आधुनिक दृष्टिकोणमा गठाँम्वःचह्रे

राजेश बज्राचार्य,
फोटोग्राफी ः कृतन मंगल जोशी

नेपालमा प्रचलित चतुदर्शीमा मनाइने चार महत्वपूर्ण चाडपर्व मध्ये एक गठाँम्वः (घण्टाकर्ण) पर्व यस वर्ष पनि हर्षोल्लासका चाड उपत्यका विभिन्न स्थानहरुमा मनाइएको छ ।

नेपालमा यस पर्वको कुन समयदेखि थालनी भयो भन्नेको यकीन प्रमाण नभेटिएपनि कृषिप्रधान देशको इतिहासमा रोपाईंको समयको व्यस्तता लगत्तै मनाइने यस पर्वको विशेष सामाजिक साँस्कृतिक महत्व रहेको पाइन्छ । ती मध्ये प्रमुख सांस्कृतिक पक्षलाई समाज विज्ञान र आधुनिक दृष्टिकोणले केलाउने प्रयास यस लेखमा गरिनेछ ।

सरसफाई गठाँम्वः

सिथिनखःलाई बर्षको अन्तिम चाडको रुपमा लिइन्छ भने सिनाज्या (धान रोप्ने काम) सकेपछी सर्वप्रथम आउने चाडलाई गथाम्वः भनिन्छ । यस चाडलाई कायमचा नखः (पुरुषको चाड) भनिन्छ भने सिथिनखः (कुमार षष्ठी पर्व)लाई म्ह्यामचा नखः (महिलाको चाड) भनिन्छ । उपत्यकाका आदिवासी नेवाः समुदायमा यी दुबै रोपाईं पूर्व र लगत्तै घर समाजका सबै स्थानहरुको सरसफाईसँग विशेष सम्बन्धित रहेको देखिन्छ ।

सिथिनखःका दिन विशेषतः पानीका मुहान र इनार लगायतका पानीको श्रोतहरुको सरसफाईमा जोड दिइन्छ भने गठाम्वः पर्वमा रोपाईका समय ध्यान दिन नसकिएका कारण सम्पूर्ण घरको सरसफाई गरेर, विभिन्न परिकार राखेर घरका चार कुनाका धुलो सहित छ्वासः वायेगु ,बौ तयेगु भनि चौबाटोमा राखिन्छ । धौःभेग (दही राख्ने माटाको भाडो)मा विभिन्न खाद्य सामग्रीसहित सजाइने उक्त भाडामा हालको समयमा अव्यवहारिक देखिएपनि सम्भव भएसम्म लामखुट्टे, उडुस उपियाँ समेत राख्नुपर्छ भन्ने जनविश्वास रहनाले पनि विस्तृत सरसफाइको महत्व प्रतिविम्वित हुन्छ । यसरी यस पर्वको शुरुवात गर्ने प्रचलनले घरघरको सरसफाइको व्यवहारिक पक्षसँग समुदायको स्वास्थ्य र सरसफाई समेत सम्बन्धित रहेको देखिन्छ । Photo courtesy : Informative Nepal facebook page

गठाँम्वःमा नर्कटको प्रयोग

यस पर्वमा दोबाटो चौबाटोमा ठड्याइने आकृतिलाई गठाँम्वः भन्ने गरिन्छ । घण्टाकर्ण र गथेमंगलका नाममा पनि चिनिने यस पर्वसँग सम्बन्धित उक्त आकृतिलाई कतै आजु द्यः र अजिमाको उपमा त कतै राक्षसका रुपमा व्याख्या गर्ने गरिन्छ । तर यस आकृतिमा नभै नहुने सामग्री मध्ये नर्कट बाँसबारे भने खास चर्चा पाईंदैन । सुत्केरीले घाम ताप्दा बालकलाई छोप्न प्रयोग गर्ने नर्कट नेवाः समुदायको कर्मकाण्डीय व्यवस्थापनमा नभै नहुने सामग्रीका रुपमा पनि लिइन्छ ।

वैज्ञानिक भाषामा अरुण्डो डोनाक्स वा जायन्ट रीड (जंगली बाँस) भनिने एक घासपातको प्रजाति नर्कटको विशेष गुणहरु रहेका छन । समुद्रतहबाट २१०० देखि २४४० मिटरमा बढी देखिने यो प्रजाति कलिलो माटो, खोल्सो र नदी वरिपरिको वातावरणमा उम्रने गर्दछ । यो बिरुवाको प्रजनन वा उत्पादन अन्य बोटबिरुवा जस्तै बिऊबाट नभई जराबाटै हुने हुँदा न भाले न पोथीका रुपमा लिइन्छ । विशेषतः पहिरो रोकथाम र पानी र माटोमा हुने आर्सेनिक, लिड जस्ता हानीकारक रसायन र फलामे गुणहरुलाई आफूमा निहित गर्न सक्ने हुँदा पानी शुद्धिकरणकालागि पनि नर्कट सहायक मानिन्छ । उर्जाको दृष्टिकोणले उपयुक्त बालीका रुपमा पनि लिइने नर्कट बसन्तको आगमनसँगै बढ्ने र शरद श्रृmतुको आगमनसँगै सुक्न थाल्दछन ।

गठाँम्वःमा यस नर्कटको व्यापक प्रयोगलाई महेश्वर ज्वरका प्रतिक, त्रिलोकको प्रतिकका रुपमा लिइने गरेको ईतिहासविदहरुको भनाई रहेको छ । यसै नर्कटका प्रकारबाट सुरसंगीत सम्बन्धित विभिन्न प्रकारका बाँसुरी बन्ने तथ्य रहेको छ । नेपालका परम्परागत बाजामा यसको प्रयोग, यसको फलामे गुण र यस पर्वमा प्रयोग गरिने तीन खुट्टे किला, फलामे औंठीको प्रयोगका सम्बन्धबारे अध्ययनका साथै कृषि क्षेत्रमा नर्कटको महत्वबारे प्राविधिक सोधखोज पनि यहाँको सामाजिक जनजीविकाबारे बुझ्न थप रोचक हुन सक्तछ ।

उपत्यकाका कृषियोग्य जमीनहरु शहरी विकासका कारण कम हुँदै गएका छन भने विगतका केही दशकमा टायल, सिमेन्ट र ढलान जस्ता घरबस्ती निर्माणमा आएका संरचनात्मक परिवर्तनले सरसफाईलाई सहज बनाएको छ । यद्यपि, समुदायमा नकारात्मक रोगव्याधि (भूतप्रेतको वास) नहोस भन्ने आशयले घरघरबाट छ्वाली (पराल) बाल्दै चौबाटोमा ठड्याइएका घण्टाकर्णमा आगो लगाउने पराम्परा आजसम्म रहेको देखिन्छ । यसपर्व लगत्तै लाखेनाच लगायतका बाजागाजा र मनोरञ्जनका विभिन्न चाडहरु शुरु हुनाले रोपाईको कडा परिश्रमपिछ फुर्सदिलो समयमा रचनात्मक सामाजिक गतिविधिमा नेवाः समुदाय अभ्यस्त रहनुपूर्व घर समाजको सरसफाईमा विशेष महत्व राखिएको बुझ्न सकिन्छ ।Photo courtesy : Informative Nepal facebook page

ईतिहास किंवदन्ती

ईतिहासविद हरिराम जोशीका अनुसार वर्षभरिका चतुर्दशीका दिनमा मनाइने प्रमुख चार चाडपर्वमध्येमा श्रावण कृष्ण चतुर्दशीमा मनाइने पर्व हो गठाँम्वः चह्रे । चतुदर्शीका दिन सम्पन्न हुने अन्य तीन पर्वहरु बालाचह्रे (बाला चतुदर्शी) , शिलाचह्रे (शिवरात्री चतुदर्शी) र पाहाँचह्रे (पिशाच चतुदर्शी) शैव सम्प्रदायसँग सम्बन्धित रहेको र गठाँम्वः चह्रे पनि शैवधर्मसित सम्बन्धित कुमार कार्तिकेय अथवा भैरवका रुपसँग सम्बन्धित रहेको उनी बताउँछन । उनका अनुसार ‘ग’, ‘ठाँ’ र ‘म्वः’ शब्दले ठामयुक्त घरका अंगप्रत्यंगहरुलाई एकआपसमा मिलाइ एक ठाउँमा ढीक्का गरेको अर्थलाई दर्शाएको छ । उपत्यकाले साझा रुपमा मान्दै आएको मच्छिन्द्रनाथ वा करुणामयको निर्माणमा जगका रुपमा बनाइने मूल अंशलाई पनि “गठाँम्वः” भन्ने गरिएको र सो रथ रहेसम्म यो पर्व मनाउन नहुने मान्यता रहिआएको पनि छ ।

तरगठाँम्वःझै एकताको आधार पनि हामीबीचको प्रमुख शक्तिहरु एक ठाउँमा बाँधिनु हो भन्ने सन्देश बोकेको गठाँम्वलाई घण्टाकर्ण पनि भनिने, राक्षस भनि दुत्कार्ने, घिसार्ने परम्परा कसरी आएको हुन सक्छ ?

यसको प्रत्युत्तर तर्कमा स्कन्ध पुराण लगायत पौराणिक आख्यानमा उल्लेख भए अनुसारका दानवराज तारकासुरलाई माथि बिजय प्राप्त गरि त्रिलोकलार्ई उद्धार गरेका कुमार कार्तिकेयको कानमा घण्टा रहेको प्रसंग राख्दै ईतिहासविद जोशी भन्नुहुन्छ, “ललितपुर कुम्भेश्वरस्थित गहिरीधारा र काठमाडौं कमलादी गणेश मन्दिरभित्र प्रतिष्ठापित कुमार कार्तिकेयको शिलामूर्तीमा उनको कानमा घण्टा हुनाले उनलाई घण्टाकर्ण पनि भनिएको आधार पुष्टि हुनजान्छ ।” तीनै कुमार कार्तिकेय राक्षसका रुपमा चित्रित हुनुमा भने ईतिहासको कालखण्डमा देखिएका शैवमार्गी र वैष्णवमार्गीबीचको धार्मिक विद्वेष पनि हुन सक्ने उनी बताउँछन ।

श्रीमद भागवतका अध्याय र पौराणिक आख्यानकै आधार बनाउँदै उहाँ भन्नुहुन्छ, “दानवीर बलीका सुपुत्र दानवराज वाणासुरको छोरी उषाकालागि श्रीकृष्णको नेतृत्वमा आएको यादव सैन्य र शिवभक्त दानवराज वाणासुरको दानव सैन्यबीच भयानक युद्ध घटित भयो । युद्धमा शिवशंकर र तिनका पुत्र कुमार कार्तिकेय तथा शिवगणहरुले वाणासुरको पक्ष लिएका थिए र यदुवंशी भगवान श्रीकृष्ण सहितको यादव सैन्यतर्फ । यस युद्धमा दानवराजको हारसँगै शिव पराजित भए, कुमार कार्तिकेय हारेर युद्धमोर्चाबाट भागे । यसरी शैवमार्गी र वैष्णवमार्गीबीचको युद्ध सांकेतिक रुपमा प्रदर्शन गर्ने क्रममा वैष्णवमार्गी शाषक प्रशासकहरुको पालामा धार्मिक विद्वेषको कारण राक्षसको संज्ञा दिने, जथाभावी गाली दिने र घिसार्ने गरेको हुनसक्छ ।”

भक्तपुरमा मनाइने गठाँम्वः पर्वमा त्यहाँको “गथामुग”को दहन गर्दा अस्लिल शब्द बोलेर गाली गर्दै लौजाने र दोबाटो वा चौबाटोमा दहन गरेपछि “रामकृष्ण बासुदेव, राधाकृष्ण बासुदेव” भन्दै भगवानको नाम लिंदै फर्किने चलन रहेको पाइन्छ । यहाँका स्थानियका अनुसार यसै दिन भक्तपुर नवदुर्गामा भगवान महादेवको सृष्टि हुने गर्दछ । महादेवको सृष्टिका निमित्त माटो मुछ्न गाथा (बनमाला थर) हरुले मुग (हथौडा) ले पित्ने भएकोले यस चाडलाई गथामुग भनिएको मानिन्छ ।

अमेरिकास्थित रुबिन म्यूजियम अफ आर्टले सन २०१६ मा आयोजना गरेको पानी र प्रथा शिर्षकको प्रदर्शनी सन्दर्भमा यस दिन विशेष रुपमा बनाइने माटोको लिंगको अवशेष लगेर नवदुर्गाका नाचको मुखौटा बनाउने र गाड्ने परम्परा जोडिएको र यसरी वार्षिक जलवृष्टि प्रक्रियासँग शिवपुत्र कुमारलाई पनि जोडेर हेरिने उल्लेख छ । अर्को लोक कथन अनुसार, पहिले पहिले धान रोप्ने धेरै हुन्थ्यो र काम गर्ने मानिसहरु थोरै भएकाले जति काम गरेपनि नसकेका कारण भुतको साधना गर्थे । तान्त्रिक विधि अनुसार भुतको आवाहन गरि काम गराउथे । तर सिनाज्या पछि खासै काम नभएको, धेरै खाने भएकोले बच्चाहरु चोरेर खान थाल्यो भन्दै भुतहरु भगाउन घण्टा बजाउदै हथौड़ाले पिटि भगाउने गर्दछ । यसरी गँ(घण्टा) था (बजाउनु) मुग (हथौड़ा) भएकै कारण यस चाडलाई गथांमुग भनिन्छ । यस्ता भुत देखि नडराउन भनी यस दिन बच्चाहरुलाई चोकमा बालेको छ्वालीको आगो नाग्न लगाउदछ भने यसै दिनबाट लामखुट्टेको एउटा दाँत भाँचिन्छ भन्ने मान्यता रहेको छ ।

संश्लेषणः

रोपाईं तथा कृषि प्रधान यस पर्वको माथि उल्लेखित साँस्कृतिक पक्षसँगै यस दिन सम्ममा पनि आफ्नो रापाईं सम्पन्न नभएकाहरुले यो पर्व मनाउनु नहुने मान्यता रहेको व्यवहारिक पक्ष पनि बुझ्न जरुरी देखिन्छ । खेतमा काम बाँकी भएकाहरुलाई चाँडो सकाउनकालागि सकारात्मक विभेदको प्रचलनले सकभर कसैलाई नछुटाइ सामूहिक रुपमा यस पर्वलाई मनाउने प्रयास तर्फ इंगित गर्दछ ।

प्राचीन नेपालको ईतिहास उपत्यका केन्द्रित रहेको तथ्य अनुसार नेपालका प्रमुख चाडपर्व र संस्कृतिहरुको उदगम थलो काठमाडौं उपत्यका रहेको अनुमान गर्न सकिन्छ । यहाँ विभिन्न समयका शाषक प्रशासकहरुले विभिन्न आस्था अनूकुलका देवीदेवताहरुलाइ स्थापित गर्दै लगेका हरेक साँस्कृतिक, धार्मिक रितिरिवाजहरुमा गहिरो जीवन दर्शन र अध्यात्म लुकेको पाईन्छ ।

यस पर्वको अन्त्येष्टिमा समुदायभित्र देखिन आउने लावारिस व्यक्तिलाई संलग्न गराइ सम्मानजनक भोजनले सन्तुष्टि प्रदान गर्दै “शान्ति शान्ति, जय नेपाल” जपेर बिदाई गर्ने(भगाउने) प्रचलन पनि त्यसैको उदाहरणका रुपमा लिन सकिन्छ । त्यसैले पनि संस्कृतिमा नयाँ आयाम थपिंदा पनि पुरानोलाई बिस्थापन गर्न सकिन्न, गरिनु हुन्न भन्ने सन्देश घण्टाकर्ण वा गठाँम्वःको परम्पपराले पनि अझै देखाइरहेको छ ।

सन्दर्भ सामग्रीः

१. https://en.wikipedia.org/wiki/Arundo_donax

२. हरिराम जोशी, नेपालका चाडपर्व, २०६० पृ. ६९-७२

३. इतिहासविद हरिराम जोशीसँग गरिएका संवाद र भिडियो रेकर्ड

४.https://rubinmuseum.org/blog/gathamuga-festival-helpful-spirits-and-fertile-skies

५.https://www.facebook.com/watch/?ref=saved&v=846388519578540

Spread the love

Related posts

Leave a Comment