल्छु भन्दै लगनखेलसम्म पनि पुग्नुहुन्छ ।’
उमेर सय वर्ष भए पनि निकै प्रजापति निकै जोसिला र फूर्तिला रहेका छन । देख्न र सुन्ने शक्ति अझै पनि घटेको छैन । वैशाख १२ गतेको भूकम्प आउन समय अगाडी देखि आफ्नो कूल घरबाट उहाँ इमाडोल सर्नुभएको थियो ।

‘अहिलेसम्म पनि बिहान चिया खाने बानी छैन उनको । घरमै बनेको रक्सी न घटी पिउनुहुन्छ न बढी नै, नियमित समयमा नियमित मात्रामा (२० एमएल) पिउनुहुन्छ । आजका दिनसम्म पनि चिउरा निस्तै चपाएर खान रुचाउने उनको खानामा संयम, सकारात्मक सोच र ऊर्जाशील भएको हुनाले परिवारलाई हेरविचार गर्न पनि निकै सहज रहेको छ’ –बाजेका विषयमा नाति पूर्ण प्रजापतिको भनाइ थियो । राणाकालमा घटेका घटनाहरू आफ्नो मनमस्तिष्कमा अझै तरोताजा रहेको बताउने प्रजापतिको खानपिनमा खासै बार्ने बानी छैन ।

‘चौंथो जंकु चाहेर मात्र गर्न पाउने कार्य होइन, यसका लागि भाग्य चाहिन्छ’, प्रजापतिका भाइनाती पूर्ण महर्जनले भने, ‘धार्मिक विधि पूरा गर्न पनि निकै कठिन छ ।’ निसन्तान रहनुभएका प्रजापतिको चौंथो जंक्वमा आवश्यक सबै प्रबन्ध उनका भाई पराससिं प्रजापतिले मिलाएका रहेछन । ९२ वर्षिय पराससिंका छोरा पूर्ण प्रजापतिले यस्तो कर्म देखाउने कार्य नेवाः संस्कार र परम्परा रहेकोले ठूलो बा प्रजापतिको सुख शान्त र सुस्वास्थ्यको कामना गर्दै आयोजना गरिएको बताए ।

परम्परा अनुसार माटोको भाँडा फुटाएर चौंथो जंकु गर्ने चलनलाई फेरेर प्रजापति परिवारले पित्तलको भाँडा बनाएका छन । जंकु कार्य सकेपछि सो भाँडा यस्तै कार्यमा अरुकालागि पनि उपलब्ध गराउने आशयले गुरुजुहरुको स्विकृतिमै बनाएको पूर्ण प्रजापतिले बताए । निकै कठिन धार्मिक विधिमा कमसेकम तीसौं हजार खर्च लाग्ने सो भाँडा अरु जो कसैको जंकुकालागि पनि सदुपयोग गर्न सकिने उनको धारणा थियो । नेवाः संस्कारमा दानभावको महत्वका साथै यसरी जंकु गरिसकेका व्यक्तिहरुलाई जिउँदो भगवानका रुपमा पनि लिने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *